NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

५० वर्षपछि चन्द्रमामा फेरि मान्छे पठाउँदै नासा

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आज चन्द्रमाम एक विशाल रकेट पठाउँदै छ । जसको नाम हो स्पेस लन्च सिस्टम(एसएलएस) ।

यसलाई नासाको अहिलेसम्मकै शक्तिशाली रकेट मानिएको छ । यो नासाको आर्टेमिस मिसनको एक हिस्सा हो जसअन्तर्गत ५० वर्षपछि फेरि चन्द्रमामा मान्छे पु-याउने तयारी भइरहेको छ ।

यो रकेट अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार विहान साढे आठ बजे अन्तरिक्षका लागि पठाइनेछ ।
लगभग सय मिटर लामो एसएलएसको काम पृथ्वीबाट टाढा ओरियन नामको टेस्ट क्याप्सुल प्रक्षेपण गर्ने हो । यो चन्द्रमाको वरिपरि घुम्नेछ र त्यसको ६ हप्तापछि प्रसान्त महासागरमा फर्किनेछ ।

यो रकेटको पहिलो मिसन हो जसमा कोही पनि अन्तरिक्षयात्री सवार हुने छैनन् । यदि यो मिसन सफल भएमा भविष्यमा अन्तरिक्ष यात्रीहरू पनि यही रकेटमार्फत मिसनमा जान सक्ने जनाइएको छ ।

सबै कुरा ठिकठाक चलेमा सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्नेछन् । नासा अन्तरिक्ष यात्री र्यान्डी ब्रेसनिक भन्छन्, ‘हामी आर्टेमिस–१ मा जे पनि गरिरहेका छौं यसको उद्देश्य भनेको हामीले के गर्न सक्छौं भनेर प्रमाणित गर्नु हो । र, यसले आर्टेमिस–२ को मानव मिसनमा निम्त्याउने जुनसुकै खतराहरू छन्, त्यसलाई हटाउन सकिन्छ ।’

आर्टेमिस नासाको एक महत्वपूर्ण मिसन हो । यो वर्षको डिसेम्बरमा नासाले चन्द्रमामा अपोलो १७ पठाएको ५० वर्ष पूरा हुँदै छ । मानव चन्द्रमामा पुगेको यही नै अन्तिम थियो ।

नासाले आर्टेमिस मिसनबाट फेरि नयाँ तरिका अपनाएर चन्द्रमामा मान्छे पठाउने वाचा गरेको थियो । सन्् २०३० को दशकमा या त्यसपछि नासाले मंगल ग्रहमा पुग्ने उद्देश्य राखेको छ । र, चन्द्रमामा फेरि मान्छे पठाउने प्रयास पनि यसैअन्तर्गतको तयारी भएको बताइन्छ ।

अपोलो मिसनको रकेट सेटर्न–५ ले अन्तरिक्ष यात्रीलाई टाढा लैजानेमात्रै होइन, त्यसमा सामानहरू पनि लैजान सकिन्छ । यसले अन्तरिक्ष यात्रीलाई अधिक समय अन्तरिक्षमै बस्न मद्दत गर्छ ।

मिसनको तयारीबारे कुराकानी गर्दै नासाका प्रशासक बिल नेल्सनले भने, ‘चन्द्रमामा आँखा डुलाउने हामी सबैले चन्द्रमामा मानिसले फेरि पाइला टेक्ने दिनको सपना देख्छौं । साथीहरू, हामी यहाँ आइपुगेका छौं । हामी फेरि त्यहाँ जाँदैछौं । र त्यो यात्रा हाम्रो आर्टिमिस–१ को यात्राबाट सुरू हुँदै छ ।’

उनका अनुसार पहिलो मानव मिसन लन्च आर्टेमिस–२ अबको दुई वर्षपछि २०२४ मा हुन्छ । चन्द्रमाको सतहमा ओर्लिने पहिलो लन्च आर्टेमिस–३ २०२५ मा हुन्छ । रकेट लन्च गरेको हेर्नका लागि दुई लाख मानिसहरू केनेडीको समुन्दी तट र त्यस आसपास आउन सक्ने अनुमान गरिएको छ ।