NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य

काठमाडौं । पाँचदलीय गठबन्धनभित्र रहेका वाम–समाजवादी पार्टीले उपगठबन्धनको गृहकार्य गरेका छन् । माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच उपगठबन्धनको गृहकार्य भइरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने तयारी छ ।

प्रगतिशील धारको शक्ति निर्माण गरेर निर्वाचनमा जाने विषयमा छलफल जारी रहेको नेताहरूले बताएका छन् । ‘पाँचदलीय गठबन्धन घोषणा गरेर निर्वाचनमा जान्छौँ । यसबाहेक हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँ । एकीकृत समाजवादी, माओवादी, जसपा र जनमोर्चाबीच मोर्चा बनाएर अघि बढ्न खोजिरहेका छौँ,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने ।

संयुक्त शक्तिसहित कांग्रेससँग सिट बाँडफाँडको छिनोफानो गर्ने संकेत नेपालले गरे । उनले भने, ‘कांग्रेसलाई हामी नै सबै थोक हौँ भन्ने परेको हुन सक्छ । विगतमा पनि सर्वेसर्वा मै हुँ भन्दा धेरै बिग्रिएको छ । त्यसकारण हामी पनि केही हौँ भन्ने समय आएको छ । यसका लागि अर्को चुनावी मोर्चा बनाउनुपर्ने, वाम शक्ति मिलेर जानुपर्ने अवस्था छ,’ नेपालले गठबन्धनभित्र उपगठबन्धनको आवश्यकताबारे भने ।

कांग्रेसलाई दबाबमा राख्न पनि यस्तो मोर्चा चाहिएको नेपालको भनाइ छ । ‘भोलि निर्णय त हुन्छ, तर हात्ती आयो, हात्ती आयो फुस्सा भयो भने के गर्ने ? अन्तिम वेलामा यति लिने भए लेऊ नत्र जाऊ भन्ने अवस्था आयो भने रोएर बस्ने ? त्यसकारण आफ्नो शक्ति तयार गरेर अगाडि बढ्ने हो । शक्ति निर्माण गरेर अगाडि बढ्दा सम्भावना निकै राम्रो देखेको छु,’ नेपालले भने ।

नेपालले एमालेसँग भने सहकार्यको सम्भावना कमजोर रहेको बताए । ‘एकले अर्काको अस्तित्व नै स्वीकार नगर्नेसँग केही सहकार्य हुन्छ ? जसले अर्काको अस्तित्व नै स्वीकार गर्दैन त्यस्तासँग एकता हुँदैन,’ नेपालले भने, ‘जुन गाउँ जानै छैन, त्यस गाउँको बाटै नसोध्नु भन्छन् नि ! त्यसकारण विचार, धारणा, भावना र मन मिल्नेहरू मिलेर अगाडि बढ्ने हो ।’

माओवादी नेता हरिबोल गजुरेलले पनि पाँचदलीय गठबन्धनभित्र प्रगतिशील धार निर्माणबारे छलफल भइरहेको बताए । ‘पाँचदलीय गठबन्धनभित्र प्रोग्रेसिभ धार बन्छ, विभिन्न चरणमा छलफल भइरहेको छ । छिट्टै टुंगोमा पुग्छ,’ उनले भने ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि विभिन्न चरणमा छलफल जारी रहेको बताए । ‘पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा जाने हो । विभिन्न विकल्पमा छलफल भइरहेको छ । विचार मिल्नेहरू नजिकिनु स्वाभाविक हो,’ अध्यक्ष यादवले भने  । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष