NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

केबुलकार यसकारण शतप्रतिशत सुरक्षित छ : अध्यक्ष ढकाल

काठमाडाैं । चन्द्रगिरी हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रगिरीमा सञ्चालित केबुलकार शतप्रतिशत सुरक्षित भएको कम्पनीले जनाएको छ ।

शुक्रबार चन्द्रगिरीमा आयोजित पत्रकार सम्मेलनमा चन्द्रगिरी हिल्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सो कुरा जानकारी गराएका हुन् ।

साथै उनले केबुलकारमा कुनै प्राविधिक समस्या नभएको पनि स्पष्ट पारेका छन् । विद्युत प्राधिकरणमा बेलाबेला सिर्जित समस्याको कारण विद्युत आपूर्तिमा समस्या हुँदा केबुलकार रोकिने गरेको तर विद्युत बन्द भएको अवस्थामा पनि केबुलकारलाई तुरुन्तै सञ्चालन गर्न सक्ने उनले बताए । अध्यक्ष ढकालले केबुलकार तीन सिस्टमबाट चलाउने व्यवस्था मिलाएको हुँदा एउटामा समस्या आउनेवित्तिकै अर्कोबाट सञ्चालन गर्न सकिने उल्लेख गरे ।

केबुलकार रोकिदा केबुलकारमै प्राविधिक समस्या भएको भन्ने गलत सन्देश आमजनतामा पुगेको कुरालाई जोड दिँदै उनले वास्तविक रुपमा प्राविधिक समस्याले भन्दा पनि विद्युतको कारणले त्यस्तो समस्या सिर्जना भएको स्पष्ट पारे । ‘केबुलकार सिस्टमबाट चल्ने हो सिस्टममा कहिलेकही समस्या आउदा ठूलो इस्युजको रुपमा लिने, आत्तिने गर्नुहुँदैन । संसारभरमा चन्द्रगिरी जस्ता २० हजार केबुलकार छरिएर रहेको छ । ती सबैमा बेलाबेला प्राविधिक समस्या आउँछ ।’

अध्यक्ष ढकालले नेपालको केबुलकार बेस्ट टेक्नोलोजी भएको दाबी गर्दै त्यसमा कुनै शंका नगर्न पनि आग्रह गरेका छन् । विद्युत जाँदा लिप्ट रोकेजस्तै, प्लेन ल्याण्ड गर्न खोज्दा पार्किङ गर्ने ठाउँ नभएर आकाशमै केहीबेर घुमेर बस्नुपर्नेस्थितिको उदाहरण दिँदै अध्यक्ष ढकालले केबुलकार रोकिँदा प्यासेन्जरले गम्भिर समस्याको रुपमा लिन नहुने बताए ।

अध्यक्ष ढकालले जनतामा सही सन्देश पु¥याउनको लाथि थप जनचेनामूलक कार्यक्रम सञ्चालन गर्ने, बटम स्टेसनमा प्यासेन्जरलाई माइन्ड सेट अप गराउनेजस्ता कार्यक्रम गर्ने तयारी भएको बताए । साथै उनले सुरक्षाको हिसाबले कम्पनीले कुनैपनि सभ्झौता नगरेको जिकिर गरे ।

उनले भने ‘केबुलकार चढ्नुभन्दा अगाडि पनि यात्रुहरुलाई यस्तो हुन सक्छ भनेर मानसिक रुपमा तयार हुन हामीले त्यही अनुसार योजना बनाइरहेका छौँ । पहिला पनि बटम लेभलमा सक्दो सूचना प्रवाह  गरेका थियौँ, त्यो अपुग भएको हामीले महसुस गरेर त्यसलाई बढाउने योजना बनाएका छौँ ।’

यो आर्थिक वर्षको सुरुवातमै कम्पनीले केबुलकारको समयतालिकासमेत परिवर्तन गरेको छ । अध्यक्ष ढकालका अनुसार पहिले बिहान साढे ८ देखि खुले र बेलुका साढे पाँचतिर बन्द गर्ने गरेकोमा साउनपछि बेलुका ९ बजेसम्म सञ्चालन गरिरहेको छ । अफिसमा काम गर्ने सर्वसाधरणलाई मध्यनजर गरी केबुलकारको समय थप गरेको उनको भनाइ थियो ।