हामी ‘फायर फाइटर’हरूसँग चुप लागेर बस्ने सुविधा छैन : अब्दुस मियाँ [अन्तर्वार्ता]
![हामी ‘फायर फाइटर’हरूसँग चुप लागेर बस्ने सुविधा छैन : अब्दुस मियाँ [अन्तर्वार्ता]](https://nepalwatch.com/wp-content/uploads/2022/07/Abdus-Miya_1200x600px-07-19.png)
काठमाडौं । परम्परागत राजनीतिक दलको ‘सिन्डिकेट’ तोड्दै राष्ट्रिय राजनीतिमा विकल्प दिने घोषणा गरेका विवेकशील साझा अहिले आफैं विघटनको डिलमा उभिएको छ । अध्यक्ष रवीन्द्र मिश्र र सचिवालय सदस्य मिलन पाण्डेबीचको विवादले विवेकशील साझा नै चिराचिरा परेको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीले शर्मनाक हार व्यहोरेको पीडा खप्न नसकी अध्यक्ष मिश्रले पदबाटै राजीनामा दिएका छन् । त्यस्तै गत निर्वाचनमा काठमाडौंै महागरपालिकाबाट मेयरमा उठेर चर्चामा आएकी रञ्जु दर्शना पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नं. ५ बाट स्वतन्त्र रूपमा निर्वाचन लड्ने तयारीमा छिन् ।
त्यस्तै आइएनजिओको लोभलाग्दो जागिर छोडेर राजनीति गर्छु भन्दै २३ वर्षको उमेरमा साझा पार्टी प्रवेश गरेका सचिवालय सदस्य अब्दुष मियाँ चुनावमा उठ्ने तयारीमा छन् । यी सबै घटनाका साक्षी मियाँले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । यसै विषयमा मियाँसँग नेपालवाचले गरेको कुराकानीको सम्पादित अंशः
५ वर्षअघि राष्ट्रिय राजनीतिको विकल्पमा विवेकशील साझालाई उभ्याउँछौं भन्नुहुन्थ्यो, आज आफ्नै विकल्प खोजिरहनु भएको छ किन ?
विवेकशील साझा पार्टी एउटा सम्भावना बोकेको पार्टी बन्दै थियो । पार्टीको स्थापनाकालदेखि नै म लगायत कैयन युवाहरुले साँच्चै देशको रुपान्तरण गर्न सक्ने राजनीतिक संगठन निर्माणमा आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्यौँ । अघिल्लो निर्वाचनको मतपरिणामले हामीलाई आम नागरिकले छोटो समयमै आशाका रुपमा हेरेको प्रष्ट छ तर त्यो आशालाई हामीले संस्थागत गर्दै विश्वासका रुपमा परिणत गर्न सकेनौँ । यो हाम्रो सामूहिक कमजोरी हो ।
यद्यपि, म कम्तिमा २५ वर्ष देशको सेवा गर्छु भनेर राजनीतिमा आएको हुँ । वैचारिक मतभेद र त्यसले निम्त्याएको आन्तरिक कलहले पार्टीका अधिकांश संस्थापक नेताहरुले पार्टी परित्याग गरेकाले नयाँ शिराबाट पुनः सुरुवात गर्नुपर्ने अवस्थामा हामी पुग्यौँ । पार्टी साध्य होईन, साधन हो । साधनमा कहिलेकाहीँ समस्या आउन सक्छ, हामी हाम्रो साध्यमा अडिग छौं ।
गुटबन्दी र विभाजनको शिकार तपाईंको पार्टी पनि अछुतो रहेन । परम्परागत पार्टी र विवेकशील साझामा के फरक भयो र ?
विवेकशील साझामा गुटबन्दी भन्दा पनि वैचारिक धुर्वीकरण भएको हो । मूलतः पार्टी ‘लिवरल डेमोक्रर्याटिक’ बनाउने या ‘मोडरेट कन्जरभेटिभ’ भन्ने विषयमा विवाद हुँदा कसैगरी पनि भिन्न वैचारिक समूहहरू एक ठाउँमा बस्न सकिएन । समाजवादी कांग्रेस र साम्यवादी माओवादी मिलेजस्तो हामी मिल्न सकेनौँ, मिल्न हुँदैनथ्यो । यस्तो मिलन निष्ठाविहीन राजनीतिमा मात्र सम्भव छ ।
योबाहेक, परम्परागत पार्टी भन्दा हामी सिद्धान्त, विचार, कार्यशैली, संस्थागत पारदर्शिता, अहिंसात्मक राजनीति, न्यू पोलिटिकल कल्चर, लगायतका सबै विषयमा फरक र अब्बल हौं ।
हुँदाखाँदाको पार्टी छोडेर तपाईं स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्नु भएको छ, किन दलप्रति विश्वास नभएको ?
प्रथम महाधिवेशन नपुग्दै पार्टीका अधिकांश संस्थापक सदस्यहरू सहित अध्यक्ष स्वयंमले पार्टी परित्याग गरेपश्चात विवेकशील साझा पार्टी राजनीतिक रुपमा विघटन भयो । तर पार्टी विघटन हुँदैमा हामी युवा ‘फायर फाइटर’हरूसँग चुप लागेर बस्ने सुविधा थिएन/ छैन ।
हामी जुन सिस्टमको कुरा गरिरहेका छौँ, जुन राजनीतिक इमान्दारी, पारदर्शिता वा उत्कृष्टताको पैरवी गरिरहेका छौँ, डेलिवरी वेस्ड राजनीतिको कुरा छ, त्यसलाई राजनीतिक संस्कारका रुपमा स्थापना गर्न हामीले सक्रियता अझ बढाउनुपर्ने छ । राजनीतिक दलहरुले आम नागरिकबाट विश्वास गुमाईराखेको अवस्थामा युवाहरुले स्वतन्त्र रुपमा अघि बढ्नुपर्ने जनभावनालाई सम्मान गर्दै मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ ।
तपाईंलाई आम मतदाताले किन मत दिने ? के–के छन् एजेण्डा ?
संसद वा भनौँ देशको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाहरुको खडेरी परेको छ । देशको जनसंख्याको सबैभन्दा ठूलो हिस्सा युवा हुँदासमेत युवाहरु नीति निर्माण गर्ने ठाउँसम्म पुग्न नसक्नु आखिर देशकै लागि दुर्भाग्यपूर्ण हो । हामी यो अवस्थालाई परिवर्तन गर्न चाहन्छौं ।
मेरो उम्मेदवारी आफैँमा एउटा एजेण्डा हो। मेरो आफ्नो एजेण्डाभन्दा पनि देशकै प्राथमिकतामा निम्न विषयहरू पर्नुपर्ने देखेको छु ।
१. निःशुल्क तथा गुणस्तरीय सार्वजनिक स्वास्थ्य सेवा
२. गुणस्तरीय तथा विश्वस्तरीय सार्वजनिक शिक्षा तथा समान पहुँच
३. सुरक्षित तथा सम्मानजनक विद्धुतीय सार्वजनिक यातायात
४. स्टार्टप पोलिसी, यूनिभर्सल बेसिक इन्कम तथा पार्ट टाइम जब
५. क्लाइमेट चेन्ज
६. नेपाल युथ सेन्टर, नेपाल इम्प्लोएमेन्ट सेन्टर लगायतका संस्थाहरुको निर्माण
७. साना किसान तथा उद्धमीले गरिखाने वातावरणको निर्माण
८. नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीको विकास, भ्रष्टाचारमुक्त समाज
पार्टी पुनर्गठन वा आ–आफ्ना कमजोरी स्वीकार गरी पुनः एकतावद्ध भएर पार्टी निर्माण गर्न छोडेर एक्लाएक्लै भिड्दा गन्तव्यमा पुग्न सकिन्छ ?
हामी सबैले आ आफ्ना कमजोरीहरु स्वीकार गरेकै छौँ । म मान्दछु, एकताबद्ध भएर पार्टी निर्माण गर्नुपर्ने दायित्व पनि हाम्रै काँधमा छ । निर्वाचनको मुखमा हामीसँग केवल पार्टीको आन्तरिक अवस्था र विषयहरूमा अलमलिने सुविधा छैन । पछिल्लो ५ देखि १० वर्ष प्रत्यक्ष राजनीतिमा होमिएका हामीहरू प्राविधिक रूपमा स्वतन्त्र उम्मेदवार भएतापनि उम्मेदवारहरूबीच निरन्तर संवाद, समन्वय र सहकार्य छ ।
अब विवेकशील साझा विघटन हुन्छ कि पुनर्गठन वा कुनै पर्टीमा विलय हुन्छ ?
रवीन्द्र मिश्रको बहिर्गमन पश्चात हाललाई पार्टी निर्माणको एउटा अध्याय सकियो । पार्टी पुनर्गठन हुनसक्छ । तत्काल चुनावी मैदानमा होमिने मनस्थिति नभएका पार्टीका अन्य जिम्मेवार नेताहरुले पार्टी पुनर्गठनको प्रयास गर्दै हुनुहुन्छ । मेरो शुभकामना छ, त्यस प्रयासले सार्थकता पाओस् ।
स्थानीय तह निर्वाचनमा स्वतन्त्रप्रति देखिएको आकर्षणबाट प्रभावित भएर तपाईंले स्वतन्त्रमा उम्मेदवारी घोषणा गरेको हो ?
मैंले अघि पनि भनेँ, स्वतन्त्र उम्मेदवारी मेरो बाध्यता हो । चुनावको मुखमा पार्टी विघटन नभएको भए सायद पार्टीको प्रतिनिधित्व गर्दै चुनाव लडिन्थ्यो।
व्यक्तिगत रुपमा भन्दा, मैले स्वतन्त्र उम्मेदवारहरुको लहर आउन थालेपछि राजनीतिमा हाम फालेको होइन । पाँच वर्ष अघि २३ वर्षको उमेरमा मैंले शुन्यवाट राजनीति शुरु गरेको हुँ । अहिले हामीजस्ता युवाहरूलाई पनि राजनीतिमा पत्याइन थालेको छ, म अत्यन्त खुसी छु । तर अवस्था यो भन्दा जटील र डरलाग्दो भएको भएपनि यो लडाईँबाट पछि हट्ने थिइन।
यो बीचमा कुनै पार्टीले तपाईंलाई अफर ग¥यो भने पार्टी प्रवेश गर्नुहुन्छ कि हुन्न ?
हाललाई मैले त्यो सम्भावना देखेको छैन । दलहरूप्रति आम नागरिकको जस्तै मेरो पनि अविश्वास छ ।
अन्त्यमा, तपाईंको विचारमा नेपालको राजनीति अस्थिरताको प्रमुख कारण के हुन् ? समाधानका उपाय के–के छ्न ?
मलाई लाग्छ, केवल शासकको कुर्सी बचाउने स्थिरताको कुनै अर्थ छैन । इतिहास हेरौँ न, भीमसेन थापाका ३० वर्ष, जंगबहादुरका ३० वर्ष, चन्द्र शमसेरका ३० वर्ष, जुद्ध शम्शेरका १५ वर्ष र पंचायतका ३० वर्ष हेर्दा स्थिर सरकार हामीले पाएकै हौं । तर यसले पनि उल्लेख्य परिणाम हासिल गरेको देखिँदैन । अहिले हामीलाई नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीको विकास र नेतृत्वमा क्रमभंगता आवश्यक छ ।
प्रतिक्रिया