शिक्षक, कर्मचारी दलमा आबद्ध भेटिए मलाई इमेल गर्नुस् : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षक तथा कर्मचारी राजनीतिक दलमा आबद्ध रहेको कुनै प्रमाण भए आफूलाई जानकारी गराउन आग्रह गरेका छन् ।
सरकारी कर्मचारीले राजनीतिक दलको सदस्यता ग्रहण गर्नु कानूनविपरीत भएको उल्लेख गर्दै उनले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका दलसम्बद्ध शिक्षक तथा कर्मचारी विवरण उपलब्ध गराएर सहयाेग गरिदिन आग्रह गरेका हुन् ।
बालेनका अनुसार महानगरपालिकाका कुनै कर्मचारी तथा शिक्षक राजनीतिक दलमा आबद्ध रहेको प्रमाण उनको [email protected] इमेल ठेगानामा पठाउन सकिने छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा ९२० को खण्ड (ग_) मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने उल्लेख छ । काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४ मा पनि काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन बन्देज गरेको छ । बालेनले यही कानूनी प्रबन्ध स्मरण गराउँदै शिक्षक तथा कर्मचारीलाई अनुशासनको दायरामा ल्याउने प्रयास थालेका हुन् ।
बालेनले शिक्षक तथा कर्मचारीले दलीय सदस्यता लिनु कानूनविपरीत भएकाले त्यस्तो सदस्यता त्याग्न शिक्षक तथा कर्मचारीलाई आग्रह गरेका छन् । साथै उनले शिक्षक तथा कर्मचारीलाई सदस्यता नदिन वा दिएको भए रद्द गर्न राजनीतिक दल र तिनको भातृ संगठनलाई भनेका छन् ।
‘काठमाडौं महानगरपालिकाअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थालाई हार्दिक अपिल गरिन्छ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै, राजनीतिक दल, भातृ संस्था वा सुवेच्छुक संस्थाको सदस्यको रुपमा राजनीतिक आवद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आवद्धता तत्काल त्याग गरी कानूनको परिपालना गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।’
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया