NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कोरोना घटेसँगै सेनिटाइजर आयातमा कमी, एक महिनामा २५ लाखको सेनिटाइजर नेपाल भित्रिए

काठमाडाैं । भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको साउनको तुलनामा चालु आव ७९/८० को सोहीअवधिमा सेनिटाइजर ६६३ प्रतिशतले कमी आएको हो । चालु आवको साउनमा कुल २५ लाख ४३ हजारको १४ हजार ९९४ केजी सेनिटाइजर सेनिटाइजर आयात भएको छ ।

गत वर्षको सोही अवधिमा नेपालका कुल एक करोड ९४ लाख ५ हजार रुपैयाँको सेनिटाइजर आयात भएको थियो ।

सेनिटाइजर आयातमा कमी आएसँगै राजश्व संकलनमासमेत कमी आएको छ । चालु आवको साउनमा २५ लाखको सेनिटाइजर आयात हुँदा ४ लाख ७४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा सरकारले सेनिटाइजर आयातमा ३४ लाख ४ हजार राजश्व उठाएको थियो ।

कोरोनापछि उच्च मात्रामा आयात हुन थाल्यो सेनिटाइजर

२०७६ सालमा कोरोना भाइरसले विश्वभरी तहल्का नै मच्चायो । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि प¥यो । उच्च सर्तकता अपनाउँदै अपनाउँदै कोरोना भाइरसबाट नेपाल अछुतो रहन सकेन ।

छिमेकी मूलुक चीनबाट फैलिएको कोरोना विश्वका विभिन्न मूलुकसँगै नेपालमा पनि फैलियो । कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले २०७६ साल चैत १० गतेबाट लकडाउन सुुरु गरेको थियो ।

सुरुवातमा कोरोनाले मानिसमा निकै डर पैदा गरेको थियो । विश्वमा संक्रमित हुने दर र मृत्यु हुने दर बढ्दै गएको थियो । त्यसैले मानिसहरु बाध्य भएर घरमै सीमित हुनुप-यो । त्यसबेला विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्नका लागि, त्यसको नियन्त्रण, रोकथाम गर्नका सामाजिक दुरी कायम गर्नुका साथै मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने बताएका थिए ।

नेपालमा त्यसभन्दा अघि सेनिटाइजरको खासै चर्चा थिएन । खासै प्रयोगमा पनि थिएन । कोरोना आएपछि यसको चर्चा र प्रयोग गर्नेको संख्या एकाएक चुलियो । त्यसपछि विदेशी सेनिटाइजरको आयातको माग बढ्यो ।

भन्सार विभागको तथ्यांक हेर्दा त्यसभन्दा अघि सेनिटाइजर आयात भएको देखिदैन । पछि विस्तारै नेपाली कम्पनीहरुले पनि सेनिटाइजर उत्पादन गर्न थाल्यो । पछि एकातिर कोरोना संक्रमण घट्दै गएपछि मानिसहरुले सेनिटाइजर कम प्रयोग गर्न थाल्नु र नेपाली उत्पादन बढ्नुले पनि आयातमा कमी आएको सहजै अनुमान गर्न सकिन्छ ।

कुन आर्थिक वर्षमा कति सेनिटाइजर नेपाल भित्रिए ? हेरौं तथ्यांक
आव ७६/७७ मा

आव ७६/७७ मा नेपालमा ३२ करोड ९८ लाख ६४ हजार रुपैयाँ बराबरको सेनिटाइजर आयात भएको छ । उक्त मूल्य बराबरको सेनिटाइजर आयात गर्दा सरकारले ५ करोड ७३ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

आव ७७/७८मा

आव ७७/७८मा आव ७६/७७ मा भन्दा दोब्बरले सेनिटाइजर नेपाल भित्रिएको विभागको तथ्यांक छ । विभागका अनुसार आव ७७÷७८ मा ६५ करोड १३ लाख ४९ हजार रुपैयाँको सेनिटाइजर नेपाल भित्रिएको छ । उक्त मूल्य बरारबरको सेनिटाइजर नेपाल भित्रिदा सरकारले १२ करोढ ३८ लाख हजार रुपैयाँ राजश्व उठाएको छ ।

आव ७८/७९मा

आव ७८/७९ मा सेनिटाइजर आयात ह्वातै घटेको छ । उक्त आवमा १४ करोड ३३ लाख १३ हजार रुपैयाँको सेनिटाजर आयात भएको छ । सो मूल्य बराबरको सेनिटाइजर आयात हुँदा सरकारले २ करोड ५५ लाख ३५ हजार रुपैयाँ राजश्व उठाएको छ ।