कानूनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन बुझाउनै पर्छ : अध्यक्ष सिलवाल

काठमाडाैं । बीमा समितका अध्यक्ष सूर्यप्रसाद सिलवालले आर्थिक वर्ष समाप्त भएपछि हिसावकिताव सार्वजनिक गर्नै पर्ने र कानूनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनै पर्ने प्रष्ट पारेका छन् ।
बिहीबार समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइसिएन)को संयुक्त आयोजनामा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले बुझाउनै पर्ने स्पष्ट पारेका हुन् । अध्यक्ष सिलवालले भने, ‘बीमा समिति र आइसिएन मिलेर बीमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न खोजिएको छ । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नै पर्छ, उनले भने, ‘जहिले पनि जनताको हित सर्वोपरी हुनुपर्छ । लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले आर्थिक वर्ष समाप्त भएपछि हिसावकिताव सार्वजनिक गर्नै पर्छ र कानूनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनै पर्छ । केही कठिनाई भए पनि अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एनएफआरएस–१७ कार्यान्वयन गर्नै पर्छ ।’
बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, नेपाल वित्तीय प्रतिवेदन मान–१७ को कार्यान्वयन, नयाँ प्रविधि अवलम्वन र जनशक्ति विकास लगायतका विषयमा बीमा समिति र आइसिएनलगायत बीमा क्षेत्रसँग सम्वद्ध संघ संस्थाहरू आपसी सहयोग एवं सहकार्यका साथ अगाडि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ । कार्यक्रममा अध्यक्ष सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउनका लागि समितिले आइसिएनसँग सहकार्य सुुरू गरेको र यो सहकार्य निरन्तर अगाडि बढ्ने बताए ।
अध्यक्ष सिलवालले बीमा कम्पनीहरूको लेखा तथा लेखापरीक्षणको विश्वसनीयताका लागि गुणस्तर अभिवृद्धि, एनएफआरएस–१७ को कार्यान्वयन, जनशक्ति विकास, नयाँ प्रविधि अवलम्बन लगायतका विषयमा नियामक निकायहरू लगायत सम्बद्ध पक्षहरूको सहभागितामा एक कमिटी गठन गरी अगाडि बढ्नका लागि आवश्यक सहयोग गर्न आइसिएन समिति तयार रहेको बताए ।
आइसिएनका अध्यक्ष युद्धराज ओलीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, एनएफआरएस–१७ को कार्यान्वयन लगायतका विषयमा समन्वय एवम् सहकार्यका साथ अगाडि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा आइसिएनका कार्यकारी निर्देशक सञ्जय कुमार सिन्हाले आइसिएनका काम कारवाही र निकायमकीय भूमिका, बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा समितिका काम कारवाही र नियामकीय भूमिका तथा आइसिएनका परिषद् सदस्य प्रवीण कुमार झाले बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणमा देखिएका चुनौतीहरू सम्बन्धी छुट्टा छुट्टै कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया