NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

देउवाले यसरी प्रधानमन्त्री बनाउन सक्छन् गगनलाई !

काठमाडौं । एमालेले अध्यक्ष केपी ओलीलाई फेरि भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । २०७४ सालको चुनावमा पनि एमालेले ओलीलाई नै प्रधानमन्त्री घोषणा गरेर चुनावमा गएको थियो । चुनावपछि उनी नेकपामा लफडा नआउँदा प्रधानमन्त्रीमा कायम रहे । यसपटक फेरि एमालेले ओलीलाई प्रधानमन्त्रीमा अघि सार्दा कांग्रेस भने चुपचाप छ । भावी सरकारकाे नेतृत्व गर्न सक्ने सम्भावित दल कांग्रेस भए पनि पार्टीले मुख खाेलेकाे छैन ।

घोषणा नगरे पनि अहिलेकै प्रधामन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा फेरि पनि प्रधानमन्त्रीका लागि दाबेदार हुन् । देउवाबाहेक प्रधानमन्त्रीको लागि दाबेदार हुँ बोल्नेमा महामन्त्री गगन थापा मात्रै छन् । तर कांग्रेसले औपचारिक घोषणा गरेको छैन । गठबन्धनबाट चुनाव लड्ने भएकोले पनि पहिले नै प्रधानमन्त्री घोषणा गरेर जान अप्ठ्यारो पनि हुन सक्छ ।

पछिल्लो समय सबै पार्टीका पुराना नेताहरूमाथि विश्राम लिनुपर्ने दबाब बढेको छ । बदलामा युवा नेताहरूलाई राज्यसत्ता सुम्पिनुपर्ने विषयमा बहसको आरम्भ भएको छ । तर पार्टी राजनीतिको केन्द्रमा युवा नेताहरू छैनन् । समकालीन दलहरूमा नेतृत्वमा हस्तक्षेप गर्न सक्ने पार्टीको बलियो पोजिसनमा युवा नेता पुगेका छैनन् । बरु पुराना नेताहरूको परीक्षण भइसक्यो अब नयाँलाई अवसर दिनुपर्छ भन्ने भावना र आग्रह बढी देखिन्छ ।

यसमध्ये थोरै बहस हुने दलमा नेपाली कांग्रेस छ । कांग्रेसमा पनि १४ औं महाधिवेशनबाट महामन्त्रीमा उदाएका गगन थापाको नाम प्रधानमन्त्रीको रुपमा आएको छ । उनीसँगै महामन्त्री जितेका विश्वप्रकाश शर्माले गगन प्रधानमन्त्री हुने अवस्थामा आफू प्रस्ताव बन्ने सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

थापाले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी रहने बताएका छन् । पुरानो पुस्ताको नेताको सम्माजनक बहिर्गमन आवश्यक रहेको भन्दै थापाले केही दिन अघि काठमाडौंमा भएको एक कार्यक्रममा भने– ‘मैंले प्रतिनिधिसभा सदस्य र मन्त्री भएर अनुभव लिइसकेँ । यो अनुभवले पनि मलाई नेतृत्व लिन सघाउँछ भन्ने लागेको छ । अब पार्टीमा पहिलो तहका नेताले सम्मानजनक बहिर्गमन खोज्नुपर्छ भनेर पार्टीभित्र बहस पनि सुरु भएको छ । पछिल्लो पुस्ताले नेतृत्व लिनेबारे पार्टीभित्र एक तहसम्म छलफल पनि गरिसकेको छु ।’

पुरानैको प्रभाव, युवाको छैन दबाब

देउवालाई ज्योतिषीले सातपटक प्रधानमन्त्री बन्ने भनेर हौसाएका छन्, सिनियर नेता भएर पनि एकपटक पनि ठूलो नपाएको भोक रामचन्द्र पौडेललाई छ । अवसर पाउँदा प्रधानमन्त्री बन्ने आकांक्षा गणेशमान पुत्र प्रकाशमान सिंहले पनि राखेका छन् । कोइराला विरासत बोकेका डा. शेखर कोइराला, डा. शशांक कोइरालादेखि देउवाको उत्तराधिकारी दाबी गर्ने उपसभापति पूर्णबहादुर खड्कासम्मले प्रधानमन्त्रीमा आकांक्षा देखाएका छन् ।

देउवालाई ज्योतिषीले सातौंपटक प्रधानन्त्री बन्ने भविष्यवाणी गरेर हौसाएका छन् । उनले पाँचपटकको क्रम पूरा गरेका छन् । आगामी प्रतिनिधिसभार्का निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाएर आफ्ना ज्योतिषीको भविष्यवाणीको नजिक पुग्ने दाउ देउवाको छ । यसैका लागि गठबन्धनभन्दा अगाडि नै देउवाले सत्तारुढ दलसँग चुनावी तालमेल गरेर जाने सर्वसम्मत निर्णय पार्टीबाट गराइसकेका छन् । चुनावको मिति घोषणा भएपछि बल्ल सत्तारुढ गठबन्धनबीच फेरि चुनावी तालमेल गर्ने पाँच दलका अध्यक्षले सहमति गरे । यस्तोमा सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने गरी सहमति हुने धेरैको अनुमान छ । यस्तोमा अर्को व्यक्तिभन्दा तत्काल कांग्रेसबाट देउवा नै प्रधानमन्त्रीका लागि सबैभन्दा बलिया दाबेदार हुन् ।

देउवाबाहेक ठूलो पद अहिलेसम्म प्राप्त गर्न नसकेको भन्दै परिचित रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका लागि दाबेदार छन् । यीबाहेक अर्का नेता प्रकाशमान सिंहले पनि प्रधानमन्त्री भएर देश चलाउने इच्छा शनिबार एक कार्यक्रममा गर्न भ्याए । देउवासँग सभापतिमा पराजित भएका डा. शेखर कोइरालाले पनि प्रधानमन्त्री बन्ने अभिलाषा राखेका छन् ।

यो कांग्रेसको पहिलो पुस्ता हो । योबाहेक पार्टीमा सिनियर नेताको पालो आउँछ । जसमा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनप साउद, चन्द्र भण्डारीसहितको पुस्ता छ । त्यसपछि बल्ल पालो आउँछ गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल र गुरुराज घिमिरेको । पहिलो पुस्ताका नेताको सातौपटकसम्म प्रधानमन्त्री बन्न पाउनुपर्ने, कसैलाई एकपटक ठूलो पद लिर्नेपर्ने, कसैलाई राजनीतिमा धेरैवर्ष भोटो फटाएकोेले पनि क्रमैसँग उच्च पद पाउनुपर्ने हुटहुटी छ ।

शीर्षलाई छैन दबाब

वयोवृद्ध नेताले नै प्रधानमन्त्री दाबी गरिरहँदा आधा दर्जन कटाउन खोजिरहँदा युवा नेताले पार्टीको नेतृत्वदेखि देशको नेतृत्व लिन सक्ने गरी पार्टीको दबाब बढाउन सकेका छैनन् । सांसदमा जितेपछि र पार्टीले संसदीय दलको नेता छानेपछि मात्रै प्रधानमन्त्री बन्न पाउने गरी बाटो खोल्छ । तर संसदीय दलको नेतामा जित्न सक्ने गरी सांसदको लगाम युवा नेताको हातमा छैन ।

अहिलेसम्मको अभ्यास अनुसार सिनियर नेताले नै संसदीय दलको नेता बन्ने अवसर पाएका छन् । जुनियर र युवा नेतालाई अहिले पनि पार्टीको कुनै गुटको फेरो समाएर मात्रै पदाधिकारी बन्नुपर्ने नियति छ । यसैले पनि शीर्षस्थ तहमा सहमति भएर चुनाव नजितिकन चाहेर पनि युवा नेताहरूलाई प्रधानमन्त्री बन्ने बाटो कांग्रेसमा खुल्न सक्ने देखिंदैन ।

बरु प्रधानमन्त्रीको दाबेदार हुँ भनेर बढी प्रचारप्रसारमा रमाए पार्टीले नै अन्तर्घात गरेर चुनाव हराइदिने जोखिम बढी देखिन्छ । यसले पनि दाबेदारलाई युवा नेताले बलियो गरी प्रस्तुत गर्न सकिरहेका छैनन् । ठूलो पदको लागि मरिहत्ते गर्ने वामदेव गौतमलाई पार्टीभित्रैबाट २०७४ सालको निर्वाचन हराइएको छ । यसैले प्रधानमन्त्रीसम्म बन्ने आकांक्षा राख्ने युवा नेतालाई पहिले चुनाव जितेरै आउनुपर्ने चुनौती देखिएको छ ।

फेरि प्रधानमन्त्री नै बन्न सक्ने गरी पार्टीमा हस्तक्षेपकारी भूमिकामा युवा नेताको उपस्थिति छैन । यसैले युवा नेतालाई पार्टीले प्रधानमन्त्री बनाउनेभन्दा पार्टीले बनाइदेओस् भन्ने उनीहरूको आग्रह बढी हो । पार्टीको कुनै पोजिसनमा बसेर कार्यसम्पादन गर्न पाउने गरी पार्टीले संरचना नबनाउँदा पनि युवा नेताको समयमा परीक्षण हुन पाएको छैन । यसले पनि बेलैदेखि प्रधानमन्त्री या उच्च पदको लागि दाबेदार पुगेको छैन । स्थिति कस्तो छ भने टिकट पाउँनै पहिले संघर्ष गर्नुपर्ने अवस्था युवा नेतालाई छ ।

किनकी टिकट बाँडदादेखि पार्टी नेतृत्वले आफू अनुकूल गर्छ । समानुपातिक सूची पनि आफ्नै सहजतामा बनाउँछ । यसैले चुनावपछि हुने संसदीय दलको चुनावमा चाहेर पनि अर्को कुनै नेताले जित्न सक्दैन ।

यसरी प्रधानमन्त्री बन्न सक्छन् गगन

कांग्रेसमा मात्रै होइन नेपालको सबै राजनीतिक दलमा सबैभन्दा बढी सम्भावना भएका नेता हुन् गगन थापा । उनी २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक सांसद भए । त्यसयताका २०७० र २०७४ सालमा काठमाडौं ४ बाट प्रत्यक्ष निर्वाचित सांसद भए । उनी स्वास्थ्यमन्त्रीसमेत भइसकेका छन् । २०७२ सालमा भएको १३ औं महाधिवेशनमा तेस्रो भएर महामन्त्रीमा उनी पराजित हुन पुगे । तर २०७८ मा भएको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुन सफल भए ।

देउवाले विनास्वार्थ प्रधानमन्त्री बनाउन सक्ने विकल्प

पार्टीको सभापतिदेखि प्रधानमन्त्री हुनसक्ने नेताको रुपमा थापा सबैभन्दा बलियो नेता हुन् । पार्टीभित्र उनी अत्याधिक लोकप्रिय पनि छन् । विपक्षी दलका नेता र कार्यकर्ताले पनि गगनलाई प्रभावशाली हुन सक्ने नेताको सूचीमा राखेका छन् । तर के यही आउँदो ४ मंसिरमा गठबन्धन दलको तर्फबाट गगन प्रधानमन्त्री बन्लान् ? उनले प्रतिनिधित्व गर्ने डा. शेखर कोइराला समूहको दबाबले प्रधानमन्त्री बनाउन दबाब बढाउला ?

तर कांग्रेसमा टिकट बाँड्न कम्तिमा आफू हाबी हुने गरी प्रत्यक्ष र समानुपातिकको संख्या निर्धारणको अभ्यासमा नेतृत्व हुनेछ । यसैले एउटै व्यक्तिले मात्रै गगनलाई प्रधानमन्त्री बनाउन सक्छन् । ती हुन् अहिलेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा । तर गगनलाई अघि सार्न देउवाले ज्योतिषीले दिएको भविष्यवाणी बिर्सनुपर्नेछ ।

आकांक्षा देखाउने दोस्रो, तेस्रो पुस्ताका नेताको मुख बन्द गर्नुपर्नेछ । र भन्नुपर्नेछ–तिमीहरू होइन अबको हाम्रो प्रधानमन्त्री गगन थापा हो भनिदिनुपर्ने हुन्छ । अन्यथा आफ्नो दाबीले मात्रै स्वभाविकरुपमा ४ मंसिरको चुनावपछि गगनलाई प्रधानमन्त्री बन्न धेरै कठिन छ ।

फेरि छैठौंपटक प्रधानमन्त्री बन्ने लोभ देउवाले त्यागे गगनलाई प्रधानमन्त्री बन्ने पहिलो खुट्किलो हुनेछ । पार्टीको पक्षमा माहोल बनाउने, युवालाई अघि सारेर आफूलाई लोकप्रिय बनाउने काम देउवाले गर्न सक्नेछन् । नयाँ युवालाई कांग्रेसप्रति विश्वास जगाउन निस्वार्थ भएर देउवाले ठूलो मन गरे यो सम्भावना टाढा छैन । तर देउवा तयार नहुँदा उत्तिकै टाढा पनि छ । पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवा निस्वार्थी बन्दा गगन प्रधानमन्त्री हने समय टाढा छैन । किनकी गठबन्धनबाट चुनाव लड्न कांग्रेस पहिलो दल हुने सम्मुखमा छ ।

स्वार्थ राखेर पनि गगनलाई बाटो खोलिदिन सक्ने विकल्प

माथिको विकल्पमा देउवा निस्वार्थ भन्नुपर्नेछ । तर देउवाले आफ्नो स्वार्थ पूरा गरेर पनि देउवाले गगनलाई प्रधानमन्त्री हुने बाटो खोलिदिन सक्नेछन् । आफूपछि पार्टी र सरकारको राजनीतिमा श्रीमती आरजु राणालाई स्थापित गर्ने शर्तमा पनि देउवाले गगनलाई प्रधानमन्त्री बनाउन सक्नेछन् । आफ्नोभन्दा राजनीतिमा सक्रिय हुन सक्ने आरजुको उमेर छ । त्यसैले स्वार्थसहित यो विकल्प खोज्दा पनि देउवा अग्रगामी देखिन सक्नेछन् । साथै पार्टीमा पारिवारिक विरासत थाम्ने शिलान्यास पनि गर्न सक्नेछन् ।

अर्को बलिया र प्रभावशाली व्यक्तित्व निर्माण गरिरहेका गगनलाई आफ्नो टिममा ल्याउन सक्ने अवसरसमेत देउवालाई हुनेछ । किनकी गगनपछि आरजु कांग्रेसको राजनीतिमा हाबी हुँदा छोरा जयवीरलाई राजनीतिमा ल्याउने बाटो खुल्नेछ । जसले देउवाको राजनीतिक विरासत थाम्ने बाटो खोल्न सक्छ । किनकी आरजु प्रधानमन्त्री बन्न सक्ने विषय देउवाकै विश्वासपात्र मीन विश्वकर्माले गरिसकेका छन् । एक सार्वजनिक कार्यक्रममा केही समयअघि विश्वकर्माले आरजुका प्रधानमन्त्री हुने सबै क्षमता र योग्यता भएको बताएका छन् । यसैले आफू शक्तिमै हुँदा देउवाले आरजुलाई प्रधानमन्त्री बनाउँछन् कि भन्ने पनि छन् ।

४ मंसिरमा हुने चुनाव जिते आरजुलाई नै देउवाले भावी प्रधानमन्त्रीमा अघि सार्न सक्नेसम्मका चर्चा नभएका होइनन् । प्रचण्ड र आरजुले केही समय अघि दिल्ली भ्रमण गरेका थिए । कतिले यसलाई आगामी चुनावलगत्तै आरजु र प्रचण्ड आलोपालो प्रधानमन्त्रीको तयारी पनि भनेका छन् । तर देउवाले अहिलेसम्म आफैं प्रधानमन्त्री बन्ने वा आरजुलाई अघि सार्नेभन्नेबारे मुख खोलेका छैनन् । गठबन्धनले तालमेल अनुसार चुनाव जिते संसदीय दलमा आफू अनुकूल बहुमत पुग्ने अवस्थामा देउवाले आरजुलाई प्रधानमन्त्री बनाउन पनि सक्नेछन् । तर यी सबै विकल्पको लागि देउवा नै तयार हुनुपर्छ । अन्यथा अरुको सक्रियता र प्रयासले यी काम सम्भव छैन ।

के–के हुनुपर्छ प्रधानमन्त्री हुन ?

सबैभन्दा पहिलो र बलियो शर्त नै देउवा हुन् । देउवा दाहिना हुँदा अन्य केही प्रक्रिया पनि गगनले पूरा गर्नुपर्ने हुन्छ । अवसर छोप्नेको मन पनि जित्नुपर्ने हुन्छ । उनको टिमले पनि समर्थन दिनुपर्नेछ । त्योभन्दा अघि प्रतिनिधिसभाको चुनाव जित्नुपर्ने हुन्छ । कांग्रेस ठूलो पनि बन्न आवश्यक छ । गठबन्धन दलमा पनि मोटामोटी सहमति जुट्नुपर्नेछ ।