NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

२०७४ सालको निर्वाचन : कुन शीर्ष नेताले कति मतान्तरले जितेका थिए ?

काठमाडौं । नेपालको राजनीतिमा कुनै भवितव्य नभए अबको ४ चार महिनामा प्रतिनिधिसभाको निर्वाचन हुनेछ ।

निर्वाचान आयोगले मंसिर २ वा ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मिति तय गर्न सरकारलाई सिफारिस गरिसकेको छ । आयोगको सिफारिस अनुसार सरकारले निर्वाचनको मिति तय गर्ने तयारी गरिरहेको छ ।

०७४ को निर्वाचन सरकारले मंसिर १० र २१ गरी दुई चरणमा भएको थियो । योपटक एकै चरणमा गर्ने गरी सरकारले गृहकार्य गरेको छ । निर्वाचन तयारीसँगै परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूकोे निर्वाचन क्षेत्रलाई लिएर विभिन्न अड्कलवाजी हुन थालेको छ । अझ चुनावी गठबन्धन गर्ने तयारीले यसपटकको चुनावलाई झन् बढी रोचकता थप्नेछ ।

नेपाली राजनीतिमा पहिले जस्तै फेरि पनि परम्परागत दलकै शीर्ष नेताहरू राजनीतिको केन्द्रमा छन् । पार्टी प्रमुखदेखि प्रधानमन्त्री पनि यिनै शीर्ष नेताबाटै बन्ने नेपालको इतिहास छ । धेरैपटक यस्तो भूमिकामा बसे पनि शीर्ष नेताले फेरि पनि आफूलाई केन्द्रमा राखेर चुनावमा होमिने तयारी गरेका छन् । किनकी राष्ट्रपति, प्रधानमन्त्रीसहितका शक्तिशाली पदमा यिनै शीर्ष नेताको लगाम र पकड अझै हटिसकेको छैन ।
नजिकिंदो निर्वाचन निर्वाचनको पूर्वसन्ध्यामा यी नै शीर्ष नेताहरूले ०७० र ०७४ मा पाएको मतपरिणामलाई हामीले केलाउने प्रयास गरेका छौं

केपी ओली : २८८८२ मतान्तरले विजयी

समकालीन राजनीतिका चतुर खेलाडी रहेका एमाले अध्यक्ष केपी ओली आफ्ना कट्टर विरोधी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सहकार्य गरी गत निर्वाचन लडेका थिए । कुनै बेला एक अर्काको उछित्तो काढेर नथाक्ने यी दुई नेताहरूको सहकार्य र पार्टी एकता हुन्छ भनेर कसैले कल्पनासमेत गरेका थिएनन् । तर ओलीले प्रचण्डकै सहयोगमा शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए ।

झापाको क्षेत्र नं. ५ बाट निर्वाचन लडेका ओलीले आफ्नो जितलाई सुनिश्चित गर्न राप्रपासँगसमेत चुनावी तालमेल गरेका थिए । देशभर माओवादीसँग सहकार्य गरेका ओलीले झापा क्षेत्र नं. ३ का राप्रपा नेता राजेन्द्र लिङ्देनसँग सहकार्य गरेका थिए । ०७४ निर्वाचनमा ओली ५७ हजार १३९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए । जम्मा ९१ हजार ३९५ मत सदर हुँदा ओलीले २८८८२ मतान्तरले जितेका थिए ।

त्यस्तै ओली ०७० को दोस्रो संविधान सभा निर्वाचनमा झापा–७ बाट १९ हजार २८७ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेशकुमार योङगया ११ हजार ४१ मत पाएका थिए ।

त्यस्तै राप्रपाका रामकुमार थापाले ९ हजार ३३५ र माओवादी गोपाल किराँती ८ हजार ८०२ मत पाएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा ओली झापा ७ बाट माओवादीका विश्वदीप लिङदेनसँग पराजित भएका थिए ।

शेरबहादुर देउवा : ६९४८ मतान्तरले विजयी

राज्यसत्ता सञ्चालमा चतुर र माहिर खेलाडी मानिएका प्रधानमन्त्री देउवा २०७४ मा डडेल्धुरा १ बाट २८ हजार ४४६ मत ल्याइ विजयी भएका थिए । उनका निकटमत प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टले २१ हजार ४९८ मत ल्याएका थिए । देउवा ६९४८ मतान्तरले विजयी भएका थिए । ०७० मा २३ हजार ९२० ल्याइ देउवा निर्वाचित भएका थिए । माओवादीका भट्टले १२ हजार ४९३ मत पाएका थिए । एमालका ताराप्रसाद जोशी ७ हजार १९० मत पाएका थिए । ०४८ देखि अपराजित यात्रा तय गरेका देउवा योपटक पनि निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । माओवादीसँग गठबन्धन भए देउवा अझै ढुक्क हुनेछन् । तर कुनै समय आफ्ना विश्वासपात्र रहेका पूर्व सभापति कर्ण मल्लसँग देउवाको सम्बन्ध बिग्रिएको छ । एमालेसँग मिलेर स्थानीय तहको निर्वाचनमा कर्ण अघि बढेपछि फेरि पनि एमालेसँगै मिलेर देउवाविरुद्ध उम्मेदवारी दिने चेतावनी उनले दिएका छन् । यसैले देउवा यसपटक तनावमा पर्न सक्नेछन् ।

प्रचण्ड : ९३४१ मतान्तरले विजयी

सशस्त्र विद्रोह त्यागी ०६३ मा शान्तिपूर्ण राजनीतिमा आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समकालीन राजनीतिमा चलाख र कुटील नेताको रुपमा परिचित छिन् । ओलीले त प्रचण्डलाई राष्ट्रिय समस्या नै भएको टिप्पणी गर्दै आएका छन् । ०७४ मा ओलीसँग मिलेर प्रचण्ड शक्तिशाली पार्टीको अध्यक्ष भए । तर अध्यक्षद्वयको टकरावले प्रचण्डले ओलीसँगको सहकार्यलाई निरन्तरता दिन सकेनन् । द्वन्द्वका कारण प्रचण्ड कांग्रेससँग टाँस्सिन पुगे । प्रचण्डले नै पार्टी फुटाएको आरोप एमालेका नेताहरूले लगाउँदै आएका छन् । कहिले काठमाडौं, कहिले रोल्पा, कहिले सिराहा त कहिले चितवनबाट निर्वाचन लड्दै आएका छन् । उनी योपटक चितवनबाट नै निर्वाचन लड्छन् वा अन्यन्त्र जालान् भन्नेमा धेरैले चासो दिएका छन् ।

२०७४ मा चितवन–३ बाट प्रचण्ड ४८ हजार २७६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । प्रचण्ड ९३४१ मतान्तरले विजयी भएका थिए । पाण्डेलाई कांग्रेसले सहयोग गरेको थियो । २०७० मा काठमाडौं–१० र सिराह–५ बाट निर्वाचन लडेका उनी सिराहाबाट १५ हजार २४४ ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले लिलानाथ श्रेष्ठ १४ हजार ३२३ मत ल्याएका थिए । तर एमालेले निर्वाचन परिणामलाई अहिलेसम्म स्वीकार्न सकेको छैन । झिनो मतान्तरले श्रेष्ठलाई पराजित गरेका प्रचण्डलाई मतपेटिका साटेर निर्वाचन जितेको आरोप एमालेले लगाउँदै आएको छ । काठमाडौंमा कांग्रेस नेता राजन केसीसँग ठूलो मतान्तरले प्रचण्ड पराजित भएका थिए । केसीले २० हजार ३९२ मत ल्याइ विजयी हुँदा उनले १२ हजार ८५९ पाएका थिए । ०६४ को निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट प्रचण्डले अत्याधिक मत ल्याइ विजयी भएका थिए ।

माधवकुमार नेपाल : १२३६३ मतान्तरले विजयी

एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपाल गत निर्वाचनमा काठमाडौं–२ बाट २७ हजार २६६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस दीपकप्रकाश कुँइकेलले १४ हजार ९०३ मत ल्याए । नेपालले १२३६३ मतान्तरले जितेका थिए । मतान्तरले जितेका थिए ।

विवेकशील साझा डा. सूर्यराज आचार्य ७ हजार ४३७ ल्याइ तेस्रो भएका थिए । त्यस्तै ०७० को निर्वाचनमा नेपालले काठमाडौं–२ र रौतहट–१ बाट निर्वाचन जितेका थिए । काठमाडौंमा २१ हजार ७४८ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रतिमा गौतमले १२ हजार ४७५ मत ल्याएकी थिइन् । माओवादीका लिलामणि पोखरेल ७ हजार १५४ मत ल्याएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ र रौतहट क्षेत्र नम्बर ६ मा पराजित भएपछि नेपाल काठमाडौंबाट चुनाव लड्दै आएका छन् । योपटक पार्टी विभाजन भएकाले काठमाडौंबाट निर्वाचन लड्ने वा रौतहट जाने भन्नेमा नेपाल आफैं दोधारमा देखिन्छन् । स्थानीय तह निर्वाचनमा अन्यन्त्र निराशाजनक नतिजा हात पार्दा नेकपा एसले रौतहटबाट राम्रो परिणाम ल्याएको थियो । उनका निकटतम नेताका अनुसार नेपाल रौतहटबाटै निर्वाचन लड्न सक्ने सम्भावना बलियो देखिन्छ । एमालेसँग विद्रोह गरी नयाँ पाटी खोलेका नेपालले काठमाडौंमा जनाधार नरहेको र गठबन्धनबाट नै धोका हुन सक्ने आशंका गरेका छन् ।

बाबुराम भट्टराई : ६८७४ मतान्तरले विजयी

कुनै बेला माओवादी जनयुद्धका योजनाकार रहेका बाबुराम अहिले आफ्नै पार्टीबाट निष्कासित भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले ०७२ को नयाँ संविधान जारी भएपछि माओवादी त्यागेका थिए । वैकल्पिक नयाँ शक्ति निर्माण गर्ने भन्दै भट्टराईले नयाँ शक्ति पार्टी खोलेका थिए । तर गत निर्वाचनमा १ सिटमा खुम्चिएका उनी निर्वाचनपछि उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरमसँग विलय हुन पुगेका थिए । संघीय समाजवादी हुँदै जसपाका संघीय परिषद अध्यक्ष बन्न सफल भए । पाटीभित्र उपेन्द्रले एकलौटी गरेको आरोप लगाउँदै यादवलाई निष्कासन गर्नेसम्मको योजना बनाएका भट्टराई अन्ततः आफै पार्टीबाट निष्कासनमा परे ।

०७४ मा गोरखा–२ बाट भट्टराई ३१ हजार ८०७ मत ल्याइ निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नारायणकाजी श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए । भट्टराई ६८७४ मतान्तरले विजयी भएका थिए । भट्टराईलाई कांग्रेसले साथ दिएको थियो । श्रेष्ठलाई एमालेले साथ दिएको थियो । भट्टराई यसअघि २०७० र २०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।

उपेन्द्र यादव : १००४० मतान्तरले विजयी

पटकपटक टुटफुट र विभाजनको पीडा खेपेका जसपाका कार्यकारीणी अध्यक्ष उपेन्द्र यादव गत निर्वाचनमा सप्तरी–२ बाट २१ हजार ६२० मत ल्याइ विजयी भएका थिए । उनी त्यतिबेला संघीय समाजवादी फोरमबाट उम्मेदवार थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेशकुमार यादवले ११ हजार ५८० मत पाएका थिए । यादव १० हजार बढी अन्तरले निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४५९ मत पाएका थिए । त्यस्तै कांग्रेसका सकलदेव सुतिहारले १ हजार ८४० मत पाएका थिए ।

राजेन्द्र लिङ्देन : १३४४३ मतान्तरले विजयी

देशभर एमाले र माओवादीबीच चुनावी तालमेल भएको अवस्थामा झापामा भने एमाले र राप्रपाका नेता राजेन्द्र लिङ्देनबीच अनौठो गठबन्धन भएको थियो । एमालेसँगको तालमेलबाट लिङदेन संघीय संसदमा झापा–३ बाट निर्वाचित भएका थिए । लिङ्देन ४४ हजार ६१४ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३१ हजार १७१ मत पाए । कांग्रेसका प्रभावशाली नेता सिटौलालाई पराजित गरी चर्चामा आएका उनी मंसिरमा भएको राप्रपाको महाधिवेशनमा आफ्नै नेता कमल थापालाई पराजित गरेपछि झन् बढी चर्चित हुन पुगे । थापालाई पराजित गरी राप्रपाको कमाण्ड सम्हालेपछि उनको राजनीतिक हाइट ह्वात्तै बढेको छ ।

०७० को संविधानसभा निर्वाचनमा लिङ्देन सिटौलासँगै पराजित भएका थिए । सिटौलाले १४ हजार ३५५ मत ल्याए विजयी हुँदा उनले ९ हजार २५३ मत पाएका थिए । त्यस्तै एमालेका बसन्तकुमार बानियाँले ६ हजार ४६२ र माओवादीका धर्मशीला चापागाईंले ६ हजार २१७ मत ल्याएका थिए । ०७० र ०६४ को संविधान सभा निर्वाचनमा उनले सुनसरी–५ बाट निर्वाचन जितेका थिए ।

यस्ता छन् ०७४ मा शीर्ष सात नेताका निर्वाचन क्षेत्रमा दलले पाएको समानुपातिक मतपरिणाम

झापा–३
कांग्रेस २५७१५
एमाले १९ ८२९
माओवादी ७४८६
राप्रपा १६१६८
जम्मा ७४९६८

झापा–५
कांग्रेस २२५८५
एमाले ४२२२५
माओवादी ६३५२
राप्रपा ९०५९
जम्मा ८९५६४

काठमाडौं–२,
कांग्रेस १२०८३
एमाले २०९९६
माओवादी ४१४२
राप्रपा ३३०७
विवेकशील ८१९२
जम्मा ५०६९०

चितवन–३
कांग्रेस २६१३७
एमाले २४१५५
माओवादी २२९८८
राप्रपा ५६३३
जम्मा ८७१६८

रौतहट–१

कांग्रेस ९६२४
एमाले ६४५६
माओवादी ६२३७
राजपा १५८६३
संघीय समाजवादी फोरम ५९३३
जम्मा ४८०२३

सप्तरी–२

कांग्रेस ३१४५
एमाले २५९५
माओवादी ६२७१
राजपा ११४२२
संघीय समाजवादी १२४२५
जम्मा ४०७८८

डडेलधुरा–१

कांग्रेस २५१४८
एमाले १४१८०
माओवादी ७९५७
जम्मा ४८९४१

गोरखा–२

कांग्रेस १६३३९
माओवादी १७६०८
एमाले ६०३३
नयाँशक्ति ११८१४