NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पार्टी घोषणालगत्तै ओलीलाई भेट्न किन बालकोट पुगे वामदेव गौतम ?

काठमाडौं । मंगलबार नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका वामदेव गौतमले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

ओली निवास बालकोटमा बिहान दुई नेताबीच डेढ घण्टा भेटवार्ता भएको गौतमको सचिवालयले बताएको छ ।

‘नेकपा एकताको लागि शीर्ष नेताहरूको ध्यानाकर्षण गराउन उहाँ ओलीलाई भेट्न जानुभएको हो । दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनको तयारी र नेकपा एकताको विषयमा छलफल भएको छ’, गौतमका स्वकीय सचिव दीपक टमाटाले भने, ‘भेटघाटको सुरूवात ओलीबाट भएको हो । सबै नेताहरूसँग भेटघाट गर्नुहुन्छ । उहाँले पार्टीको केन्द्रीय समितिका निर्णय पनिसँगै लिएर जानुभएको छ ।’

गौतमको प्रस्तावप्रति ओलीले कस्तो प्रतिक्रिया दिएभन्ने कुरा दुवै सचिवालयले अनिभिज्ञता प्रकट गरेका छन् । गतवर्ष नेकपा विघटन भएपछि निष्क्रिय रहेका गौतमले प्रदेश र संघीय निर्वाचन अघि नै नेकपाका घटकहरूलाई एक ठाउँमा ल्याउन तीन महिने अभियान सञ्चालन गरेका छन् । गौतमले स्थानीय निर्वाचन अघि पनि ओली, प्रचण्ड र माधव नेपाललाई भेटेर एकताका लागि दबाब दिएका थिए ।

गौतमले आगामी निर्वाचन अघि नै नेकपा पुनर्गठन गर्ने, त्यसमा सफल नभए वामगठबन्धनबीच चुनावी तालमेल गर्ने नीति लिएका छन् ।

नेकपा पुनर्गठन हुने अवस्थामा आए आफ्नो पार्टी नेकपामै विलय हुने उनले घोषणा गरेका छन् । यदि आफ्नो अभियानले सार्थकता नपाएको खण्डमा एक्लै निर्वाचनमा होमिने गौतमले बताएका छन् ।

दुईबीच भेटवार्ता भएपछि दुवै हँसिलोरुपमा प्रस्तुत भएको तस्बिर सार्वजनिक गरिएको छ ।

चार तस्बिरमा हेर्नुहोस् ओली-वामदेव भेट