डेढ वर्षमै बिग्रियो गाउँपालिकाले खरिद गरेको जेसिवी
काठमाडाैं । दाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसिवी डेढ वर्षमै बिग्रिएको छ । अहिले उक्त जेसिवी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्रांगणमा थन्क्याएर राखिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा ३३ लाख रूपैयाँमा खरिद गरिएको उक्त जेसिवीले आम्दानी भने केही गर्न सकेन । ‘खरिद गरेको डेढ वर्षमै बिग्रियो, अहिले थन्क्याएर राख्नुपर्ने अवस्था छ,’ गाउँपालिकाका स्टोर शाखा प्रमुख मस्तवीर चौधरीले भने, ‘यसबाट एक रुपैयाँ पनि आम्दानी लिन सकिएन ।’
बिग्रिएपछि मर्मत गर्न लगिएकामा खर्च धेरै लाग्ने भएपछि त्यसलाई त्यतिकै थन्क्याएर राखिएको उनको भनाइ थियो । मर्मत खर्च पाँच लाख रूपैयाँ लाग्ने भएपछि त्यसलाई मर्मत गर्नुभन्दा थन्क्याउनै फाइदा भएको भन्दै कार्यपालिकाको बैठकले निर्णय गरेरै थन्क्याइएको शाखा प्रमुख चौधरीले जानकारी दिए । ‘पटकपटक बिग्रिरहने भयो, पछिल्लो पटक मर्मत गर्दा पाँच लाख लाग्ने भनेपछि त्यसलाई मर्मत गर्दा थन्क्याएकै फाइदा हुने भयो,’ उनले भने, ‘त्यसपछि कार्यपालिकाले थन्क्याउने नै निर्णय गरेको हो ।’
बुद्ध इलेक्ट्रो पावर प्रालीले टेन्डरमा खरिद गरेको उक्त जेसिवीबाट फुर्केसल्लीसम्म सडकको ट्रयाक खोलिएको र अन्य वडाका सडक निर्माण गरिएका थिए । काम धेरै भए पनि आम्दानी भने न्यून भएको शाखा प्रमुख चौधरीले बताए ।
अहिले बिग्रिएर थन्क्याएपछि त्यसलाई के गर्ने भन्ने कुराको कार्यपालिकाले निर्णय गर्ने गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । ‘लिलाम गर्ने हो कि भन्ने कुरा छलफल चलेको छ,’ उनले भने, ‘के गर्ने भन्ने कुरा कार्यपालिकामा छलफल हुन्छ ।’ गाउँपालिकाले त्यतिबेला करिब १६ लाख रूपैयाँको लागतमा एउटा ट्र्याक्टर पनि खरिद गरेकामा नियमित चलिरहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया