NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

पाटन बारमा खतिवडा विजयी

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको २० औँ नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी भएका छन् । एक हजार ६६ मत ल्याएर खतिवडा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत प्राप्त गरे ।

त्यस्तै, उपाध्यक्षमा रामचन्द्र न्यौपानेले एक हजार २३ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिस्पर्धी नारायण खरेलले २८४ मत प्राप्त गरे । सचिवमा रवीन्द्रकुमार ढुङ्गाना, सहसचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै १४ सदस्यमा रमति महर्जन, भवानी भट्टराई, ईश्वरप्रसाद पुडासैनी, ओमप्रकाश चौधरी, श्याम रोक्का, धर्मराज पौडेल, राजाराम घिमिरे, लावण्यराज कार्की, धनजीत बस्नेत, शुलभ खनाल, सरिता आचार्य, रामकुमार खतिवडा, भावेश गौतम र सागर शर्मा विजयी भएका छन् ।

देशका ९० बार एकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या दुई हजार ८२८ मतदाता पाटन बारमा छन् । उक्त बारमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका थिए । प्रजातान्त्रिक समूहको प्रतिनिधित्व शर्माले गरेका थिए भने प्रगतिशील समूह शान्तिराम खतिवडाले ।

प्रगतिशी समूहमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) निकट कानुन व्यवसायी थिए ।

नयाँ कार्यसमितिमा पाँच पदाधिकारी र १४ सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिबार मतदान सम्पन्न भएर राति अबेर मतपरिणाम सार्वजनिक गरिएको थियो । उक्त कार्यसमितिको समयावधि दुई वर्षको हुनेछ ।