NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पत्रकारसम्बद्ध संस्थामा नयाँ नेतृत्व

महोत्तरी । जिल्लामा पत्रकारसम्बद्ध संस्थामा नयाँ नेतृत्व स्थापित हुने क्रम छ । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको कार्यवाहक अध्यक्षले पदबहाली गरेलगत्तै बर्दिबास नगर पत्रकार सञ्जाल (महोत्तरी) को नेतृत्व पनि फेरिएको हो ।

महासङ्घ महोत्तरी शाखाका उपाध्यक्ष हेमकुमारी बराल (सुनिता) ले शुक्रबार कार्यवाहक अध्यक्षको पदबहाली गरेकी थिइन् । शनिबार सञ्जालको अध्यक्षको जिम्मेवारी २५ वर्षीय युवा पत्रकार ललनकुमार मण्डलले सम्हालेका थिए । उनी महासङ्घ महोत्तरी शाखाको कार्यसमिति सदस्य पनि हुन् ।

महासङ्घको जिम्मेवारीबाट राजीनामा नगरी अध्यक्ष कमलेश मण्डलले गत स्थानीय तह निर्वाचनमा जिल्लाको मटिहानी नगरपालिकाको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिस्पर्धा गरेका थिए । महासङ्घ केन्द्रीय समितिले स्थानीय तह चुनावमा उम्मेदवार बनेका मण्डललाई पदमुक्त गरी खुला उपाध्यक्ष बराललाई कार्यवाहक अध्यक्ष तोकेपछि शुक्रबार उनले पदबहाली गरेकी हुन् ।

त्यसैगरी सञ्जालका अध्यक्ष विक्रमप्रसाद रौनियारले समय दिन नसकेको असमर्थता जनाई दिएको राजीनामा शनिबार सम्पन्न सञ्जालको वार्षिक साधारणसभाले स्वीकृत गरी मण्डललाई उक्त जिम्मेवारी दिएको हो । उनलाई शनिबार नै निवर्तमान अध्यक्ष रौनियारले पद हस्तान्तरण गरे । महासङ्घ महोत्तरी शाखामा जिल्लाका कार्यरत ४१ र सञ्जालमा बर्दिबास नगर क्षेत्रमा क्रियाशील ११ जना पत्रकार आबद्ध छन् ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन् । यीमध्ये पत्रकार हकहित र पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ बर्दिबास र गौशाला नगरपालिकामा सञ्जाल दर्ता भई सञ्चालनमा छन् ।