NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

काठमाडौं ५ बाट प्रतिस्पर्धा गर्ने रञ्जु दर्शनाको घोषणा

काठमाडौं । विवेकशील साझा पार्टीबाट अलग भएकी रञ्जु दर्शनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

यसअघि नै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बताइसकेकी दर्शनाले आइतबार औपचारिक रूपमा यसको घोषणा गरेकी हुन् । उम्मेदवारी घोषणा गर्न पाउँदा आफू हर्षित भएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

दर्शना ०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यविरुद्ध खडा भएकी थिइन् । उनी सम्मानजनक मतका साथ तेस्रो भएकी थिइन् । विवेकशीलभित्रको आन्तरिक विग्रहले निष्क्रियजस्तो देखिएकी उनले आगामी निर्वाचनमा उम्मेदवारी दिने ओपचारिक घोषणा गरेकी हुन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा कांग्रेस नेता प्रकाशशरण महतलाई पराजित गर्दै एमाले उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापा पनि यही क्षेत्रबाछ प्रतिस्पर्धामा थिए ।

अघिल्लोपटक जस्तै यसपालि पनि यो क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने भएको छ । पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराईपुत्री मानुषी पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिने मनस्थितिमा छिन् ।

काठमाडौं ५ मा काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका विभिन्न वडाहरू समेटिएका छन् ।