NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एनआइसी एशिया बैंकले सुरू गर्‍यो ‘क्यास रिसाइक्लर सेवा’

काठमाडौं । एनआइसी एशिया बैंकले  क्यास रिसाइक्लर सेवाको सुरुवात गरेको छ । उक्त सेवाअन्तर्गत सेवाग्राहीले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सक्नेछन् ।

बैंकका अनुसार क्यास रिसाइक्लर मेसिनबाट एक हजार रुपैयाँ र ५०० सय रुपैयाँका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । त्यस्तै यो सेवामा एक  ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५ सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको बैंकले जनाएको छ ।  क्यास रिसाइक्लर मेसिनबाटबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइकलर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने र राख्ने बक्स खुल्नेछ ।

उक्त बक्समा आफुले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी ग्राहकले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ  । बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको छ । साथै, यस मेसिनबाट ग्राहकले दैनिक रुपमा एटिएम मेसिनबाट झै सरल रुपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको  जनाएको छ ।

बैंकले देशभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई  बैंकले सेवा दिन सफल भएको उल्लेख गरेको छ ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू।३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जानकारी गराएको छ। देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ।