NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

माओवादीको पदाधिकारीले पायो पूर्णता, उपाध्यक्षमा महरा, महासचिवमा गुरुङ

माओवादीले आठौँ महाधिवेशन सम्पन्न भएको आठ महिनापछि २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रस्तावलाई सर्वसहमतिले पारित गरेको हो ।

माओवादी केन्द्रको गत पुसमा महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनले अध्यक्षमात्रै चयन गरेको थियो ।

आज भएको निर्णयानुसार पदाधिकारीमा एक जनामात्रै महिला प्रतिनिधिका रूपमा उपमहासचिव पम्फा भुसाल चयन भएकी छन् ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा नेता महरा चयन हुँदा महासचिवमा गुरुङले जिम्मेवारी पाएका छन् । माओवादीभित्र ‘कान्छाबहादुर’का रुपमा परिचित गुरुङ इमान्दार नेताका रूपमा स्थापित छन् । हाल माओवादीको संसदीय दलको प्रमुख सचेतकको भूमिकामा समेत रहेका गुरुङ पार्टीभित्र चौथो वरीयतामा थिए ।

विशेषगरी महासचिव चयनको विषय सबैभन्दा बढी जटिल बनेको माओवादीका नेताहरूको टिप्पणी रहँदै आएको थियो । उपाध्यक्ष महराका अनुसार विशेष महाविधेशनसम्मका लागि पदाधिकारी चयन भएको र नयाँ परिस्थितिमा नयाँ तरिकाले जाने जानकारी दिए ।

उपमहासचिवको जिम्मेवारी नेता हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेतले पाएका छन् । सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य चयन भएका छन् ।

माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने जनाएको छ । यद्यपि त्यस्तो महाधिवेशन कहिले आयोजना हुन्छ भन्नेबारेमा उनले केही जानकारी दिएनन् ।

उपाध्यक्ष महराले भने, “यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि हो । तत्कालका लागि सन्तुलित र निर्वाचनलाई ध्यान दिएर तय गरिएको हो । विशेष महाधिवेशनमा नयाँ सोच आउँछ ।”

आठौँ महाधिवेशनकै क्रममा विचारको विकास र सङ्ठगनात्मक प्रणाली तय गर्नका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।

यस्तै स्थायी समितिको बैठकले अखिल (क्रान्तिकारी) भित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष दाहाललाई नै जिम्मेवारी दिएको छ ।