NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

फोहर अवरोधमा प्रतिपक्षी एमाले र राप्रपा पनि मिलेकोमा भावुक हुँदै बालेनले भने : सीमित व्यक्तिका स्वार्थ पूरा गर्न सक्तिन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई असफल बनाउन सबै दल एकजुट भएको बताएका छन् ।

सोमबार पनि बञ्चारेडाँडामा फोहर लान अवरोध पुर्याएको भन्दै सबै दल मिलेर फोहरको राजनीति गरिरहेको उनले आरोप लगाएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सत्तारुढ तीन ठूला दलका स्थानीय नेताले बञ्चरडाँडामा फोहर लान नदिने बताएका थिए । तिनैका कार्यकर्ताले सोमबार गुलेली र ढुंगा प्रहार गर्दै फोहर लैजान अवरोध पुर्याएका थिए ।

सत्तारुढ दललाई एमाले र राप्रपाजस्ता विपक्षी दलले पनि साथ दिइरहेको भन्दै मेयर शाहले सामाजिक सञ्जालमा भावुक स्टाटस राखेका छन् । त्यहाँ उनले सीमित व्यक्तिका स्वार्थ पूरा गर्न नसकिने बताउँदै सबैले जित्ने अपनाउन आफू तयार रहेको बताएका छन् ।

‘सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो,’ उनले फेसबुकमा लेखेका छन् ।

फोहरको समस्या केही दिन केही समयबाट देखिरहेको समस्या नभएको बताउँदै मेयर शाहले यसका गहिरा र अलग्गै कारण रहेको स्पष्ट पारेका छन् ।

‘नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’, उनको प्रश्न छ ।

May be an image of 11 people, people standing and outdoors

मेयर शाहले सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेडाँडाको दिगो उपयोगिताका लागि महानगर संवेदनशील रहेको बताउँदै आफूले गरेका सहमतिहरूको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘यहाँ केही कमजोरी, केही गल्ति भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरावस्थाले गर्दा स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेडाँडाको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरूको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ’, उनले लेखेका छन्, ‘पुनः भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रा स्वार्थहरूको गर्नु पर्ने होइन, फोहरको हो । आफ्ना कुत्सित स्वार्थहरूको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।’

फोहर बोकेर गएका गाडी र सुरक्षाकर्मीलाई सत्तारुढ ३ ठूला दलका कार्यकर्ताले गुलेली हाने