NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पार्टीको नीति र विधिविपरीत जानेलाई कारवाही हुन्छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गर्ने बताएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाही गर्ने उनको भनाइ छ । अन्तर्घात छानविनका लागि माओवादीले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

सो छानविन समितिको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा आज बुझ्द उनले पार्टीभित्रको अनुशासन तोड्ने कार्य आफैँमा गम्भीर रहेको भन्दै त्यस्ता पात्र र प्रवृत्तिलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले दोषीलाई कारवाही नगरे माओवादी कम्युनिस्ट पार्टी जस्तो पनि नरहने बताए ।

‘अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी जस्तो रहँदैन’ उनले भने । निर्वाचनमा भएको अनियमितता र गडबडी सच्याउनेभन्दा पनि पार्टीलाई विधि र अनुशासनमा चलाउने विषयसँग सम्बन्धित उनले रहेको बताए । छानविन समितिले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विशेष गरी मधेस प्रदेशमा विभिन्न जिल्लामा अन्तर्घात भएको तथा अन्य प्रदेशका केही जिल्लामासमेत समस्या रहेको भन्दै जिम्मेवारीअनुसार कारवाहीको सिफारिस गरिएको छ ।

समितिले देशभरका पाँच सयभन्दा बढी नेता तथा कार्यकर्तासँग बयान लिएको थियो । गत स्थानीय तहको निर्वाचनमा दुई सय स्थानीय तहमा निर्वाचन जित्ने प्रक्षेपण गरेको माओवादीले अन्तर्घातका कारण अपेक्षित परिणाम आउन नसकेको भन्दै छानबिन समिति गठन गरेको थियो ।