कास्कीमा पनि थपिए ११ हजार मतदाता

कास्की आगामी । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असारमहिना देखी सुरुआत गरिएकामा जिल्लामा महिला पाँच हजार ७६४ र पुरुष पाँच हजार ३७८ नयाँ मतदाता थपिएका हुन् ।
बाहिरी जिल्लाको समेत गरी महिला सात हजार ३९३ र पुरुष सात हजार ६०९ गरी १५ हजार दुई जनाले सो अवधिमा कार्यालयमा नाम दर्ता गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार बाहिरी जिल्लाका महिला एक हजार ६२९ र पुरुष दुई हजार २३१ गरी तीन हजार ८६० जनाको नाम दर्ता भएको छ ।
कार्यालयले बाहिरी जिल्लाको नाम दर्ता भएकाहरुको हकमा सम्बन्धित जिल्लामानै पठाउने छ । यसैगरी अन्य जिल्लामा दर्ता भएकाहरुको कास्की जिल्लाका मतदाताको नाम आयोगले यहाँ पठाउने उनले जानकारी दिए । उनले भने,“निर्वाचनको मिति घोषणापछि नयाँ नाम दर्ता रोकिएको छ । अब बाहिरी जिल्लाको दर्ता भएको नाम सम्बन्धित जिल्लामा पठाउँछौ, अन्य जिल्लाको पनि यसैगरी हामीकहाँ थप हुन्छ । ”
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा दुई लाख ८१ हजार ८३३ मतदाता रहेका थिए । सरकारले स्थानीय तहको निर्वाचन पछि असारदेखी नयाँ मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालयले अनलाइनमार्फत समेत मतदाता नामावली दर्ता सुरु गरेको थियो ।
सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि जिल्लामा क्रियाशील प्रमुख राजनीतिकदलहरुले चुनाव केन्द्रित कार्यक्रम अघि बढाएका छन् । दलहरुले आन्तरिक भेला,प्रशिक्षण तथा संगठन विस्तारका कार्यक्रम गाउँ गाउँसम्म सञ्चालन गरेका हुन् ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया