NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

किसानलाई पठाइएको करोडौं राहत वितरण नभई फिर्ता

धनगढी । कैलालीका स्थानीय तहले बेमौसमी वर्षाले धान भिजाएर कुहिएबापत आएको राहत रकम किसानलाई वितरण नगरी फिर्ता गरिदिएका छन् ।

८३ हजार ४ सय किसानलाई राहत वितरण गर्न संघीय सरकारले गत जेठमा २१ करोड ९७ लाख रूपैयाँ पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले त्यसमा केही रकम थप गरी स्थानीय तहहरूलाई २२ करोड २६ लाख ६७ हजार ५४० रूपैयाँ पेस्की दिएको थियो । त्यसमध्ये स्थानीय तहहरूले पाँच करोड ६३ लाख ८५ हजार ८०० रूपैयाँ फिर्ता पठाएका छन् ।

उनीहरूले ५९ हजार २४५ जना किसानलाई १६ करोड ६२ लाख ८१ हजार ७४० रूपैयाँ भने राहत वितरण गरेका छन् ।

कैलालीमा स्थानीय तहहरूले राहत पाउनुपर्ने किसानमध्ये ७१ प्रतिशतलाई ७४.६७ प्रतिशत राहत रकम वितरण गरेका छन् । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले सबै किसानले राहत पाउन नसके पनि राहत वितरणको प्रगति ठीकै भएको बताए । उनले कर्मचारी, पदाधिकारी र किसानको केही कमजोरीका कारण सबै राहत वितरण गर्न नसकिएको बताए, आजको कारोबार दैनिकमा खबर छ ।