NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सरकार कर्मचारीको पक्षमा छ : ऊर्जामन्त्री भुसाल

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएकी छिन् । कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ट भएर लाग्न निर्देशन दिइन् ।

राष्ट्रिय प्रगतिशील स्वाथ्यकर्मी संगठनको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) कर्मचारी विभागका कर्मचारी फ्र्याक्सन इन्चार्जसमेत रहनुभएका मन्त्री भुसालले भनिन्, ‘सरकार कर्मचारीमैत्री छ, त्यसैले कोभिड–१९ ले अर्थतन्त्रमा पु-याएको असर र रुस–युक्रेन युद्धको अवसरका वाबजुद पनि कर्मचारीको तलब वृद्धि गरेका हौँ ।’ उनले कर्मचारीमैत्री संघीय निजामती ऐन ल्याउन आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

कोभिड-१९ को महामारीमा पनि जीवन जोखिममा राखेर स्वाथ्र्यकर्मीहरूले जनतालाई सेवा प्रवाह गरेको स्मरण गर्दै उनले भनिन्, ‘यहाँहरूले जीवन जोखिममा राखेर पनि जनताको सेवा दिनुभएको छ, त्यो योगदानको म उच्च सम्मान गर्छु र सेवा प्रवाह गर्ने सिलसिलामा निधन हुनुभएका कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गर्नमा कर्मचारीको महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले परिर्वतनको पक्षमा निरन्तर वकालत गर्न र गणतन्त्रको संस्थागत गर्न कर्मचारीले आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिइन् । उनले संघियताको मर्मअनुसार बढीभन्दा बढी जनतालाई गुणस्तरीय सेवा दिन आग्रहसमेत गरिन् ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र राष्ट्रिय स्वस्थ्यकर्मी संगठनबीच गत वैशाखमा एकीकरण भएको हो । सो कार्यक्रमका कर्मचारीका नेताहरूले श्रमजीवी कर्मचारीको श्रमको सम्मान नभएको र संघीय निजामति ऐन कर्मचारीमैत्री ल्याउनुपर्ने माग गरेका थिए ।