NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सिट बाँडफाँटको साझा अवधारणा बनाउने जिम्मा सिटौलालाई

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने जिम्मेवारी कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिर्ने निर्णय गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘शीर्ष तहका नेतालाई कार्यदलले सम्पादन गरेको कार्य विवरण बुझायो, यसबारे छलफल भएको छ । नेतालाई चाँडै कार्य सम्पादन गरेर अगाडि जाने निर्देशन भएको छ ।’

साथै, साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदलका नेतालाई प्रदान भएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा शीर्ष नेताले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट लगायतका कार्य चाँडै सम्पादन एवम् सम्पन्न गर्न निर्देशन भएको उनले बताए ।

बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए ।