NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

प्रचण्ड-बाबुराम नजिकिएकै हुन् त ? बृहत् समाजवादी केन्द्र बनाउने यस्तो छ योजना

काठमाडौं । जनता समाजवादी पार्टी, जसपाबाट निष्कासनमा परेका नेता डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ ।

असार मसान्तमा अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित नौ जना नेतालाई कारवाही गरेपछि प्रचण्डसँग उनको भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा भएको दुई नेताबीच पूर्वमाओवादीसहितको बृहत् समाजवादी केन्द्र बनाउने विषयमा छलफल केन्द्रीत रहेको भट्टराई निकट एक नेताले जानकारी दिएका छन् ।

करिब एक घण्टा भएको भेटवार्तामा भट्टराई जसपा परित्याग गरेपनि गठबन्धनबाट नबाहिरिने प्रतिवद्धता जनाएका बुझिएको छ । निष्कासनमा परेपछि भट्टराई समुहले नयाँ पार्टी खोल्ने वा अन्य पार्टीसँग एकता गर्नेबारे निर्णय लिने जिम्मा बाबुरामलाई दिएको छ ।
दुई नेताको भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले जसपा त्याग गरे पनि गठबन्धनबाट नबाहिरिन भट्टराईलाई सुझाव दिएको बताएका छन् ।

यसअघि असार १६ मा उपराष्ट्रपति भवन लैनचौरमा दुई नेताबीच छलफल भएको थियो । भेटको क्रममा प्रचण्डले पूर्वमाओवादी शक्तिहरूलाई एकजुट बनाउनेबारे छलफल गरेका थिए । बाबुरामले नेपालको अहिलेको सन्दर्भमा माओवादी सिद्धान्त मिति गुज्रेको औषधी भएको बताउँदै आएका छन् ।

प्रचण्डले पनि समाजवादी दलहरूको एउटै केन्द्र बनाउन माओवादी नाममा पुनर्विचार गर्ने मनस्थितिमा पुगेका छन् । पटक–पटक पार्टी चाहर्दै आएका बाबुरामलाई माओवादीसँग सहकार्य गर्न पछिल्लो समय भट्टराई निकट नेताहरूले नै दबाब दिन थालेका छन् । वामपन्थीहरूको एउटै समाजवादी केन्द्र बनाएर जान भट्टराई सकारात्मक रहेको उनी निकट नेताले बताएका छन् ।

त्यस्तै स्थानीय तह निर्वाचनमा आफूहरूलाई कांग्रेसले धोका दिएको गठबन्धन नेताहरू प्रचण्ड, माधव, बाबुराम र उपेन्द्रले आरोप लगाएका छन् । सोमबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गठबन्धन कायमै राखी ४० प्रतिशत सिट बाँडफाँड गर्ने निर्णय गरेपछि कांग्रेस इतरका गठबन्धन दलहरू झस्किएका छन् ।

एमालेसँग तत्कालै सत्ता सहकार्य नदेखेका उनीहरू आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो शक्ति बनाउन नदिन भित्रभित्रै रणनीति बनाएका छन् । नेकपा समाजवादीका उपाध्यक्ष केदार न्यौपानेले कांग्रेसलाई ठूलो शक्ति बनाउन आफूहरू भरिया नबन्ने बताइसकेका छन् ।

‘कांग्रेसलाई ठूलो शक्ति बनाउन एकीकृत समाजवादी कांग्रेसको भरिया बन्दैन, नेपालवाचसँग उनले भने ‘सम्मानजनक हैसियतमा भागबण्डा नभए हामी लतारिएर गठबन्धन गर्दैनौं ।’

प्रचण्डले पनि यथास्थितिमा कांग्रेससँग गठबन्धन गर्ने पक्षमा देखिएका छैनन् । माओवादीभित्र आगामी निर्वाचनमा कांग्रेससँग भन्दा एमालेसँग सहकार्य गर्नुपर्ने मत बलियो बन्दै गएको छ । कांग्रेससँग गठबन्धन गरेर जाँदा वामपन्थी आन्दोलन नै समाप्त हुनसक्ने तर्फ नेतृत्वको ध्यानकर्षण गराएका छन् ।

भर्खर सकिएको माओवादीको केन्द्रीय समिति बैठकमा बृृहत् वामपन्थी एकता गरेर जान प्रचण्डलाई सुझाव दिएका छन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले त कांग्रेसँग गठबन्धन गरे नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त हुने चेतावनी दिएका छन् ।

प्रचण्ड र बाबुराम भट्टराईबीचको भेटवार्तामासमेत समाजावादी केन्द्र बनाएर जान सकारात्मक देखिएका छन् । तत्काल एमालेसँग सहकार्य नभएपनि पूर्वमाओवादीसहित वामपन्थीहरूको गठबन्धन बनाउन सकिने निष्कर्षमा यी दुई नेता पुगेका छन् । समाजवादी केन्द्र बनाउनका लागि एकीकृत समाजवादीसहितका नेताहरूसँग छलफलाई निरन्तरता दिने सहमति भएको भट्टराई निकट नेताको भनाइ छ ।

त्यस्तै माओवादी नेता हरिबोल गजुरेलले पनि तत्काल एमालेसँग सहकार्य नभए वाम गठबन्धनको छुट्टै मोर्चा बनाएर जानुपर्ने बताएका छन् ।

‘आगामी निर्वाचनका सम्बन्धमा कांग्रेस कसरी प्रस्तुत हुन्छ, त्यो हेर्न बाँकी छ । एमालेसँग तत्काल सहकार्य हुने सम्भावना छैन’, उनले भने, ‘पूर्वमाओवादीसहितको छुट्टै वामपन्थी मोर्चा बनाएर जान सकिन्छ । यसको अर्थ अहिले नै गठबन्धन तोडौं भन्ने पक्षमा हामी छैनौं ।’

प्रचण्डले पनि आगामी निर्वाचनमा कांग्रेससँग सत्ता सहकार्य सम्मानजनक नभए पूर्वमाओवादीसहितको वामपन्थी गठबन्धन बनाउन रणनीतिसाथ अघि बढेका छन् । उनले विप्लवसँगको सम्वादका लागि कृष्णबहादुर महरालाई अगाडि बढाएका छन् ।

बाबुरामलाई मनाउनका लागि उनी आफैं अघि सरेका छन् । पूर्वमाओवादी एक बनाउन उपराष्ट्रपति नन्दकिशोर पुन पनि पछिल्लो समय निकै सक्रिय भएका छन् । यी सबै परिदृष्यले आगामी निर्वाचनसम्म गठबन्धनमा फेरबदल आउन सक्ने संकेत देखिएको छ ।