राष्ट्रपतिलाई बाबुरामको प्रश्न : चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाउन खोजेको हो ?

काठमाडौं । नेसपाका नेता डा. बाबुराम भट्टराईले चुनावको मुखमा पूर्व सैनिक अधिकारीसँग परामर्श गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रवादी उत्तेजना फैलाउन खोजेको भन्दै संशय व्यक्त गरेका छन् ।
राष्ट्रपतिले नागरिकता विधेयकलाई जोडेर पूर्व सैनिक अधिकारीसँग परामर्श गरेको खबर साँचो हो भने नेपालको संविधान अनुकूल नहुने पनि बाबुरामले बताएका छन् ।
‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर सॅाचो होभने त्यो नेपालको संविधान अनुकूल भएन’ भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन।चुनावको मुखमा’राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दलरनेतालाई सघाउन खोजेको भए झन् भएन !’
राष्ट्रपतिले फेरि विचार विमर्श गर्न भन्दै फर्काइदिएको नागरिकता विधेयक प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको थियो । अब राष्ट्रिय सभाबाट पारित हुने क्रममा छ । तर आफ्नो चासोलाई बेवास्ता गर्दै हुबहु पठाएको भन्दै राष्ट्रपति भण्डारीले असन्तुष्टि व्यक्त गरेकी छिन् ।
यतिमात्रै होइन कार्यकाल सकिन तीन महिना मात्रै बाँकी हुँदा राजीनामा दिनेसम्मको दबाब उनले बढाएकी छिन् । विधेयकलाई राष्ट्रवादी मुद्दासँग जोड्न खोजेको एमालेलाई सहयोग पुग्नेगरी राष्ट्रपति अघि बढ्ने र राजीनामा दिने हो कि भन्ने संशय सत्तारुढ दलहरूमा छ ।
बाबुरामले पनि अमूक दललाई सहयोग पुर्याउन खोजेको भन्दै एमालेप्रति लक्षित गरेर विरोध गरेका हुन् । धन्यवाद दिन भन्दै सैनिक अधिकारीलाई राष्ट्रपतिले भाेज नै दिनु र उनीहरूले नागरिकता विधेयकमा लचिलाे नबन्न सुझाउनुले राजनीतिक उतारचढावकाे संकेत गरेकाे छ ।
प्रतिक्रिया