NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

इन्भेष्टमेन्ट बैंकको सहयोगमा पशुपति संग्रहालय तथा महास्नान घरको पुन: निर्माण

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जिवन राम श्रेष्ठबाट पशुपति संग्रहालय तथा महास्नान घरको उद्घाटन सम्पन्न भएको छ ।

उक्त समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति, तामा-पित्तल-ढलौटका मूर्तिहरु, ढुंगाका मूर्तिहरु (प्रस्तरकला), संस्कृति झल्काउने भेषभूषा, गरगहना, मुकुण्डो एवं पुरातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्ठकला, चित्रकला, मूर्तिकला, लिच्छबिकालिन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचिन मुद्राहरु, छाप तथा अन्य मूर्त अमूर्त सम्पदाका सामग्रीहरु संग्रहालयको मुख्य आकर्षण रहेको छ ।

बैंकले २०७२ सालको भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण पशुपति महास्नानघर भवनलाई पुननिर्माण गरी यस पवित्र ‘पाशुपत क्षेत्र’ मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीलाई एकै स्थानमा संकलन, अभिलेखिकरण र प्रस्तुतिकरण गरी संग्रहालयको रुपमा विकास गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

पुननिर्माणपश्चात नेपाल इन्भेष्टमेन्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाइ पुननिर्मित पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ साथै बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा ५ करोड १४ लाख तथा पशुपति क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोडभन्दा बढी सहयोग गरेको छ ।

बैंकले आफ्नो स्थापना कालदेखि नै कला, संस्कृति, एवम् खेलकूदको संरक्षण तथा प्रर्वद्धनका लागि सधै सहकार्य गर्दै आएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका विभिन्न मठ-मन्दिर, पाटी-पौवा तथा घाट आदिको पुननिर्माण एवं जात्रा, पर्व आदिको प्रवर्द्धनमा बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग मात्र नभई वस्तुगत रुपमै सम्पदाको संरक्षण तथा प्रर्वद्धन गर्दै आएको बैंकले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष