NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

त्रिविमा तीन वर्षमा तीन सय दिन तालाबन्दी

काठमाडौं ,  त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा आइतबार बिहान पत्रकारहरूलाई आफ्नो मोबाइलमा १० दिनअघि आएको एसएमएस पढेर सुनाउँदै थिए, ‘आजदेखि विश्वविद्यालय नआउनुस् है, हाम्रो शान्तिपूर्ण आन्दोलन अशान्तिपूर्ण हुँदै छ, नत्र हामी जिम्मेवार हुनेछैनौं ।’

एसएमएस पठाउने विद्यार्थी नेविसंघका कार्यकर्ता थिए । तीन वर्षअघि बाँस्कोटा उपकुलपति नियुक्त भएदेखि नै नेविसंघको एउटा समूहले विश्वविद्यालयमा तालाबन्दी, तोडफोड र अवरोध गर्दै आएको छ । यो अवधिमा ३०० दिन त्रिविमा तालाबन्दी भएको छ ।

त्रिविले आइतबार पत्रकार सम्मेलन गरिरहँदा पनि बाहिर दुई हूल विद्यार्थी प्रदर्शन गरिरहेका थिए– पक्ष र विपक्षमा । सत्तारूढ कांग्रेस समर्थित नेविसंघका विद्यार्थी उपकुलपतिको कार्यक्रम बिथोल्न पुगेका थिए भने प्रतिपक्षी अनेरास्ववियुका विद्यार्थी उपकुलपतिको समर्थनमा । दुवै थरी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोज्दा भएको झडपमा केही विद्यार्थी घाइते पनि भए ।

यसअघि नेविसंघको एक समूहले त्रिवि कार्यकारी परिषद्को बैठकमा हस्तक्षेप गरेको थियो । जमलस्थित एल्लो प्यागोडा होटलमा शुक्रबार परिषद् बैठक राखिएको थियो । नेविसंघका योगेन्द्र रावल, श्यामराज ओझालगायतको समूहले बैठकको फाइल र कागजात नियन्त्रणमा लिएर शिक्षामन्त्री देवेन्द्र पौडेललाई बुझायो । त्यही विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन बिथोल्न पनि हूल उत्रियो, झडप भयो ।

कार्यकारी परिषद्को बैठकमा हस्तक्षेप गर्ने रावल दुई वर्षअघि उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको नेतृत्व गर्ने नेविसंघ त्रिविका नेतासमेत हुन् । रावल र हरि आचार्यको नेतृत्वमा त्रिविमा निरन्तर तालाबन्दी र तोडफोड हुँदै आएको प्राध्यापकहरूले बताए । चलाउनेमाथि भएको आक्रमणमा आचार्य पनि संलग्न भएको विषयमा अदालतमा मुद्दा विचाराधीन छ ।

त्रिविका अलावा पोखरा र संस्कृत विश्वविद्यालयमा पनि नेविसंघले लामो समयदेखि तालाबन्दी गरिरहेको छ । नेविसंघको तालाबन्दीकै बीच २०७८ माघमा आंशिक प्राध्यापकले पनि त्रिवि सेवा आयोग र आंगिक क्याम्पसहरूमा तालाबन्दी गरेका थिए । एकीकृत समाजवादीनिकट अनेरास्ववियुले पनि असार अन्तिम साता त्रिवि उपकुलपति बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेको थियो । ज्ञापनपत्र बुझाउने अनेरास्ववियुका उपाध्यक्ष माधव पन्तको नेतृत्वमा गएको समूहले उपकुलपतिलाई नभेटेपछि कार्यकक्ष तोडफोड गरेर फर्किएको थियो । उता नेविसंघले लगाएको ताला खोल्न छलफलको बाटो खोज्नेभन्दा पनि बल प्रयोग गर्ने नीति लिएको अनेरास्ववियुले आइतबारको झडपबीच एकतर्फी ताला खोलेको थियो । नेविसंघले एक महिनाअघि रजिस्ट्रार कार्यालय, लेखा, कर्मचारी प्रशासन महाशाखा, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, मानविकी र व्यवस्थापन डिन कार्यालयमा लगाएको ताला अनेरास्ववियुका विद्यार्थीले फुटाएका थिए । तर, नेविसंघले तुरुन्तै ताला लगाएको छ ।

अनेरास्ववियुले त्रिवि सरसफाइ कार्यक्रम आयोजना गरेको र त्यसअन्तर्गत ताला फुटाइएको नेता आरसी लामिछानेले बताए । ‘यसअघि नै वार्ता, छलफलबाट समस्या समाधान गर्नुपर्ने भन्दै तालाबन्दी गरे फुटाइदिने चेतावनी अनेरास्ववियुले दिएको थियो, अहिले त्यही गरेका हौं,’ उनले भने ।

एउटा पक्षले तालाबन्दी गर्ने र अर्कोले फुटाउने गर्दा विश्वविद्यालय रणभूमि बनेकामा प्राध्यापक र कर्मचारीको चिन्ता छ । पटक–पटक तालाबन्दी र तोडफोड गरेर नेविसंघले विद्यार्थी आन्दोलनलाई नै बदनाम बनाउन खोजेको पनि लामिछानेले बताए । ‘जायज माग संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट पनि उठाउन सकिन्छ, तालाबन्दीबाट उन्मुक्ति नदिएसम्म विश्वविद्यालय तंग्रिन सक्दैन, त्रिविलाई लकडाउनमा राख्न हुन्न भनेर सचेत गराउन ताला फुटाइदिएका हौं,’ उनले भने ।

प्रश्नपत्र हुबहु छाप्ने दोषीलाई कारबाही हुनुपर्ने र छानबिन प्रतिवेदन सार्वजनिक गरिनुपर्ने नेविसंघको माग छ । विश्वविद्यालयले भने प्रश्नपत्रमा हुबहु गर्नेलाई तीन वर्षसम्म परीक्षा र पठनपाठनमा सहभागी हुन नपाउने कारबाही गरिसकेको दाबी गरेको छ । दोषीको नाम भने गोप्य राखिएको छ । नाम सार्वजनिक गर्दा सुरक्षा खतरा हुने अनुमान गरेर गोप्य राखिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीको भनाइ छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले त्रिवि इकाईले गरेको तालाबन्दीमा केन्द्रीय समितिको समेत ऐक्यबद्धता रहेको प्रस्ट्याए । ‘शान्तिपूर्ण धर्नालगायत महिनौं आन्दोलन गर्दा त्रिवि पदाधिकारीले सुनेनन्, बाध्य भएर तालाबन्दी गरिरहेका छौं,’ उनले भने, ‘जायज माग पूरा भए पाँच मिनेटमै ताला खोल्न तयार छौं ।’ प्रश्नपत्र हुबहु सोधिएको बारे गरिएको छानबिन प्रतिवेदन सार्वजनिक हुनुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने उनले दोहोर्‍याए । शेर्पाले भने, ‘तालाबन्दीले पढाइ, परीक्षा रोकिएको छैन, विश्वविद्यालयको समस्याका विषयमा बोल्नै नपाइने हुँदैन ।’

एक वर्षसम्म नतिजा प्रकाशन गर्न नसकेर त्रिविले विद्यार्थीमाथि अन्याय गरिरहेको उनले बताए । ‘त्यसविरुद्ध तालाबन्दी गर्न पाइँदैन भने प्रश्नपत्र किनबेच गर्न पाइन्छ ? हुबहु प्रश्नपत्र सोध्न पाइन्छ त ?’ उनले प्रश्न गरे । माग पूरा नभए अझै सशक्त आन्दोलन गर्ने उनले बताए । ‘अखिल र युवासंघका गुन्डा किनेर ताला फुटाउने, हाम्रा साथीहरूमाथि आक्रमण गर्ने काम भएको छ, अझै सशक्त आन्दोलन हुन्छ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।