माधव नेपालले कठघरामा उभिएर गल्तीको प्रायश्चित गर्नुपर्नेछ : भुसाल
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो चरित्र देखाएर गल्ती नै गल्ती गरेको टिप्पणी गरेका छन् । नेकपा एमालेमा छँदाका आफ्ना समूहका नेताबारे मुख खोल्दै उनले त्यसको प्रायश्चित नेपालले गर्नुपर्ने बताए ।
नेता भुसालका अनुसार, नेपालले आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । अध्यादेशमार्फत २० प्रतिशत सांसदले पार्टी विभाजन गर्नसक्ने प्रावधान राखेर नयाँ पार्टी खोल्नुलाई भुसालले नेपालको अर्को गल्ती र दोहोरो चरित्र भनेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले दल विभाजन गर्नसक्ने अध्यादेश जारी गरेपछि नेता नेपालले यसको चर्को आलोचना गरेका थिए । तर कालान्तरमा उनै नेता नेपालले २० प्रतिशत सांसदले दल विभाजन गर्नसक्ने अध्यादेशको बलमा एमालेबाट अलग हुँदै एकीकृत समाजवादी जन्माएका थिए ।
‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउनेसम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए,’ भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन ।’
नेपालले गल्ती नै गल्ती गरेकाले ढिलो वा चाँडो जनताको कठघरामा उभिएर यसको प्रायश्चित गर्नुपर्ने नेता भुसालको मत छ । ‘ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ,’ उनले लेखेका छन् ।
नेकपा एमालेमा माधव नेपाल र केपी शर्मा ओलीबीचको विवाद उत्कर्षमा पुग्दा नेपाललाई साथ दिएका भुसाल, योगेश भट्टराई, भीम रावललगायत १० नेता अन्तिममा एकीकृत समाजवादीमा नगई एमालेमै रहेका थिए । पछिल्लो समय नेता नेपाल र यो समूहका नेताबीच आरोप–प्रत्यारोप चलिरहेको छ । योगेश भट्टराईले केही समय अगाडि सार्वजनिक रूपमा आफ्नो आलोचना गरेपछि नेता नेपालले उसैगरी त्यसको कडा जवाफ फर्काएका थिए । एमालेभित्र वैचारिक एवं सैद्धान्तिक नेताको छवि बनाएका नेता भुसाल पनि यो श्रृंखलामा सामेल भएका छन् ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया