NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

किन आए चिनियाँ विदेश विभाग प्रमुख नेपाल ? यस्तो छ चीन मामिलाका जानकारको बुझाइ !

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले यहाँका विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।

चार दिने भ्रमणमा आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतासँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिपिसीका विदेश विभाग प्रमुख लिउ आज बिहान काठमाडौं आइपुगेका हुन् ।

विदेश विभाग प्रमुखमा नियुक्त भएपछि लिउको यो पहिलो नेपाल भ्रमण हो ।

पछिल्लो समयमा नेपालमा अमेरिकाको प्रभाव बढ्दै गएको चिनियाँ बुझाइ रहेको पाइन्छ । गत फागुन १५ मा नेपालले अमेरिकी परियोजना एमसिसी पारित गरेपछि चीनले घुमाउरो पारामा असन्तुष्टि पोख्दै आएको छ ।

यसै महिनामात्र सरकारले अमेरिकी शैन्य कार्यक्रम एसपिपी फिर्ता गर्ने निर्णय गरेको छ । यसबाट भने चीन केही उत्साही देखिएको छ ।

एसपिपी फिर्ता पठाएपछि उत्साहित चीनले नेपालमा अमेरिकी प्रभाव कम गर्न चाहिरहेको विज्ञहरूले बताइरहेका छन् । लिउले वाम एकताको पहल गर्ने सम्भावनासमेत रहेको कतिपयको भनाइ छ ।

तर, चीन मामिलाका जानकारसमेत रहेका परराष्ट्रविद् डा. रुपक सापकोटा भने सिपिसीका विदेश विभाग प्रमुख लिउको भ्रमण बढी औपचारिक रहेको बताउँछन् ।

‘विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि निकट सम्बन्ध भएका र प्राथमिकतामा परेका देशहरूमा जाने प्रचलनअनुसार उहाँ (लिउ) यहाँ आउनुभएको हो । यसर्थ, उहाँको भ्रमण एउटा औपचारिक र सद्भावको हो भन्ने लाग्छ,’ नेपालवाचसँग कुरा गर्दै उनले भने ।

कतै चीन नेपालमा फेरि वाम एकता गराउन त आएको होइन ? भन्ने प्रश्नमा विज्ञ सापकोटाले यसलाई घुमाउरो जवाफ दिए ।

No photo description available.

परराष्ट्रविद् डा. रुपक सापकोटा भन्छन्, ‘चीन कम्युनिस्ट मुलुक भएको नाताले नेपालमा पनि वामपन्थीबीच एकता फैलियोस्, गठबन्धन होस् भन्ने उहाँहरूको सद्भाव लुकेको छैन । तर, वाम एकताका लागि नेपालकै राजनीतिक दल निर्णायक हुन्छन् र हुनुपर्छ ।’

‘विदेश विभाग प्रमुख लिउ खाली पार्टीका नेताहरूलाई भेट्नमात्र यहाँ आउनुभएको होइन । चिनियाँ सरकारकै प्रतिनिधिको रुपमा आउनु उहाँले राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत भेट्ने कार्यक्रम छ । यसर्थ, उहाँ वाम एकता गराउन आउनुभएको भनेर सिधै भन्न मिल्दैन,’ उनले भने, ‘यद्यपि, चीन कम्युनिस्ट मुलुक भएको नाताले नेपालमा पनि वामपन्थीबीच एकता फैलियोस्, गठबन्धन होस् भन्ने उहाँहरूको सद्भाव लुकेको छैन । तर, वाम एकताका लागि नेपालकै राजनीतिक दल निर्णायक हुन्छन् र हुनुपर्छ ।’

यसअघि पनि चीनले एमाले र माओवादी केन्द्रको एकता भएर नेकपा बन्दा उत्साहपूर्ण रुपमा लिएको भने विज्ञ सापकोटाले स्वीकारे ।

‘दुई पार्टीबीचको एकतालाई चीनले उत्साहपूर्वक लिएको थियो । केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग सहकार्य गरेको थियो । नेपालसँगको सम्बन्धमा राष्ट्रिय सुरक्षा र रणनीतिक मुद्दासमेत जोडिएको कारणले चीनले आफ्नोजस्तै विचारधारा मिल्नेसँग सहकार्य गर्न चाहन्छ । नेपालमा वामपन्थी सरकार हुँदा आफूलाई पनि मद्दत पुग्ने उसको विश्वास छ,’ उनले भने ।

यसलाई कतिपयले हस्तक्षेप भन्छन् नि, यो खास के हो ? भन्ने प्रश्नमा सापकोटाले कूटनीतिक जवाफ दिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ राजधानीमा

‘यसलाई चीनको हस्तक्षप भन्ने वा नेपालसँग अझै मजबुत सम्बन्ध खोजेको हो भन्ने बुझ्ने ! त्यो आ–आफ्नो दृष्टिकोण हो । मेरो विचारमा चाहिँ बढी यो चीनको सद्भाव नै हो भन्ने लाग्छ,’ उनले थपे ।

नेपालसँग अन्य शक्तिराष्ट्रहरूले गर्ने सहकार्य आर्थिक विकाससँग केन्द्रित हुनुपर्ने चीनको दृष्टिकोण रहेको सापकोटाको बुझाइ छ ।

‘अन्य शक्तिराष्ट्रहरूले नेपालसँग गर्ने सहकार्य आर्थिक विकाससँग केन्द्रित हुनुपर्छ भन्ने चीनको दृष्टिकोण पाइन्छ । उनीहरू चीनको संवेदनशील मुद्दामा जोडिनु हुँदैन । चीनलाई लक्षित हुनेगरी गतिविधि गरिनु हुँदैन भन्ने छ । एमसिसी, एसपिपी रणनीतिक प्रभावका लागि ल्याइएका हुन् कि भन्ने चीनलाई शंका लागेको पाइन्छ,’ उनले भने, ‘नेपालले असंलग्न, तठस्थ र पञ्चशीलमा रहेर परराष्ट्र नीति अवलम्बन गरोस् भन्ने चीन चाहन्छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ राजधानीमा