NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कुकुर १५ हजार वर्ष अगाडी ब्वाँसो थियो

काठमाडौं । प्राय मानिस कुकुर पाल्न रुचाउँछन् । सुरक्षाका लागि होस् वा व्यक्तिको सोखका लागि घर घरमा कुकुर पालिन्छ । बेलायतको फान्सिस क्रिक संस्थाका वैज्ञानिकले कुकुरसम्बन्धी अध्ययन गरेको छ । उक्त अनुसन्धानमा कुकुर पहिला ब्वाँसो भएको पत्ता लागेको छ । करिब १५ हजार वर्ष अगाडी मानिसले जंगली ब्वाँसोलाई घरमा पाल्न सुरु गरेका थिए ।

त्यहि ब्वाँसोलाई अहिले कुकुरको नाम दिइएको हो । प्राकृतिक जर्नलमा प्रकाशित यो अनुसन्धानमा पछिल्लो एक लाख वर्षमा यूरोप, साइबेरीया र उत्तरी अमेरिकामा पाइने ७२ प्राचीन ब्वाँसोको डिएनए परीक्षण गरिएको बताइएको छ । सोही अनुसन्धानमा वर्तमान कुकुर पूर्वी यूरोसियाको पुरानो ब्वाँसोसँग मिल्ने देखिएको हो ।

खोजले सबैभन्दा पहिला ब्वाँसो पालन पूर्वी यूरोसियाका मानिसले सुरु गरेको देखाएको छ । अनुसन्धानमा १६ देशका ३८ संस्थाका वैज्ञानिक सहभागी थिए । उनीहरुले ३२ हजार पहिलेको एक साइबेरीयन भेडाको टाउको अध्ययन गरे । उक्त अनुसन्धानमा ९ डिएनए प्रयोगशाला पनि उपस्थित थिए ।

सोही डिएनएको सिक्वेन्सिङमा यूरोपको ब्वाँसोको तुलनामा पुराना तथा नयाँ कुकुरको डिएनए एसियाका प्राचिन ब्वाँसोसँग मिल्दोजुल्दो देखिएको छ । वैज्ञानिकले कुकुरमा प्राचिन ब्वाँसोका दुई भिन्न भिन्नै प्रजातीको डिएनए पाएका छन् ।

उत्तरी यूरोप, साइबेरिया र अमेरिकाका पुराना कुकुरको उत्पत्तिको स्रोत एउटै छ । तर मध्य इस्ट,अफ्रिका र दक्षिण यूरोपका कुकुर उत्पत्तिको दुई वटा स्रोत भएको अनुसन्धानले पत्ता लगाएको छ ।

वैज्ञानिकका अनुसार उनीहरुले ब्वाँसोको ३० हजार पुस्ताको जिन परीक्षण गरेका छन् । यसमा उनीहरुले ब्वाँसोको डिएनए परिवर्तन भएको पाएका छन् । १० हजार वर्ष पछि जिनको भेरिएन्ट दुर्लभबाट सामान्य भएको पाइएको छ । वर्तमान समयमा यो जिन सबै कुकुरमा पाइन्छ ।