NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

‘चीनबाट राष्ट्रिय सुरक्षामा दीर्घकालीन खतरा छ’

काठमाडौं । अमेरिका र बेलायतका सुरक्षा निकाय प्रमुखले चीनबाट आर्थिक र राष्ट्रिय सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा रहेको चेतावनी दिएका छन् । चीनबाट हुन सक्ने खतराबारे चेतावनी दिन पहिलो पटक संयुक्त उपस्थिति जनाएका बेलायतको सुरक्षासम्बन्धी निकाय एमआई फाइभ प्रमुख केन म्याकलम र  अमेरिकाको गुप्तचर निकाय एफबिआइका निर्देशक क्रिस्टोफर रेले यस्तो चेतावनी दिएका हुन् । उनीहरूले चिनियाँ गतिविधि कमजोर पार्न ज्यादा ध्यानकेन्द्रित गरिरहेको र यो क्रम जारी रहने प्रष्ट पारेका छन् ।

अमेरिकाको गुप्तचर निकाय एफबिआइका निर्देशक क्रिस्टोफर रेले चीन आर्थिक र राष्ट्रिय सुरक्षाको लागि सबैभन्दा ठूलो दीर्घकालीन खतरा भएको बताए । हालै भएको चुनावसहित अन्य राजनीतिक गतिविधिमा उसले हस्तक्षेप गरेको उनको आरोप छ ।

बेलायतको सुरक्षासम्बन्धी निकाय एमआई फाइभ प्रमुख केन म्याकलमले चिनियाँ गतिविधिविरुद्ध आफ्नो देशले पछिल्ला तीन वर्षमा सात गुणा बढी पहल गरेको बताए । यसलाई आगामी दिनमा पनि जारी राख्ने उनको भनाइ छ ।

ताइवानलाई जबरजस्ती नियन्त्रणमा लिन चीनले गतिविधि बढाएको र यसबाट चीन पछि नहटे कडा कदम चाल्न बाध्य हुने क्रिस्टोफरको मत छ । उनका अनुसार, चीनले ताइवानमाथि जबरजस्ती गरे विश्वले देखेको सबैभन्दा डरलाग्दो व्यापारिक प्रतिबन्ध भोग्ने छ ।

बिबिसीका अनुसार, म्याकलमले चिनियाँ कम्युनिस्ट पार्टीले खडा गरेको चुनौतीले व्यापक प्रभाव पारेको बताएका छन् भने रेले बृहत् र चकित पार्ने खालको भनेका छन् ।

रेले चीनले ‘ठूलो मात्रामा ठगी र चोरी’ गर्नका लागि साइबर जासुसलाई तैनाथ गरेको समेत आरोप लगाएका छन् । यसबारे विश्वका विभिन्न ३७ देशलाई सूचना दिइसकेको उनले जानकारी गराए ।