NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

फण्डावाल ओलीका बहुरूप

काठमाडौं । समकालीन राजनीतिमा पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीको पहिचान अन्य नेताभन्दा फरक देखिन्छ । विपक्षीमाथि व्यंग्यसहित कडा शब्दप्रहार गरी सँधै चर्चामा आइराख्ने ओली राजनीतिक बाहेकका प्रस्तुतिमा पनि उत्तिकै माहिर देखिन्छन् ।
वाकपटुकतामा पोख्त रहेका उनी उखान–टुक्कासहित हास्य–व्यंग्य शैलीमा घण्टौं प्रवचन दिन्छन् । त्यस्तै पूर्वीय दर्शन, धर्म, संस्कार, पश्चिमा सभ्यता, विज्ञान, प्रविधि, जीवन जगत, इतिहास, भूगोल, खगोलशास्त्र, विश्व राजनीतिबारेमा विषयविज्ञ जस्तै धाराप्रवाह भाषण छाट्न ओली माहिर छन् ।

राजनीतिबाहेकका विषयमा देखिएको विशेष रूची र असाधारण प्रस्तुतिका कारण उनका समर्थक प्रशंसा शब्द खर्चन्छन् । तर विरोधी र आलोचक उडन्ते र उट्पट्याङ नेताको रुपमा उनलाई बुझ्छन् ।

दर्शन र सिद्धान्तका हिसाबले ओली खरो कम्युनिष्ट हुन् । भौतिकवादलाई आदर्श बनाएका उनी भाषणका क्रममा हौसिंदै विरोधीलाई अलच्छिनाको उपमा दिन्छन् । जसले उनमा विरोधाभास देखाउँछ । जसले आलोचकलाई कुरा काट्ने ठाउँ उत्तिकै दिने गरेको छ ।

कहिले आफ्नो नेतृत्वको सरकारले गरेको कामले ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ को आधा किताब भरिएको दाबी गर्छन् त कहिले भगवान राम नेपालकै भएको तर्क गर्छन् । विकास र समृद्धिका कुरा गरेर कहिल्यै नथाक्ने ओली पानीजहाज, चीन–काठमाडौंदेखि लुम्बिनीसम्म रेल कुदाउने सपना देखारहन्छन् । उनले काठमाडौं–पोखरा हुँदै पर्वतको कुश्माको रेल स्टेसनमा धेरैलाई झारिसकेका छन् । घर–घरमा पाइलाइनबाट ग्याँसको आपूर्ति गर्ने दाबी गरेका उनी ट्रोलको शिकारसमेत भए । सबै विधामा आफूलाई अब्बल ठान्ने गरेका ओली गीत गाउन नआएकोमा भने थकथकी मान्ने गर्छन् ।

बहुरुपी ओली

उट्पट्याङ भाषणबाजीबाट आलोचना र चर्चाको शिखरमा रहेका ओलीले शनिबार अनौठो रुचि देखाए । युवा संघले गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका उनले साहसिक खेल बन्जी जम्प गर्ने चाहना राखे । ‘मलाई पनि बन्जी जम्प गर्न जाउँजाउँ जस्तो लाग्छ । तर उमेर ढल्केको हुनाले स्वास्थ्यलाई असर गर्न सक्छ । यो विषयमा डाक्टरसँग सल्लाह लिनुपर्ला ।’ तर उनले युवाहरू भने यस्ता साहसिक खेलमा लाग्नुपर्ने सल्लाह दिए ।

त्यस्तै बुधबार गृह जिल्ला झापा पुगेका ओली स्थायी समिति सदस्य अग्नि खरेलसँगै ब्याडमिन्टन कोर्टमा झुल्केका थिए । ब्याटमिन्टनका पारखी रहेका उनी १०/१२ वर्ष अघिसम्म नियमित ब्याडमिन्टन खेल्ने गरेको उनका सचिवालयले बताएको छ । त्यसयता ब्याडमिन्टन खेलेका थिएनन् । बिहीबार बिहानैदेखि ब्याडमिन्टन कोर्टमा झुल्किएका थिए । महानन्द चोकस्थित बिग ब्रदर्श ब्याडमिन्टनमा पुगेका उनले करिव एक घण्टा खेले ।

ओली कतिसम्म रमाइलो पारका नेता हुन् भन्ने दृष्टान्तको लागि २०७६ माघ २१ मा प्रधानमन्त्री निवास बालुवाटारमा भएको साँरङ्गी साँझलाई सम्झनुपर्ने हुन्छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली मौलिक धुन साँरङ्गी साँझको आयोजना गरिएको थियो । त्यस साँझ पूर्वप्रधानमन्त्री माधव नेपाल र झलानाथ खनाललाई दायाँ–बायाँ राखेर राखेर उनले बाँसुरी बजाए । उनलाई खनाल र नेपालले सारङ्गी रेटेर साथ दिए । त्यसदिन पूर्वप्रधानमन्त्री प्रचण्ड पार्टीको कार्यक्रममा भाग लिन चितवन गएकाले छुटेका थिए । ओलीको तस्बिर प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा पोस्ट गरेपछि त्यतिबेला निकै भाइरल भएको थियो ।

विभिन्न फण्डामा उत्तिकै सक्रिय देखिएका त्यसअघि ०७२ जेठ २३ मा ओलीले खेलेको फुटबल म्याच निकै चर्चित छ । ०७३ मा ओली आफै प्रधानमन्त्री थिए । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गरिएको थियो । जसमा प्रधानमन्त्री ओली स्वयंम मैदान उत्रिएर फुटबल खेलेका थिए । त्यसअघि भूकम्पपीडितको सहयोगार्थ नयाँ पत्रिका राष्ट्रिय दैनिकले सशस्त्र प्रहरीको कार्यालय हलचोकमा गरेको नेता र अभिनेताबीचको मैत्रीपूर्ण फुटबल म्याचमा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालासँगै ओलीले निकै फूर्तिसाथ खेलेका थिए । एमाले अध्यक्ष ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई सहभागी रहेका थिए ।

ओलीको क्यारेमबोर्डमा पनि उत्तिकै रुचि रहेको देखिन्छ । जेठ २८ मा बुद्धनगरमा जनसाँस्कृतिक महासंघले गरेको कार्यक्रमा भाग लिएका थिए । ओली पत्नी राधिकासहित कार्यक्रमपछि सिधै कोटेश्वर महादेवस्थानस्थित मदन भण्डारी बाटिकामा पुगेका थिए । अध्यक्ष ओलीलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेता अग्नि खरेलले स्वागत गरेका थिए । पत्नी राधिका, उपमेयर सुनिता र नेता खरेललाई साथमै राखेर केहीबेर उनले क्यारेमबोर्ड खेलेका थिए जसको सामाजिक सञ्जालमा निकै चर्चा भयो । ओलीका सचिवालयका अनुसार यीबाहेक उनी स्नुकर खेल्न र गल्फकोर्टका पनि सौखिन छन् । गत असार २२ मा उनले राजधानीमा स्नुकर खेलेको भिडियो निकै भाइरल भएको थियो । त्यसैदिन सार्वजनिक भएको गल्फकार्ट कुदाएको दृष्यपनि निकै रोमाञ्चकारी देखिन्थ्यो ।

त्यसअघि असार १५ मा युवा संघले भक्तपुरमा आयोजना गरेको धान रोपाईंमा ओलीले पत्नी राधिकालाई सँगै राखेर मेसिनद्वारा धान रोपाईं गरेका थिए । श्रीमतीसहित हिलोमा पुगेका उनले निकै रमाइलो मानेर धान रोपेका थिए । उनी पौडी खेल्न पनि उत्तिकै च्याम्पियन रहेको उनी आफैं बताउँछन् । खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रमा ओलीले पौडीबाज गौरिका मल्ललाई मेन्सन गर्दै आफू पनि बगेका ठूल्ठूला नदीहरूमा पौडिन सक्ने दाबी गरे । यीबाहेक ओली कहिले स्टेजमै छमछमी नाचेर मनोरञ्जन दिन्छन् त कहिले अरूको क्यारिकेचर गर्दछन् । उनी अरूको आलोचना फिटिक्कै सहँदैनन् तर आफ्ना विरोधीमाथि घन्टौं शब्दवाण प्रहार गरेर थाक्दैनन् ।

हौसिंदै भाषण गर्ने ओलीका कतिपय ठोकुवा हावादारी पनि भइदिन्छन् । स्थानीय तहको निर्वाचनपछि ओलीले असार १७ गते अहिलेको सत्ता गठबन्धन भत्किने भविष्यवाणी गरेका थिए । तर साउन भइसक्दासमेत उनको अनुमान हावादारी सावित भएको छ । बरु कांग्रेसले सत्ता गठबन्धनबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरिसकेको छ । माओवादी, नेकपा एससहितका दलले पनि कांग्रेससँगै चुनावी तालमेल हुने बताइरहेका छन् ।

ओलीको राजनीतिक यात्रा

२०२८ सालको झापा विद्रोहबाट राजनीतिमा हामफालेका ७१ वर्षे ओलीले स्थानीय धर्मनाथ ढकालको हत्या आरोपमा १४ वर्ष कठोर जेल जीवन विताएका थिए । उनीसँगै जेल जीवन बिताएका सहकर्मी राधाकृष्ण मैनालीको विचारमा ओली पहिल्यैदेखि चतुर नेता थिए । मैनालीले लेखेको नलेखिएको इतिहासमा ओलीबारे रोचक प्रसंग उल्लेख गरेका छन् ।

‘ओली पहिल्यैदेखि धुर्त र चतुर नेता हुन् । उनी कामभन्दा गफ लडाउन निकै सिपालु छन् । नभएको कुरालाई हो जस्तो बनाउने र उट्पट्याङ कुरा गर्न माहिर नेता हुन्’, उनले पुस्तकमा लेखेका छन्’, ‘एक समय उनी जेलमा टि.बी. र अल्सरले थलिएर मृत्युको मुखमा पुगेका थिए । त्यस्तो हुँदा पनि खानामा ओलीलाई असाध्यै मिठो चाहिने । नमिठो भए भागै नबस्ने बानी थियो । हामीले गाँस कटाएर उनलाई मिठोमसिनो दिन्थ्यौं । उनी रोगले यति थलिएका थिए की जेलमा सिहार्ने मान्छे नहुँदा मैले उनको अंग नछोएको ठाउँ नै छैन ।’

ओली पदमा रहँदा बारम्बार छुद्रो बोली, रुखो र टर्रो बोली लगाउने टिप्पणी, आलोचक र मिडियाप्रति शत्रुता साँध्ने नेतामा परिचित छन् । सहकर्मी र व्यापारिक सहयोगीहरूको भ्रष्टाचारमा मौनता साँधेको विरोधीले उनीमाथि आरोप लगाउने गरेका छन् ।

आफ्नो विरोध गर्नेप्रति उनी लामो समय इख राख्छन् । ओली आफै बेलाबखत भन्ने गर्छन्– ‘मलाई गलाएर वा दबाब दिएर काम लिन धेरै गाह्रो छ । आफूलाई फकाएको खण्डमा म तुरुन्तै विश्वास गर्छु । त्यसबाट धेरैले फाइदा पनि लिएका छन् ।’

वृद्ध अवस्थामा ओलीको राजनीतिक सक्रियता, आत्मविश्वास र घण्टौं धाराप्रवाह भाषणबाट विपक्षीहरूसमेत आश्चर्यचकित छन् । दुई–दुईपटक मृगौला प्रत्यारोपण गरेका ओली चिकित्सकहरूको सल्लाहलाईसमेत पर्वाह नगरी दैनिक १८ घण्टा जस्तो राजनीतिमा सक्रिय हुन्छन् । चारवटा मृर्गौला भएको विश्वकै पहिलो प्रधानमन्त्री आफू रहेको भन्दै उनी गर्व गर्छन् । उनी खेलमा मात्र हाइन अध्ययनमा पनि त्यतिकै रुचि राख्छन् । रातको जम्मा चार घण्टा सुत्ने गरेको दाबी उनको छ । फुर्सदको समयमा अध्ययन गरेर बिताउने गरेका छन् ।
साथै आफ्नो निवासमा आएकासँग रातको १२/१ बजेसम्म मज्जाले गफिने नेतामा समेत ओली पर्छन् ।

जेल जीवनदेखि सिंहदरबारको कुर्सीसम्म ओलीको सफलता

वि.सं. २००८ सालमा पूर्वी नेपालको तेह्रथुमको इवा गाउँमा जन्मिएका उनी सानै उमेरमा झापा बसाइँ सरेका थिए । अहिले ओलीको बसाइ भक्तपुरको बालकोटमा रहेको छ । उनी ०२२ सालदेखि राजनीतिमा लागेका थिए । २०४४ सालमा जेलमुक्त भएसँगै एमालेको केन्द्रीय सदस्यमा नियुक्त भए । २०४८, ०५१, ०५६ मा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०६४ को पहिलो संविधानसभामा पराजित भएका उनी ०७० र ०७४ मा झापाबाट नै निर्वाचित भए । ०६२ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भए ।

२०७१ मा भएको एमालेको नवौं महाधिवेशनमा माधव नेपाललाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भए । भारतीय नाकाबन्दीको खुलेर विरोध गरेका ओली २०७२ मा माओवादीको सहयोगमा प्रधानमन्त्री भए । दुष्मनी सम्बन्ध रहेको माओवादीसँग रातारात पार्टी एकता गरी चुनाव जित्नेदेखि प्रधानमन्त्री बन्नेसम्मको उनको प्रयासलाई धेरैले अस्वाभाविक मान्ने गरेका छन् । तर कांग्रेसलाई नमिठो हार चखाउन उनले दुष्मनी सम्बन्ध रहेको माओवादीसँग पनि दोस्तीको हात बढाएर चर्चा र शक्तिमा आए ।

भारतविरुद्ध राष्ट्रवादी अडान देखाएकै कारण ओलीको राजनीतिक उच्चाइ ह्वात्तै बढेको थियो । भारतले मिचेका नेपाली भुगोल समेटेर चुच्चे नक्सा सार्वजनिक गर्दा विपक्षी कांग्रेसलाई समेत ओलीले आफ्नो कित्तामा ल्याएका थिए । गणतन्त्र स्थापनापछि सबैभन्दा फाइदा लिने प्रधानमन्त्रीमा ओली रहेका छन् । बहुदल स्थापनापछि सबैभन्दा लामो समय प्रधानमन्त्री हुनेमा ओलीले रेकर्ड राखे । जनमतबाट लामो समय कम्युनिष्ट प्रधानमन्त्रीको रेकर्ड पनि उनैले राखेका छन् । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी वाम गठबन्धनबाट झण्डै दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री भए । तर अध्यक्ष प्रचण्ड र नेता माधव नेपालसँगको बिग्रदो सम्बन्धले तीन वर्ष चार महिनामा ओली सरकार ढल्यो ।

२०७७ फागुन २३ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा भंग गरिदिएपछि साविक पार्टी एमालेका अध्यक्ष भए । गत भदौ २ गते माधव–झलनाथ पार्टीबाट अलग भएपछि थप कमजोर भएका ओली मंसिरमा चितवन महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भए । वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट एमाले शक्तिका हिसाबले दोस्रो भए पनि आगामी निर्वाचनबाट पुनः एमालेलाई पहिलो दल बनाएर फेरि प्रधानमन्त्री हुने आकांक्षा ओलीले राखेका छन् ।