NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कति पुग्यो नेपालको सार्वजनिक ऋण ?

काठमाडौं । सार्वजनिक ऋण पछिल्लो पाँच वर्षमा दोब्बर र ९ वर्षमा झण्डै चार गुणा बढेको छ । दशकको सुरुवातमा साढे ५ खर्ब रूपैयाँ बराबरको सार्वजनिक ऋण थियो, मध्यतिर यो ९ खर्ब पुग्यो भने अहिले १८ खर्ब ५५ अर्ब कटेको छ । आगामी आर्थिक वर्षका लागि ४ खर्ब ९८ अर्ब ऋण उठाउने सरकारी योजना छ ।

निर्वाचनको वर्ष २०७४ मा सार्वजनिक ऋण ९ खर्ब १७ अर्ब र अर्को वर्ष १० खर्ब ४८ अर्ब बराबर रहेकामा तेस्रो वर्ष एकैपटक ४ खर्बले बढेर १४ खर्ब ३३ अर्ब पुगेको थियो । चौथो वर्षमा १७ खर्ब ३७ अर्ब पुगेको ऋण चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा साढे १८ खर्ब नाघेको छ । असार मसान्तसम्म यो ऋण अझै बढ्ने छ । सरकारले तिर्न बाँकी ऋणमध्ये ८ खर्ब ७९ अर्ब आन्तरिक र ९ खर्ब ७६ अर्ब वैदेशिक ऋण हो ।

नेपालले विदेशी ऋण अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र पाउण्ड स्टर्लिङमा ऋण लिने गरेको छ । तिर्दा पनि विदेशी मुद्रा दिनुपर्छ । नेपाली मुद्रा निरन्तर अवमूल्यन हुने भएकाले ऋण लिँदाभन्दा तिर्दा धेरै बजेट छुट्याउनुपर्छ । विनिमय दरमा देखिएको उतार चढावका कारण मात्रै चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपाललाई १९ अर्ब ३७ करोड रूपैयाँ बराबर अतिरिक्त दायित्व थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।