NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

‘काली’ को पोस्टरलाई लिएर निर्माता लीनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । चलचित्र निर्माता लीना मणिमेकलाईविरुद्ध दिल्ली प्रहरीले मुद्दा दर्ता गरेको छ । उनको वृत्तचित्र कालीको पोस्टर धार्मिक भावनालाई चोट पुर्याउने गरी बनाइएको आरोप लीनामाथि लागेको छ ।

पोस्टरमा भगवान काली बनेकी अभिनेत्रीले चुरोट तानेको देखाइएको थियो । उक्त पोस्टरमा भगवान कालीले एक हातमा त्रिशुल अर्को हातमा एलजिबिटिआइक्युको झण्डा देखाइएका कारण झन् विवाद चर्किएको छ ।

सोमबार क्यानडास्थित भारतीय उच्चायोगले पनि उक्त पोस्टरको विरोध गरेको थियो । क्यानडाबाहेक भारतमा पनि यो पोस्टरको विरोध भइरहेको छ ।

पोस्टर रिलिजपछि बढ्दो विवाद देखेर लीनाले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै लेखेकी छिन्, ‘मसँग गुमाउनको लागि केही छैन । म सधैं निडर भएर बोल्नेहरूका साथमा आफ्नो आवाज उठाउनेछु ।’

लीनाले यसको धेरै आलोचना भएपछि आफ्नो सामाजिक सञ्जालका खातालाई प्राइभेट बनाएर कमेन्ट गर्न नमिल्ने बनाएकी छिन् ।

विरोधपछि लीनाले तमिलमा पोस्ट सेयर गर्दै लेखिन्, ‘यो फिल्म एउटा घटनाको कथा हो, यसमा एक साँझ काली देखा पर्छिन् र टोरन्टोको सडकमा घुम्छिन् । यदि तपाईंले फिल्म हेर्नुभयो भने मलाई माया गर्ने ह्यासट्यागसहितका ट्विट गर्नुहुनेछ ।’

पर्दामा धार्मिक व्यक्तित्वहरूको चित्रण भारतमा एक संवेदनशील मुद्दा हो ।