चिनियाँ कम्युनिस्ट पार्टीका नेता प्रमुख दलसँग संवादमा

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओले पछिल्लो एक सातामा प्रमुख दलका नेताहरूसँग बेग्लाबेग्लै भर्चुअल संवाद गरेका छन् । प्रमुख लिउ जियानचाओले भिन्दाभिन्दै मितिमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता डा. नारायण खड्कासँग संवाद गरेका हुन् ।
भर्चुअल संवाद र विषयवस्तुबारे तीनै पार्टीले औपचारिक सार्वजनिक गरेका छैनन् । तर, चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो वेबसाइटमार्फत भेटवार्ता सम्बन्ध सुधारमा केन्द्रित रहेको जनाएको छ । चिनियाँ नेता लिउले ९ असारमा प्रचण्ड, १० असारमा ओली र १६ असारमा खड्कासँग भर्चुअल संवाद गरेका थिए ।
चिनियाँ पूर्वकूटनीतिज्ञ लिउले १८ जेठदेखि पार्टी अन्तर्राष्ट्रिय विभाग समन्वय प्रमुखको जिम्मेवारी लिएका थिए । लिउअघि पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागको नेतृत्वमा चिनियाँ अनुभवी कूटनीतिज्ञ सोङ ताओ थिए । लिउ पनि अनुभवी कूटनीतिज्ञ मानिन्छन् । पछिल्लोपटक नेपालमा अमेरिकी चासो बढेको टिप्पणी भइरहँदा चिनियाँ पक्षले प्रमुख दलहरूसँग संवाद गरेको हो ।
भर्चुअल संवादमा चिनियाँ पार्टीसँग एमाले र माओवादीको भाइचारा सम्बन्ध नवीकरण गर्ने समझदारीपत्र आदानप्रदान भएको छ । दुवै भर्चुअल संवादमा पार्टीहरूबीच आपसी सहयोग र आदानप्रदानसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको सिपिसीले जनाएको छ । ओली र प्रचण्डसँग दुई दिनको फरकमा भएको भर्चुअल संवादबारे सिपिसीले एउटै प्रेस नोटमा समावेश गरेको छ ।
संवादमा सहभागी एमाले केन्द्रीय कार्यालय प्रमुख डा. भीष्म अधिकारीले दुई पार्टीबीच सम्बन्ध नवीकरणसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको जानकारी दिए । ‘दुई पार्टीबीच विगतमा रहँदै आएको भाइचारा सम्बन्धको नवीकरण भएको हो, अरू त्यस्तो नयाँ केही भएको होइन,’ उनले भने ।
संवादमा चिनियाँ नेता लिउले एमाले र माओवादीसँग सिपिसीको समान धारणा र भावना रहेको भन्दै अन्तर्पार्टी आदानप्रदान थप सुदृढ हुने बताएका छन् । उनले दुई पार्टीसँग सिपिसीले सम्बन्ध थप सुदृढ बनाउने र जनताबीचको सम्बन्ध पनि प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन् । दुई देश र पार्टीहरूले एक–अर्काको चासो सम्बोधन गर्नुपर्ने तथा सम्बन्धको स्वस्थ र स्थिर विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
उनले ओली र प्रचण्ड दुवैलाई सिपिसीको आसन्न २०औँ महाधिवेशनबारे जानकारी दिएका थिए । ‘पार्टी महाधिवेशनले नेपाल र चीन सम्बन्धको विकासमा नयाँ गति दिनेछ,’ लिउले भनेका छन् । ओली र प्रचण्डले सिपिसीको २०औँ महाधिवेशन सफलताका लागि शुभकामना दिएका छन् ।
सिपिसीका अनुसार ओली र प्रचण्डले नेपाल–चीन मित्रता दिगो रहेको बताएका थिए । दुवै नेताले सिपिसीसँग सम्बन्धलाई उच्च प्राथमिकता दिएको र नेपालमा चीनविरोधी गतिविधि प्रयोग गर्न कहिल्यै कसैलाई अनुमति नदिने पनि वचन दिएका थिए । ओली र प्रचण्डलाई उद्धृत गर्दै सिपिसीको वेबसाइटमा उल्लेख छ, ‘चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी लामो संघर्षका उपलब्धि र ऐतिहासिक अनुभवले नेपालका पार्टीहरूलाई पनि महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ ।’
ओली र प्रचण्डसँग चिनियाँ नेता लिउले नेपाल र चीन हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी र साझा भविष्यका विकास साझेदार भएको बताए । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच मित्रता रणनीतिक साझेदारीमा स्तरोन्नति भएको स्मरण गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया