NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

प्रधानमन्त्रीका दाबेदारबीचको बहसमा टेलिभिजन प्रस्तोता नै बेहोस भएपछि…

काठमाडौं । बेलायतका प्रधानमन्त्रीका दाबेदार ऋषि सुनक र लिज ट्रसबीच टिभीमा बहस गराइरहेकी प्रस्तोता लाइभ कार्यक्रममा नै ढलेपछि त्यसलाई रद्द गर्नु परेको छ ।

बेलायतमा अहिले कन्जरभेटिभ पार्टीभित्र नयाँ नेता छान्ने प्रक्रिया चलिरहेको छ, जो बेलायतको अर्को प्रधानमन्त्री बन्नेछन् ।

बेलायतका पूर्वअर्थमन्त्री र भारतीय मूलका नेता सुनकबीच प्रतिस्पर्धा हुँदैछ ।

मंगलबार दुई नेताहरूले दोस्रो टेलिभिजन बहस गरिरहेका थिए, जुन अचानक नाटकीय रूपमा रद्द गरियो ।

सन एन्ड टक टिभीले आयोजना गरेको बहसलाई पत्रकार केट म्याककेनले सञ्चालन गरेकी थिइन् । यसक्रममा बेलायतको हेल्थकेयर एनएचएस र कर कटौती मुद्दामा दुई दाबीकर्ताबीच चर्को बहस भएको थियो ।

त्यसक्रममा ट्रस रुस र त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनबारे केही बोलिरहेकी थिइन् । एकाएक उनको स्वर ठूलो सुनियो । त्यसपछि टेलिभिजनमा ट्रसलाई देखाइयो । उनी एक्कासी हल्लिइन् र छक्क परेर अनुहारमा दुवै हात राखेर भनिन्, ‘हे भगवान् !’

केही सेकेन्डपछि उनी शान्त भइन् । स्क्रिनमा मौनता छायो र उनी क्यामेराबाट टाढा प्रस्तोता उभिएको छेउमा गइन् । त्यसपछि कार्यक्रम बन्द भयो ।

सुनक पनि पेडियम छाडेर प्रस्तोतातर्फ दौडेको यो बहसको आयोजक द सनले जनाएको छ । अखबारका अनुसार सुनक र ट्रस दुवै केटलाई भेट्न बसे ।

यो बहस एक घण्टा चल्ने थियो तर फेरि सुरु हुन सकेको छैन ।

केटले आफू ठीक रहेको बताए पनि कार्यक्रमलाई निरन्तरता दिन नहुने चिकित्सकको सल्लाह छ ।

घटनापछि टेलिभिजनले दर्शकप्रति क्षमा मागेको छ ।

सुनक र ट्रसले केट निको भएको खबर सुनेर राहत महसुस गरेको र पुनः बहसमा फर्किन चाहेको बताएको बिबिसीले लेखेको छ ।

यस बहसमा टक टिभीका प्रस्तोतासँगै सन टिभीका राजनीतिक सम्पादक ह्यारी कोल पनि सह–होस्ट थिए । उनी भने कोभिड–१९ संक्रमणका कारण टाढै बसेका थिए ।