NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एक वर्ष : यहीं उत्पादन हुने खाद्यान्नमा नेपालको खर्च १ खर्ब

चामल ३० अर्ब, मकै २० अर्ब, धान १६ अर्ब र भटमास १२ अर्ब रुपैयाँको आयात

काठमाडौं । कृषिप्रधान मुलुकमा खाद्यान्न प्रशस्त उत्पादन हुनुपर्ने हो । तर कृषिजन्य वस्तुको आयात हेर्ने हो भने नारा मजाक लाग्छ । भन्नलाई कृषिप्रधान भनिन्छ तर वास्तविकतामा अलग छ । यहाँ मुख्य खाद्यान्नमा गनिने धान, मकै, चामल आयातमै मुलुकबाट खर्बौ रुपैयाँ रकम बाहिरिएको छ ।

नेपालीहरूले हरेक वर्ष धान दिवस मनाउँछन् । कृषि उत्पादनलाई बढाउन भन्दै विभिन्न कार्यक्रमहरु पनि सञ्चालन हुन्छन् । जस्तो कि हरेक वर्ष धान दिवसको अवसर पारेर वास्तविक सार्थकता धानको महत्व बुझाउन खोजेपनि कैयौं ठाउँमा जमिन बाँझो छोडिएका छन् । आफ्नो देशका उर्वर जमिनलाई बाँझो राखेर विदेशी भूमिमा पसिना बगाउन युवाहरु दिनकै हजारौँ संख्यामा विदेश पलायन भइरहेका छन् ।
युवाहरु विदेशिने, गाउँघरमा केटाकेटी र बुढाबुढी घरमै छाडिने र रेमिट्यान्सले नै परिवार चलाउने भएकाले अहिले गाउँघरतिर किसानले खेतीपाती गर्न छाडेका छन् । आफ्नो उर्वर जमिनलाई बाँझो राखेर आयातित खाद्यान्नदेखि हरेक वस्तु किनेर खाने बानी नेपालीलाई परिसकेको छ । परिणामस्वरुप नेपालमा आयातको ग्राफ उकालोतिर लाग्ने क्रम जारी छ ।

मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कूल ग्रार्हस्थ उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा करिब १ खर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ७८/७९ का १२ महिनामा कुल १ खर्ब ५ अर्ब ६ करोड ७९ लाख ४१ हजार रुपैयाँ बराबरको २ अर्ब २४ करोड ६६ लाख ८१ हजार ५२० केजी खाद्यान्न आयात भएको छ । सो मूल्य बराबरको खाद्यान्न आयात हुँदा सरकारले भने १० अर्ब ९८ करोड २७ लाख ५५ हजार रुपैयाँ राजश्व उठाएको छ ।

३० अर्बभन्दा बढीको चामल आयात

आयातित खाद्यान्नमध्ये सबैभन्दा धेरै ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपैयाँ बराबरको ५७ करोड ८७ लाख ६७ हजार ३६७ केजी चामल आयात भएको छ । उक्त चामल आयातबाट नेपालले २ अर्ब ८७ करोड ६० लाख ५५ हजार बराबरको राजश्व संकलन गरेको छ ।
नेपालमा भारत, चीन, थाइल्याण्ड, जापानलगायतका देशबाट चामल आयात हुँदै आएको छ ।

९९ प्रतिशत चामल आयात भारतबाटै

नेपालमा ९९ प्रतिशत चामल छिमेकी मुलुक भारतबाट आयात भएको छ । चामल मात्रै नभएर अधिकांश खाद्यान्न आयात भारतबाटै बढी परिमाणमा हुने गरेको पाइएको छ ।

विभागको तथ्यांकअनुसार भारतबाट ३० अर्ब ३९ करोड ४९ लाख ५० हजार रुपैयाँको चामाल आयात भएको छ । उक्त रुपैयाँको चामाल आयात गर्दा सरकारले २ अर्ब ८७ करोड ५० लख ७८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । भारतबाट नेपालले खैरो चामल, पोलिस गरेको र नगरेको दुवै खालका र टुक्रेको चामल आयात गरेको छ ।

भारतपछि नेपालले अमेरिकाबाट १७ करोड ५८ लाख ७३ हजारको २२ लाख ७७ हजार ८५० केजी चामल आयात भएको छ । चामल आयात हुने अर्को मुलुक चीनबाट ५१ लाख ८५ हजारको ७५ हजार ८३१ केजी चामल आयात भएको छ । उक्त चामल आयातबाट सरकारले २ लाख ८६ हजार राजश्व संकलन गरेको छ । चीनबाट खैरौ चामल, पोलिस र ननपोलिस चामल आयात हुने गरेको छ ।

यी देशबाहेक नेपालमा थाइल्याण्डबाट ६७ लाख ८९ हजार रुपैयाँको ४८ हजार ९७१ केजी, इटालीबाट ५७ हजारको २ सय केजी, भियतनामबाट २८ हजारको ३३ केजी, इन्डोनोसियाबाट ५ हजारको १०० केजी, जापानबाट २४ हजारको ३० केजी, कोरियाबाट ६ हजारको २७ केजी, बेलायतबाट २ हजारको ५० केजी, भुटानबाट २ हजारको १० केजी र ताइवनबाट २ हजारको ३ केजी चामल आयात भएको छ ।

२० अर्बको मकै आयात

कृषिप्रधान मुलुकमा मकै मात्रै २० अर्बभन्दा बढी मूल्यको भित्रिएको छ । विभागको तथ्यांकअनुसार १ वर्षमा २० अर्ब ५९ करोड ६६ लाख ३२ हजार रुपैयाँको ५६ करोड ९ लाख ४३ हजार १४२ केजी मकै आयात भएको छ । जसमा मकैको बिउमात्रै १९ अर्ब ६८ करोड ५२ हजार रुपैयाँको ५४ करोड ५ लाख १० हजार २२७ केजी आयात भएको छ ।

विभागका अनुसार नेपालमा सबैभन्दा बढी मकै आयात भारतबाटै हुने गरेको छ । १२ महिनाको अवधिमा भारतबाट नेपालमा १९ अर्ब २३ करोड ८६ लाख २७ हजार रुपैयाँको ५४ करोड ५५ लाख ७२ हजार १९७ केजी मकै भित्रिएको छ । उक्त मूल्य बराबरको मकै भित्रिंदा सरकारले एक अर्ब ६ करोड १७ लाख ३० हजार रुपैयाँ राजश्व उठेको छ ।

भारतपछि नेपालमा अर्जेटिनाबाट ९० करोड ६१ लाख ७ हजारको मकै भित्रिएको छ । नेपालमा चीनबाट भने २८ लाख ५४ हजार रुपैयाँको ४२ हजार ३२५ केजी मकै आयात भएको छ । उक्त मूल्यबराबरको मकै आयात हुँदा सरकारले ३ लाख ४९ हजार राजश्व उठाएको छ ।
मकै आयात हुने अन्य देशहरूमा टर्कीबाट १५ करोड ५६ लाख ८० हजार, साउथ अफ्रिकाबाट १४ करोड ५८ लाख ७५ हजार, ब्राजिलबाट ६ करोड ४३ लाख ६९ हजार, मलेसियाबाट ३ करोड ७७ लाख ५१ हजार, युनाइटेड स्टेटबाट २ करोड ७७ लाख ४२ हजार र अस्ट्रेलियाबाट १ करोड ४ लाख ९६ हजार रुपैयाँबरबरको मकै आयात भएको छ ।

त्यस्तै क्यानडाबाट ६६ लाख २४ हजार, थाइल्याण्डबाट २ लाख २४ हजार, जापानबाट १ लाख ३३ हजार, कोरियाबाट १ लाख १४ हजार, इटलीबाट २८ हजार र इन्डोनिसियाबाट ७ हजारको मकै नेपालमा भित्रिएको छ ।

१६ अर्बको धान आयात

विभागका अनुसार १२ महिनामा १६ अर्ब ९९ करोड ७ लाख २७ हजारको ५५ करोड १७ लाख ४९ हजार १७ केजी धान आयात भएको छ । उक्त रुपैयाँको धान आयात गरेर सरकारले ८१ करोड ८३ लाख ३३ हजार राजश्व उठाएको छ । नेपालले धानको बिउमात्रै ८७ करोड ५ लाख ९२ हजार रुपैयाँको ५१ लाख १५ हजार ७१ केजी आयात गरेको छ ।

नेपालमा भारत, चीन, इन्डोनेसिया, बंगलादेशलगायतका देशबाट धान आयात हने गरेको पाइएको छ । जसमा सबैभन्दा बढी धान आयात छिमेकी मुलुक भारतबाट भएको छ । १२ महिनामा भारतबाट १६ अर्ब ९६ करोड ९ लाख ७८ हजार रुपैयाँको ५५ करोड १६ लाख ७१ ह्जार ७९२ केजी धान आयात भएको हो ।

अर्को छिमेकी मुलुक चीनबाट २ करोड ९७ लाख ३ हजार रुपैयाँको ७७ हजार २५ केजी धान आयात भएको छ । उक्त रुपैयाँको धान आयात हुँदा सरकारले २ लाख ९८ हजार राजश्व संकलन गरेको छ ।
अन्य देशहरुका फिलिपिन्सबाट २८ हजारको ३३ केजी, बंगलादेशबाट १४ हजारको १६ केजी, इन्डोनिसियाबाट ४ हजारको १५० केजी धान आयात भएको छ ।

१२ अर्बको भटमास आयात

विभागको तथ्यांकअनुसार १२ महिनामा धानपछि धेरै भटमास आयात भएको छ । उक्त अवधिमा १२ अर्ब ३५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको १४ करोड ३७ लाख ९६ हजार ८० केजीको भटमास आयात भएको छ ।

भारत, बंगलादेश, ब्राजिल, क्यानडा, म्यानमारजस्ता मुलुकबाट नेपालमा भटमास भित्रिने गर्छन् । एक वर्षको अवधिमा सबैभन्दा बढी अमेरिकाबाट ९ अर्ब ८ करोड १४ लाख ३ हजार रुपैयाँ बराबरको ६ लाख ९५ हजार ३२५ केजी भटमास आयात भएको छ ।
भटमास आयात भएका अन्य देशहरुमा बंगलादेशबाट १ अर्ब ७६ करोड ८९ लाख ३२ हजार, क्यानडाबाट १ अर्ब ३४ करोड ८८ लाख ८२ हजार, भारतबाट ६ करोड ९२ लाख ९९ हजार, म्यानमारबाट ३ करोड ८६ लाख ६१ हजार, ब्राजिलबाट ३ करोड ४२ लाख ३७ हजार र अन्डोराबाट एक करोड ५६ लाख ७६ हजार रुपैयाँको आयात भएको छ ।

६ अर्बको गहुँ आयात

नेपालको प्रमुखमध्येको अर्को खाद्यान्न गहुँ आयात पनि ६ अर्बभन्दा बढी मूल्यको भएको छ । विभागको तथ्यांकअनुसार १ वर्षको अवधिमा ६ अर्ब ३२ करोड ६२ लाख २३ हजार रुपैयाँ बराबरको १९ करोड १५ लाख ८५ हजार ५७४ केजी गहुँ आयात भएको छ । नेपालमा गहुँको बिउ र गहुँको दाना आयात हुने गरेको छ । १ वर्षको अवधिमा सबैभन्दा बढी भारतबाट ६ अर्ब ३२ करोड ५८ लाख ७१ ह्जार रुपैयाँको १९ करोड १५ लाख ८५ हजार २३९ केजी गहुँ आयात गरिएको छ । उक्त मूल्यको गहुँ आयात गर्दा सरकारले ३२ करोड ७ लाख ९ हजार राजश्व उठाएको छ । त्यस्तै अस्ट्रेलियाबाट ४ हजारको ७ केजी, मेक्सिकोबाट ३ लाख ४८ हजार र टर्कीबाट १ हजारको २ केजी गहुँ नेपाल भित्रिएको छ ।

४ अर्बको दाल आयात

नेपालमा दालसमेत अर्बौ रुपैयाँको आयात हुने गरेको पाइएको छ । विभागका तथ्यांकअनुसार एक वर्षको अवधिमा ४ अर्ब ४० करोड १ लाख ५९ हजारको ४ करोड ३१ लाख ८५ हजार १८१ केजी दाल आयात भएको पाएको हो । सो मूल्यबराबरको दाल आयात हुँदा सरकारले ४१ करोड ४१ लाख ६ हजार रुपैयाँ राजश्व उठाएको छ ।

नेपालमा भारत, टर्की, अस्ट्रेलिया, क्यानडालगायत मुलुकबाट दाल आयात हुने गरेको छ । ती देशहरुमध्ये सबैभन्दा बढी अस्ट्रेलियाबाट २ अर्ब ८९ करोड १२ लाख ६३ हजार रुपैयाँको दाल २ करोड ८० लाख ९८ हजार ६६० केजी गहुँ आयात भएको छ । त्यसपछि क्यानडाबाट ८८ करोड १० लाख ४३ हजार रुपैयाँको दाल आयात भएको छ । त्यस्तै भारतबाट ४० करोड ६१ लाख ४५ हजार रुपैयाँको आयात भएको छ ।
दाल आयात हुने अन्य देशहरुमा म्यानमारबाट ५ करोड ५६ लाख ९५ हजार, टर्कीबाट २ करोड ८१ लाख ५२ हजार, युनाइटेड अरब इमिरेट्सबाट ४ करोड ११ लाख ६३ हजार, अमेरिकाबाट ९ करोड ६ लाख ७० हजार, कजाकस्तानबाट ६० लाख २५ हजार, लेवनानबाट १ हजारको २ केजी दाल नेपाल भित्रिएको छ ।

३ अर्बको चना आयात

विभागका अनुसार एक वर्षमा सुख्खा चना र भुटेको चना गरी ३ अर्ब ७२ करोड ७७ लाख १४ हजार रुपैयाँको ४ करोड ६६ लाख ५६ हजार ९१७ केजी चना आयात भएको छ । उक्त मूल्य बराबरको चना आयात हुँदा सरकारले ३७ करोड ९७ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

तथ्यांकअनुसार चना नेपालमा विशेषगरी भारत, अर्जेन्टिना, अस्ट्रेलिया, क्यानडा, म्यानमरलगायतको देशबाट आएको पाइन्छ । एक वर्षमा सबैभन्दा बढी चना आयात अस्ट्रेलियाबाट ३ अर्ब ७१ करोड ८० लाख ४३ हजार रुपैयाँको भएको छ । त्यस्तै अन्य देशहरूमा भारतबाट ३२ करोड ४४ लाख ४५ हजार, क्यानडाबाट ३ करोड ३३ लाख ३९ हजार, बंगलादेशबाट ६ लाख ८९ हजार रुपैयाँको आयात भएको छ ।

१ अर्बको जौ आयात

नेपालमा जौसमेत आयात हुने गरेको विभागको तथ्यांकले देखाउँछ । १२ महिनामा नेपालमा जौ मात्रै १ अर्ब ३५ करोड १८ लाख ७३ हजार रुपैयाँको एक करोड ९२ लाख २२ हजार ५३५ केजी जौ आयात भएको छ । उक्त मूल्य बराबरको जौ आयात हुँदा सरकारले ३९ करोड ३२ लाख ८९ हजार रुपैयाँ राजश्व उठाएको छ ।

नेपालमा बेल्जियम, चीन, भारत, जर्मनीलगायतका देशबाट जौ आयात हुन्छ । जसमध्ये सबैभन्दा धेरै भारतबाटै एक अर्ब ७ करोड ३८ लाख ८५ हजार रुपैयाँ बराबरको एक करोड ५८ लाख ३७ लाख ६३ हजार केजी जौ आयात भएको विभागको तथ्यांक छ । उक्त मूल्य बराबरको जौ आयातमा सरकारले ३१ करोड २४ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

चीनबाट एक करोड ४२ लाख ७६ हजार रुपैयाँको एक लाख २८ हजार ८९३ केजी जौ आयात भएको छ । उक्त मूल्यबराबरको जौ आयातमा सरकारले ३९ लाख ५२ हजार राजश्व संकलन गरेको छ ।

जौ आयात भएका अन्य देशमा जर्मनीबाट १२ करोड ८१ लख ३२ हजार, नेदरल्याण्डस्बाट ९ करोड ७८ लाख ९६ हजार, डेनमार्कबाट २ करोड १६ लाख ८५ हजार, बेलायतबाट ९६ लाख ६७ हजार र कोरियाबाट ६ हजार रुपैयाँको जौ आयात भएको तथ्यांक छ ।

४ करोडको कोदो आयात

नेपालकै पहाडका पाखा पखेरोमा कम मेहनेत गरी सजिलै फलाउन सक्ने कोदोसमेत नेपालीमा आयात हुने गरेको छ । तथ्यांकअनुसार १२ महिनामा नेपालमा ३ करोड ९९ लाख २३ हजारको कोदो (बिउसहित) आयात भएको छ । उक्त मूल्य बराबरको कोदो आयात हुँदा सरकारले २० लाख ८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा चीन र भारतबाट मात्रै कोदो आयात भएको देखिन्छ । जसमा ३ करोड ९८ लाख ५६ हजार भारतबाट र चीनबाट ६७ हजार रुपैयाँको कोदो आयात भएको छ ।

यीबाहेक नेपालमा ४४ लाख रुपैयाँबराबरको जुनेलो आयात भएको छ । उक्त मूल्यबराबरको जुनेलो भने भारतबाट मात्रै नेपाल भित्रिएको छ । त्यस्तै १८ लाख २७ हजारको फापर नेपालमा आयात भएको छ भने ६१ हजारको चिउरासमेत आयात भएको विभागको तथ्यांक छ ।
गेडागुडी आयातको अवस्था

८ अर्बभन्दा बढीको गेडागुडी आयात

धान, चामल, मकैमात्रै हैन नेपालमा अर्बौ रुपैयाँ बराबरको गेडागुडी आयात भएको पाइएको छ । १२ महिनामा नेपालमा विभिन्न प्रकारका ८ अर्बभन्दा बढी मूल्यको गेडागुडी आयात भएको छ । विभागको तथ्यांकअनुसार उक्त अवधिमा ८ अर्ब ६९ करोड २७ लाख ७१ हजार रुपैयाँको १० करोड ९५ लाख ५२ हजार ५४३ केजी गेडागुडी आयात भएको छ । उक्त मूल्यबराबरको गेडागुडी आयात हुँदा सरकारले १ अर्ब ७ करोड २७ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।

नेपालमा विभिन्न प्रकारका सिमी (राजमा, टाटे सिमी, सेतो सिमी, कोको,ब्यामबरालगायत), हरियो केराउ अर्थात (मटर कोसा), बोडी, रहरलगायतका गेडागुडी आयात भएको पाइएको छ । ती गेडागुडी भारत, अर्जेटिना, युक्रेन, युगाण्डालगातका देशबाट आयात हुँदै आएको छ ।
तथ्यांकअनुसार विभिन्न प्रकारका सिमीमात्रै ३ अर्ब ४८ करोड ६ लाख ९१ हजार रुपैयाँ बराबरको आयात भएको पाइएको छ । जसमा राजमा ३७ करोड २३ लाख ५९ हजार रुपैयाँको आयात भएको छ ।

अन्य गेडागुडीमा ३ अर्ब ७९ करोड ९२ लाख ७२ हजार रुपैयाँ बराबरको हरियो मटरकोसा र सुकेको मटर आयात भएको छ । त्यस्तै एक अर्ब १० करोड ७७ लाख ४९ हजारको रहर आयात भएको छ । यसैगरी ३० करोड ५२ लाख ७३ हजारको बोडी नेपाल भित्रिएको तथ्यांक छ ।
१ अर्ब ३० करोडको बदाम आयात

ड्राइ फुडअन्र्तगत पर्ने ग्राउण्डनट अर्थात बदाम १२ महिनामा १ अर्ब ३० करोड ४२ लाख १४ हजार रुपैयाँको आयात भएको छ । यति मूल्यको एक करोड १९ लाख ७ हजार ८१७ केजी बदाम आयात भएको छ । उक्त मूल्य बराबरको बदाम आयात गर्दा सरकारले ११ करोड ७५ लाख १४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा चीन, भारत, इन्डोनिसियाबाट बदाम आयात हुने गरेको छ ।

१६ लाखको भुटेको हाडे बदाम (आलमोण्ड) आयात

ड्राइ फुडअन्र्तगत पर्ने आलमोण्ड आयातमा नेपालले १६ लाख १३ हजार रुपैयाँ खर्चिएको छ । उक्त मूल्य बराबरको आलमोण्ड आयात गर्दा सरकारले भने ४ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आलमोण्ड भारत, थाइल्याण्ड र युनाइटेड स्टेटबाट आयात हुने गरेको पाइएको छ ।

तथ्यांकअनुसार आलमोण्ड सबैभन्दा बढी युनाइटेड स्टेटबाट ७ लाख २६ हजार रुपैयाँको भएको छ । त्यस्तै थाइल्याण्डबाट ६ लाख ५५ हजार र भारतबाट २ लाख ३३ हजार रुपैयाँको आलमोण्ड आयात भएको छ ।