राजस्थानमा बढ्दै साम्प्रदायिक हिंसा

काठमाडौं । सन् १९७० मा त्यहाँ चिहानको जग्गालाई लिएर ठूलै विवाद भयाे, त्यसबेला सरकारले तत्काल कारबाही गर्यो । त्यस क्षेत्रमा आठ दिनसम्म कर्फ्यू लगाइएको थियो । २२ वर्षपछि सन् १९९२ मा पनि दुई दिनसम्म तनावपूर्ण वातावरण रह्यो ।
सन् २०१७ मा शम्भुलाल रेगरकाे हत्याको भिडियो भाइरल भयो । अहिले ५ वर्षपछि फेरि राजस्थानकाे उदयपुरमा यस्तै घटना दाेहाेरिएकाे छ । राजस्थानको उदयपुर निवासी ६५ वर्षका उग्रसेन राव मंगलबार उदयपुरको घटनाबारे सोध्दा पुरानो कुरा सम्झँदै आफूले यो सहरमा यस्तो कहिल्यै नदेखेको बताउँछन् ।
राजस्थानको उदयपुर सहर । यो सुन्दर तालहरूको लागि संसारभर प्रसिद्ध छ । यो सुन्दरता हेर्न संसारका कुनाकुनाबाट मानिसहरु आउँछन् । तर त्यहीँ सुन्दर ठाउँमा पटक पटक हिंसाका घटना भइरहेका छन् ।
यस्तै, मंगलबार कपडा सिलाउने दर्जीको निर्मम हत्या भयो । कन्हैयालाल तेली उदयपुरको धानमण्डी प्रहरी चौकी क्षेत्रमा दर्जी पसल चलाउने गर्दथे । मंगलबार दिउँसो दुईजनाले कपडा सिलाउने बहानामा उनको पसलमा पुगेर तरवारले घाँटी रेटेर उनकाे हत्या गरे ।
ती दुवैले हत्याको भिडियो पनि बनाएका थिए र यसलाई बीजेपीकी पूर्वप्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदमाथि गरेको विवादास्पद टिप्पणीको बदला भने । दुवै अभियुक्तलाई प्रहरीले राजसमन्द जिल्लाको भीमाबाट पक्राउ गरिसकेकाे छ । ती दुवैको नाम मोहम्मद रियाज र घौस मोहम्मदको रूपमा भएको छ ।
केन्द्र सरकारले यस विषयमा एनआईएलाई छानबिन गर्न आदेश दिएको छ । अर्कोतर्फ, अशोक गहलोतको राज्य सरकारले मंगलबार साँझ एसआईटीको टोली गठन गरेको छ ।
उदयपुरलाई भारतको ‘सिटी अफ लेक’ भनिन्छ, तर तालको यो सहरमा अहिले सबै बन्द छन् । मोबाइल इन्टरनेट सेवा ठप्प छ र जताततै प्रहरी परिचालनसँगै कर्फ्यु जारी छ ।
कन्हैयालालको हत्यापछि उदयपुरमा बहुसंख्यक हिन्दू र अल्पसंख्यक मुस्लिमबीचको तनाव प्रष्ट देखिन्छ । सहरमा बाक्लो प्रहरी परिचालन गरिएको छ । बुधबार कन्हैयालालको अन्त्येष्टिमा हजारौं मानिस सहभागी भएका थिए । तर, कन्हैयालाल हत्याका मुख्य अभियुक्त दुवैलाई राजस्थान प्रहरीले घटना भएको चार घण्टाभित्रै पक्राउ गरेको थियो ।
राजस्थानमा ३३ जिल्लाहरू छन् । हरेक जिल्लामा हिन्दु धर्म मान्नेहरुको संख्या बढी छ । उदयपुरको मात्रै कुरा गर्ने हो भने यहाँ करिब १ लाख मुस्लिम र २८ लाख हिन्दू बसोबास गर्छन् ।
बिहीबार मुख्यमन्त्री अशोक गहलाेत, मुख्य सचिव, डिजिपीलगायत वरिष्ठ अधिकारीहरू कन्हैया लालका आफन्तहरूलाई भेट्न उदयपुर पुगेका थिए र राति अबेरसम्म राज्यका ३२ आइपिएस अधिकारीहरको सरुवा आदेश जारी गरिएको थियो । उदयपुरसहित १० जिल्लाका एसपीलाई पनि बर्खास्त गरिएको छ ।
यस विषयमा अनुसन्धान गर्न एसआइटी गठन गरिएको छ । यसका साथै एनआइएले पनि यस मामिलामा अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवै अभियुक्तको चरमपन्थीसँग सम्बन्ध रहेको आशंकामा एनआइएले सोधपुछ गरे पनि उदयपुरका कोही पनि यसबारे बोल्न तयार भएका छैनन् । बोल्नेहरु पनि स्पष्ट रुपमा साम्प्रदायिक रुपमा विभाजित छन् ।
उदयपुर बाक्लो जनसंख्या भएको सहर हो । त्यहाँ हिन्दू र मुस्लिम दुवै छन् । यो भारतको पुरानो सहरमध्येको एक हो । घटना भएदेखि नै त्यहाँ कर्फ्यु जारी छ ।
राजस्थानमा बढ्दाे साम्प्रदायिक तनाव
सन् २०११ को जनगणनाअनुसार राजस्थान को कुल जनसंख्या लगभग ५. ८५ करोड छ । जसमा मुस्लिमको जनसङ्ख्या करिब ९ प्रतिशत र हिन्दुहरूको जनसंख्या करिब ८९ प्रतिशत रहेको छ ।
राजस्थानमा ३३ जिल्लाहरू छन् । हरेक जिल्लामा हिन्दु धर्म मान्नेहरुको संख्या बढी छ । उदयपुरको मात्रै कुरा गर्ने हो भने यहाँ करिब १ लाख मुस्लिम र २८ लाख हिन्दू बसोबास गर्छन् ।
पछिल्ला केही महिनामा राजस्थानमा पहिलेको तुलनामा साम्प्रदायिक तनावका समाचारहरु आइरहेका छन् ।
पहिलोपटक करौलीमा हिन्दू नयाँ वर्षको अवसरमा अप्रिल २ मा हिन्दू संगठनले साइकल यात्रा निकालेका थिए । यो यात्राका क्रममा विवाद हुँदा २२ जना घाइते भए ।
दोस्रोपटक मे ३ मा ईदको अवसरमा जोधपुरमा झण्डा र लाउडस्पीकर हटाएपछि सुरु भएको विवाद कर्फ्यूसम्म पुग्यो । यसमा पनि करिब ३० जना घाइते भए ।
त्यसपछि अलवरमा पनि तनावपूर्ण अवस्था थियो र अहिले उदयपुरमा दिउँसै हत्या भएको छ, त्यसपछि उक्त क्षेत्र पनि तनावग्रस्त छ । कतिपय विज्ञहरुले यी सबै घटनालाई छुट्टाछुट्टै नभई जोडेर हेर्नुपर्ने बताइरहेका छन् । राजस्थानको साम्प्रदायिक हिंसाको रेकर्ड यसअघि कहिल्यै भएको थिएन ।
सन् २०१४ देखि साम्प्रदायिक हिंसाको तथ्यांक अलग रूपमा प्रकाशित हुँदै आएको छ । त्यसपछि राजस्थानमा वसुन्धरा राजे सिन्धियाको नेतृत्वमा भाजपाको शासन थियो । सन् २०१८ मा सरकार फेरिएर अशोक गहलोतले राज्यको नेतृत्व गरिरहेका छन् ।
कन्हैया लालको निर्मम हत्याप्रति उदयपुरबासी क्रोधित भएका छन् । अभियुक्त हिरासतमा छन्, अनुसन्धान जारी छ तर बदलाको भावना भने निकै बढेको देखिन्छ । कर्फ्यूका बाबजुद पनि बुधबार उनको अन्त्येष्टिमा श्रद्धाञ्जली दिन हजारौंको भीड पुगेको थियो ।
हत्याको विरोधमा शुक्रबार उदयपुरमा ठूलो जुलुस बोलाइएको थियो जसमा करिब आठ हजार मानिस कलेक्ट्रेट अगाडि भेला भएर चर्को नारा लगाएका थिए ।
प्रतिक्रिया