NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २९ गते

विकास, समृद्धि र व्यवस्था रक्षाका लागि संघर्षरत छु : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू संघर्षरत रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा उनले राजनीतिक स्थायित्वका लागि आफ्नो संघर्ष कायम रहेको बताए ।

कम्युनिष्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उनले पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको बताए । उनले भने, ‘विगतका वर्षहरुमा कोरोना महामारी र यसअघिको सरकारको अवरोधका कारण विकासले गति लिन सकेन ।’ माडीको विकासमा निकुञ्ज ऐन बाधक रहेको भन्दै उनले त्यसलाई समयसापेक्ष बनाउने गरी प्रक्रिया अगाडि बढेको बताए ।

माडीको विकास र समृद्धि बिना आफूले लिएको लक्ष्य पूरा हुन नसक्ने जनाउँदै उनले चितवनलाई देशकै विकासको मोडेल बनाएर लागू गर्ने संकल्प आफ्नो रहेको बताए । बाँदरझुला र माडीका भूमिहीन सुकुम्बासीको जग्गा नाप्ने काम तीन दिनभित्र सुरु हुने उनको भनाई छ । नापजाँच सकिएसँगै जग्गाधनी पुर्जा वितरण गरिने उनले बताए ।

शिक्षा, स्वास्थ्य, कृषि र विद्युतीकरणको क्षेत्रमा माडीमा ठूलो क्रान्ति भएको जनाउँदै उनले माडीको विकास बिना चितवनको समृद्धिको सपना साकार नहुने बताए । उनले माडी नगरपालिका वडा नं ५ र ६ जोड्ने रतनी खोला पुलको उद्घाटन, १२ किलोमिटर लामो बरुवा बजार–भैरवपुर–पर्साचोक–बैदार सिम्रेनी–गङ्गटे सडक शिलान्यास, टम्टा खोला तटबन्धको शिलान्यास गरेका छन् ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादवले माडीका जनताको समस्या विकाराल रहेको भन्दै समाधान गर्न हरदम प्रयत्न गरिरहेको बताए । । उनले भने, ‘निकुञ्ज हाम्रो गहना हो, यसको संरक्षणसँगै वरपरका नागरिकको समस्या हल गर्दै अगाडि बढ्नुको विकल्प छैन ।’ मन्त्री यादवले भरतपुर–माडी–ठोरी हुलाकी सडकमा ठाउँठाउँमा समस्या रहेको भन्दै निकास खोज्ने बताए ।

भौतिक योजना तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले माडी क्षेत्रको विकासका लागि बजेट प्राथमिकतामा राखिएको उल्लेख गरे । माडीका नगर प्रमुख ताराकुमारी काजी महतोले माडीमा बितेका पाँच वर्षमा विकासले तीव्रता पाएको बताएकी छन् ।