NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

काठमाडौंमा अब माग्न निषेध, अवज्ञा गरे जरिवानादेखि जेल सजायसम्म

काठमाडौं । काठमाडौंका सडकमा असहाय, दिनदुःखी, विभिन्न रोग लागेर उपचारमा समस्या झेलिरहेकाहरूले सहयोगको याचना गरिरहेको देखिन्छ । साधु र जोगीको भेषमा मन्दिरलगायत क्षेत्रमा हात पसार्ने पनि उत्तिकै भेटिन्छन् । कतिपयले गीत, संगीतलाई माध्यम बनाएर आर्थिक उपार्जन गरिरहेको पनि पाइन्छ ।

अब भने काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थान प्रयोग गरेर यसरी माग्न (भिक्षा लिन) नपाइने भएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनले नीतिगत रूपमा सार्वजनिक स्थानमा माग्न नपाइने व्यवस्था गरेको थियो । त्यही नीतिलाई अहिले महानगरले कार्यान्वयनमा ल्याउन लागेको हो ।

महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक स्थानमा नमाग्न अनुरोध गरेको छ । सूचनाअनुसार, आगामी १० दिनपछि महानगरपालिकाको क्षेत्रभित्र यस्तो कार्य गर्न पाइने छैन । यसको अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ ।

महानगरपालिकाको जारी सूचना अनुसार महानगरपालिका क्षेत्रका सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको छ । बालबालिालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा त्यस्तो कामलाई दुरुत्साहन गर्न पनि नपाइने महानगरले प्रष्ट पारेको छ ।

तर साधु सन्त, जोगी वा भिक्षुले सनातनदेखि चली आएको परम्पराअनुसार घरघरमा पुगेर भिक्षा लिन भने सक्नेछन् । कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्न पनि उनीहरूलाई छुट दिइएको छ ।

सडकमा भिक्षा माग्न निषेध गरेको महानगरपालिकाले असहाय, बिरामी, बेवारिसे, अशक्तलगायत अन्य सडक सहयोगापेक्षीलाई मानव सेवा आश्रममा लगेर व्यवस्थापन गर्ने जनाएको छ । यसअघि पनि महानगरपालिकाले असहायलाई मानव सेवा आश्रममा राखेर सहायता प्रदान गर्दै आएको थियो ।  कसैलाई सहायता चाहिएमा सम्पर्क गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।

अवज्ञा गरे जरिवानादेखि जेल सजायसम्म

महानगरपालिकाका अनुसार अबको १० दिनपछि उपत्यकाका सडकमा भिक्षा माग्न पाइँदैन । सम्बन्धित सबैलाई यो कार्यका लागि सहयोग गर्न पनि महानगरपालिकाले आह्वान गरेको छ ।

कसैले अटेरी गरेमा भने कारबाही गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार, मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कारबाही हुनेछ ।

अपराध संहिताको दफा १२६ मा भिक्षा माग्न वा माग्न लगाउन नहुने व्यवस्था छ । यो दफाको उपदफा २ (क) मा यदि कसैले पहिलोपटक यस्तो काम गरेमा एक महिनासम्म कैद वा एक हजार रूपैयाँ जरिवाना गर्ने प्रावधान छ । दोस्रो पटकदेखि प्रत्येक पटक दुई महिनासम्म कैद वा दुई हजार रूपैयाँसम्म जरिवाना हुने छ ।

उपदफा २ (ख) मा भिक्षा माग्न कसैलाई लगाएको खण्डमा पहिलोपटक यस्तो काम गरेको भए एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै र दोस्रो पटकदेखि प्रत्येक पटक तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने प्रावधान छ ।