NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ, के पाइँदैन ?

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ ।

आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ ।

यसपटक पनि आयोगले विगतका व्यवस्थालाई निरन्तरता दिँदै केही नयाँ प्रावधान समेटेर आचारसंहिता बनाएको छ ।

आचारसंहिताअनुसार, मतदानको १७ दिनअघिबाट मात्र प्रचारप्रसार गर्न पाइनेछ । प्रचारका क्रममा राष्ट्रिय झण्डासमेत बोक्न पाइने भएको छ । तर त्यसलाई सीमित गरिएको छ ।

आचारसंहिता उल्लंघन गरेमा जरिवानादेखि उम्मेदवारी रद्दसम्म गर्न सकिने व्यवस्था राखिएको छ ।

निर्वाचन आचारसंहिता जारीपछि के गर्न पाइन्छ, के पाइँदैन ?

– जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला सभ्य र अनुशासित गर्नुपर्ने, कसैको घरको आसपासमा गई निज वा निजको परिवारको विरोध वा प्रदर्शन गर्न नहुने
– प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने
– जुलुस, आमसभा, कोणसभा वा भेला गर्नुअघि प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानबारे कम्तीमा २४ घन्टाअघि नै जानकारी गराउनुपर्ने
– जुलुस, आमसभामा वा प्रचार–प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चिह्न/ झन्डाअंकित लोगो वा स्टिकर, टोपी वा क्याप, टिसर्ट, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन तथा झोला बोक्न नहुने
– कुनै दल, उम्मेदवार वा भ्रातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा अवरोध पु¥याउन नहुने
– एकभन्दा बढी दल, उम्मेदवार वा भ्रातृ संगठनले एकै समयमा एउटै स्थानमा जुलुस, आमसभा, बैठक वा भेला गर्न नहुने
– कसैको निजी घरजग्गामा वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल तथा उम्मेदवारको निर्वाचन चिह्न राख्न नहुने
– विभिन्न क्लब, सामाजिक तथा धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमलगायतका संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च दिने घोषणा गर्न नहुने
– जुलुस, आमसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने । निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने ।
– उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा झन्डा, चुनाव चिह्न, कुनै किसिमको बोर्ड वा फ्लेक्स राख्न तथा र श्रव्यदृश्य सामग्रीहरू बजाउन र प्रदर्शन गर्न नहुने, तर दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, वा घरदैलो कार्यक्रममा तोकिएको आकारका १०–१० वटासम्म झन्डा र चिह्न प्रयोग गर्न बाधा नपर्ने
– मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, बाजा, गाजा तथा झाँकीसहित जान नहुने
– भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचार–प्रसार गराउन नहुने
– दल वा उम्मेदवारले जुलुस, आमसभा, घरदैलो गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डाबाहेक प्रयोग गर्न नहुने
– उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा गर्न, सञ्चारमाध्यममा प्रचार–प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचार–प्रसारका लागि घरदैलो कार्यक्रम गर्न मिल्नेछ