NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

झलनाथको प्रश्न : मन्त्रिपरिषदभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकी राज्य साझेदारी (एसपिपी) कार्यक्रममा सहभागी नहुने भनेर सरकारले अझैसम्म पत्र नपठाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मन्त्रिपरिषद्भन्दा बाहिर अधिकार गएको हो कि भन्दै शंका व्यक्त गरे । २२ असारमा मन्त्रिपरिषद्ले निर्णय गरे पनि अझैसम्म पत्राचार नभएको उनको गुनासो थियो ।

‘अमेरिकालाई के कारणले पत्र लेख्न सकिएको छैन ? हाम्रो देशको क्याबिनेटभन्दा बाहिरतिर कता छ कार्यकारी अधिकार ?’, उनले प्रश्न गरे ।

अर्को प्रशंगमा पूर्वप्रधानमन्त्रीसमेत खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ । चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।’

उनले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्नसक्ने बताए । सांसद खनालले चिया बगान निर्माणलाई राज्यले उच्च प्राथमिकतामा राखी चिया विकास बोर्डको भूमिका प्रभावकारी बनाउन र साना चिया किसानलाई कारखाना खोल्न सहकारीमार्फत प्रोत्साहन गर्नुपर्छ भने ।

‘नेपाली चियाको इतिहासमा इलामलाई बिर्सन हुँदैन, बढीभन्दा बढी किसानलाई चिया खेतीमा लाग्न प्रोत्साहन गर्नुपर्छ”, उनले भने, ‘चियाको उत्पादन, सङ्कलन र प्रशोधनमा लागेका उद्यमीलाई पनि राज्यले सहयोग गर्नुपर्छ ।’

सांसद खनालले १६ हजार साना किसान चिया खेतीमा संलग्न रहेको उल्लेख गर्दै इलाममा चियाको सङ्ग्रहालय बनाउनुपर्ने मागसमेत गरे ।

सत्तारुढ दलकै प्रमुख सचेतकको आरोप : अर्कै नामबाट एसपिपी ब्युँताउने कोशिस भइरहेको छ