NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भारत, पाकिस्तान र मलेसियामा घट्दै कोरोना संक्रमण

नयाँदिल्ली । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ । यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा भने वृद्धि भएको छ ।

भारत सरकारले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा ९ हजार चार सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक सय ५७ जनाको मृत्यु भएको छ ।

भारतमा हाल ८६ हजार पाँच सय ९१ जना सक्रिय संक्रमित छन् । संक्रमणका नयाँ बिरामी थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या चार करोड ४४ लाख आठ हजार एक सय ३२ पुगेको छ ।

यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ७० जना नयाँ सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । शनिबार दुई सय ९० जना नयाँ संक्रमित थपिएका थिए ।

पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेको संख्या ३० हजार पाँच सय ७४ पुगेको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीले बताएका छन् । एकसय १८ जना बिरामीको अवस्था गम्भीर छ ।

यसैबीच, मलेसियामा कारोनाका कारण ५ जनाको मृत्यु भएको तथा दुई हजार चार सय ९१ जना नयाँ बिरामी थपिएका छन् । शनिबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीले अझै पनि देशभर ३४ हजार पाँच सय आठ जना सक्रिय संक्रमित रहेको जानकारी गराएका छन् ।