NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

एमालेको तारोमा माधव नेपाल : चुनाव जित्न काठमाडौं असुरक्षित, रौतहट सुरक्षित

यस्तो छ अघिल्लो निर्वाचन र यसपटकको मतको लेखाजोखा

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यतिबेला राजनीतिक दलहरू आन्तरिक रणनीति बनाउन जुटेका छन् । सत्ता गठबन्धनका कार्यदलले सिट बाँटफाँटका लागि छलफल जारी राखेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी रणनीति तय गर्न स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

यसपटक सत्ता गठबन्धन र एमालेबीच देशभर मुख्य प्रतिस्पर्धा हुँदैछ । पहिले एमालेलाई साथ दिएको माओवादी अहिले कांग्रेसतिर सरेको । एमालेबाट चोइटिएको नेकपा एकीकृत समाजवादी पनि सत्तारुढ दलसँगै छ । यस्तोमा माधव नेपाल नेतृत्वको नेकपा एसले पनि एमालेसँगै प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । कांग्रेस, माओवादीको सहयोगमा एमालेबाटै फुटेर बनेको एसले उसँगै गर्नुपर्ने प्रतिस्पर्धाले चुनावमा थप रोचकता थप्नेछ ।

१५ वर्ष एमालेको महासचिव रहेका नेपाल जीवनको उत्तरार्धमा आइपुग्दा आफैंले जन्माएको पार्टीबाट गतवर्ष अलग भए । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेसँग विद्रोह नगरेको भए देउवा सरकार नै बन्ने थिएन । अध्यक्ष ओलीसँग विद्रोह गरी देउवा नेतृत्वको गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेले । उनकै कारण ओली बालुवाटारबाट बालकोट पुगेका थिए । संघमा ओली सरकारदेखि एमालेले नेतृत्वको प्रदेश सरकार ढलेको थियो । उमेरले ६९ पुगेका नेपाल आगामी निर्वाचन पनि भाग लिने घोषणा गरिसकेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आगामी निर्वाचन जित्नैपर्ने दबाबमा रहेको बताएका हुन् ।

योपटक वामलोकतान्त्रिक गठबन्धनबाट चुनावमा भाग लिन लागेका नेता नेपालले काठमाडौं र रौतहटमध्ये एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने उनी निकटस्थले बताएका छन् ।

‘७० वर्षमा राजनीतिबाट विश्राम लिने विचार गरेपनि परिस्थितिले टाढिन दिएन । निर्वाचन घोषणा गरिसकेपछि चुनावमा भाग नलिँदा माधव डरायो भन्लान् । ७५ वर्षसम्म राजनीतिमा सक्रिय रहनुपर्ने दबाबमा छु’, उनले भने ।

उनको यो घोषणाले एक कार्यकाल अझै चुनावमा प्रतिस्पर्धा गर्ने सोचमा रहेको प्रष्ट हुन्छ । तर काठमाडौं र रौतहट कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्नेमा नेपालले खुलाउने चाहेनन् । उनी अघिल्लो निर्वाचनमा काठमाडौं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपाल २७ हजार ३६६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक कुँइकेलले १४ हजार ९०३ मत पाएका थिए । अघिल्लो निर्वाचनमा एमाले र माओवादीबीच चुनावी तालमेल भएको थियो । उनको मतान्तर १२ हजार ४६३ रहेको छ । त्यस्तै विवेकशील साझाका डा.सूर्यराज आचार्यले ७ हजार ४३७ मत पाएका थिए । अन्य मत १५ सय ४९ रहेको छ ।

२०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहटको सोही निर्वाचन क्षेत्रबाट माओवादी उम्मेदवारसँग नेपाल पराजित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । योपटक वामलोकतान्त्रिक गठबन्धनबाट चुनावमा भाग लिन लागेका नेपालले काठमाडौं र रौतहटमध्ये एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने उनी निकटस्थले बताएका छन् । नेपालकै कारण ओली सरकार ढलेपछि एमालेको ‘मोस्ट टार्गेट’ सूचीमा उनी रहेका छन् । त्यसैले नेपाललाई जसरी पनि हराउने रणनीति एमालेले बनाएको छ ।

बुधबार बसेको नेकपा एसको सचिवालय बैठकले आगामी निर्वाचनका लागि घोषणापत्र मस्यौदा बनाउन उपमहासचिव त्रय डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र प्रकाश ज्वालालाई जिम्मा दिएको छ । त्यस्तै उम्मेदवार छनोटदेखि निर्वाचन निर्देशिका बनाउनेसम्मको जिम्मेवारी तोकिएको छ ।

घोषित रुपमै निर्वाचन तयारीमा जुटेका नेपालले काठमाडौं र रौतहटमध्ये कहाँ रोज्लान् भन्नेमा सबैको चासो रहेको छ । रौतहट उनको गृह जिल्ला हो । काठमाडौं २ उनको अहिलेको बासस्थान रहेको क्षेत्र हो ।

नेपालको स्थिति कुन क्षेत्रमा कस्तो छ ?

काठमाडौं क्षेत्र नम्बर २ मा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका ४, ५, ६, ७, ८ र ९ वडा पर्दछन् । काठमाडौं महानगरपालिकाका ९ र ३२ वडा पर्दछ । स्थानीय तह निर्वाचनमा शंखरापुर नगरपालिकामा राप्रपाले मेयर जितेको थियो । दोस्रो स्थानमा एकीकृत समाजवादी रहेको छ । यहाँ कांग्रेस र एसबीच चुनावी तालमेल भएको थियो ।

त्यस्तै कागेश्वरी मनोहरामा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । ९ वडामध्ये यो क्षेत्रमा पर्ने वडा ६ मात्र एसले वडाध्यक्ष जितेको हो । ४ एमाले र ५, ७, ८ र ९ कांग्रेस विजयी भएको थियो । वडागत तहमा पाएको भोटको आधारमा यो क्षेत्रमा एमाले १७ हजार ३२८ मत ल्याइ पहिलो दल रहेको छ । कांग्रेस १४ हजार १२८, एस ७ हजार ९११, राप्रपा ७ हजार २०० र माओवादी ३ हजार १३१ मत पाएका छन् । यहाँ गठबन्धनले पाएको जम्मा मत २५ हजार १७० रहेको छ । मतान्तर ७ हजार ८४२ रहेको छ । आगामी निर्वाचनमा गठबन्धन र एमालेलाई चुनाव जित्न राप्रपा निर्णायक शक्ति रहेको छ । राप्रपाले जोसँग गठबन्धन गर्यो उसले जित्ने मतपरिणामले देखाउँछ । यदि राप्रपा एक्लै चुनावमा भाग लिएको खण्डमा नेपालले जित्ने देखिन्छ । तर काठमाडौंको मतदाताको मनस्थिति अस्थिर र नयाँ प्रयोग गर्न रुचाउँने हुँदा चुनावी परिणामलाई प्रभाव पार्न सक्छ । त्यस्तै थपिएका नयाँ मतदाताको मनोविज्ञानले पनि परिणमलाई फरक पार्न सक्छ ।

रौतहटमा भारी मतले गठबन्धन अगाडि

काठमाडौं छोडेर गृह जिल्ला रहेको रौतहट १ बाटसमेत उनले निर्वाचनमा भाग लिनसक्ने हुँदा त्यहाँको बस्तुगत अवस्था बुझ्न बाञ्छनीय देखिन्छ । अघिल्लो निर्वाचनमा रौतहट १ बाट राजपाका नेता अनिलकुमार झा निर्वाचित भएका थिए । जसपा विभाजनपछि उनी अहिले लोसपामा गएका छन् । त्यतिबेला उनले २१ हजार ४७२ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादवले १५ हजार ८७४ मत पाएका थिए । माओवादीको उम्मेदवार सत्यनारायण भगतले १२ हजार ३३१ मत पाएका थिए । माओवादीले पाएको मत एमालेकोसमेत हो । मतान्तर ९ हजार १४१ रहेको छ ।

रौतहट १ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको १ नम्बर वडा पर्दछ । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा एसले सबैभन्दा बढी मत १९ हजार ६९८ मत ल्याएको छ ।

कांग्रेस १६ हजार ९२८, लोसपा १२ हजार ६२, जसपा ८ हजार २४१, माओवादी ८ हजार १९१, एमाले ७ हजार ३८५ यहाँ एमाले सबैभन्दा पुछारमा रहेको छ । एमालेले लोसपासँग चुनावी तालमेल गरेपनि नेपालले सजिलै जित्ने देखिन्छ । गठबन्धन गर्दा ५३ हजार ५८ मत रहेको छ । एमालेसँगको मतान्तर ४५ हजार ६७३ मतान्तर देखिन्छ । यो अत्याधिक मत हो । एमालेले लोसपासँग चुनावी तालमेल गरे पनि ३३ हजार ६११ को मतान्तर रहेको छ ।

आयोगको तथ्याङ्क अनुसार काठमाडौं र रौतहट दुवै क्षेत्र नेपालका लागि सुरक्षित देखिन्छ । काठमाडौंमा प्रतिस्पर्धा हुने देखिन्छ । रौतहटबाट भने नेपाले सहजै अत्याधिक मत ल्याएर जित्ने देखिन्छ ।

निर्वाचनअघि ओलीले झेल्नुपर्ने यी हुन् मुख्य चुनौती

एकीकृत समाजवादीको वैठकले गर्‍यो यी ४ निर्णय