प्रकाशमानलाई हराउन ओलीसँग रवीन्द्रको याचना, तयार होलान् ओली ?
काठमाडौं । कुनैबेला एमाले अध्यक्ष केपी ओलीका कटु आलोचक रहेका विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आइतबार उनै ओलीलाई सुटुक्क भेटे । तर उनले ओलीको भेटवार्ता गोप्य राखेनन् ।
ओलीबाट बक्सिस पाएको नेपालको चुच्चे नक्साअंकित एक र दुईको विभिन्न सिक्का गरी जम्मा ३१ रुपयाँसहित मिश्रले ओलीसँगको तस्बिर सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे ।
ओली निवास बालकोटमा साँझ ६ अढाइ घण्टा भेटवार्तामा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता लगायत विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन् । भेटमा ओलीको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कैयौँ विषयमा कुराकानी भएको मिश्रले जानकारी दिए ।
ओलीसँग मिश्रको भेटलाई विभिन्न अर्थको रूपमा हेरिएको छ । ओलीसँगको भेटलाई कतिपयले काठमाडौं–१ को क्षेत्र सुरक्षित गर्नका लागि लविङ भएको बताएका छन् । मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रनिधिसभा निर्वाचका लागि सत्ता गठबन्धन दलहरू एकजुट भएर जाने तयारी गरेका छन् ।
एमालेले सत्ता बाहिर रहेका दलहरूसँग आवश्यकताअनुसार चुनावी तालमेल गर्ने रणनीति बनाएको छ । वैकल्पिक राजनीतिक यात्रा असफल भएपछि मिश्रको पार्टी विवेकशील साझा यतिबेला छिन्नभिन्न भएको छ । विचारभन्दा देश ठूलो नारासहित उनी अहिले राजसंस्थाको अपरिहार्यताबारे वकालत गर्दै आएका छन् ।
पाँच वर्षमा मिश्रमा देखिएको विचलनले अन्तत्वगोत्वा तिनै परम्परागत राजनीतिक दललाई नै बलियो बनाएको छ । वैकल्पिक शक्तिको भाष्यमा खोलिएका नयाँ दल दलदलमा फस्दै गएको छ । वैकल्पिक शक्तिको नाममा नयाँ पुस्तालाई झक्झकाएर रसातलमा पुर्याएको उनीमाथि आरोप छ । जनतालाई भ्रममा राखेर मिश्रले चिहानमा पुगेको राजसंस्था बोक्दै शंखनाथ गरेको भन्दै उनीमाथि चौतर्फी आलोचना भएको छ । मिश्र आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि बालकोट ओलीको शरणमा पुगेको उनीमाथि आरोप छ ।
मिश्रमाथि महासचिव पोखरेलको टिप्पणी
ओलीसँग मिश्रको भेटबारे एमाले महासचिव शंकर पोखरेलले कुनै बेला कटु आलोचक रहेको मिश्रले हाम्रा अध्यक्षसँग भेट गर्नु सकारात्मक भएको टिप्पणी गरेका छन् ।
‘एकताका मिश्रजीले हाम्रा अध्यक्षमाथि कटु आलोचना गर्नुभएको थियो । तीनै मिश्रले अध्यक्षज्यूसँग भेट भएको खुशी व्यक्त गरेको लेख उहाँकै फेसबुकबाट मैले पढें’, सोमबार भावी प्रधानमन्त्रीमा ओलीलाई सारिएकोबारे पत्रकारसँगको अन्तक्रियामा उनले भने, ‘हाम्रा अध्यक्षसँग भेट गर्ने जस्तोसुकै आलोचक पनि समालोचक भएर निस्कन्छन् । मिश्रजी पनि भेटपछि प्रभावित भएर निस्कनु भएछ । उनी जस्तै अन्य आलोचकलाई पनि एकपल्ट अध्यक्षज्यूसँग भेट गर्न म आग्रह गर्छु ।’
महासचिव पोखरेलको टिप्पणीपछि ओलीबारे मिश्रले एक वर्षअघि ट्वीट गरिएको टिप्पणी बिर्सनलायक देखिन्छ । तत्कालीन एमालेकी नेता रामकुमारी झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग ओलीलाई जोडेर आपक्तिजनक टिप्पणी गरेकी थिइन् ।
झाँक्रीको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएको बेला उनलाई तत्काल पक्राउ गरी कारवाही गर्न ओली सरकारमाथि दबाब परेको थियो । झाँक्रीविरुद्ध एमाले निकट अनेमसंघले उजुरी दर्ता भयो । उजुरीको आधारमा २०७७ साल माघ २९ मा झाँक्रीलाई उनकै निवासबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । झाँक्रीलाई पक्राउ गरेकोमा मिश्रले कडा आपत्ति जनाएका थिए । उनले ओलीमाथि टिप्पणी गर्दै भने–‘झाँक्रीको अभिव्यक्तिभन्दा ओलीका कर्म बढी आपत्तिजनक छन् । उनलाई कानुन लाग्छ कि लाग्दैन ।’
यस्तो छ मिश्रले ओलीबारे गरिएको टिप्पणी
ओलीमाथि मिश्रको टिप्पणी
‘जब नेतृत्व गर्नेहरूले राजनीतिको स्तरलाई रसातलमा पुर्याउँछन्, न तिनको शब्दमा शिष्टता हुन्छ,न कर्ममा कानून हुन्छ । यो राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ,प्रवृत्ति बदलिँदैन । झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक छन्। उनलाई कानून लाग्छ कि लाग्दैन?’
पत्रकारिताको जागिर छाडेर पाँच वर्षअघि राजनीतिमा हामफालेका मिश्रलाई अध्यक्ष ओलीले राजनीतिक खेल मैदानमा खेलाडीहरू खेलिरहेको अवस्थामा केटाकेटीहरूले सिको गरिरहेको व्यंग्य प्रहार गरेका थिए । २०७४ को निर्वाचनमा काठमाडौं–१ बाट वामपन्थी उम्मेदवार रहेका अनिल शर्माको पक्षमा मंसिर १२ गते काठमाडौंमा आयोजित चुनावी सभामा ओली विवेकशील साझाका उम्मेदवारसमेत रहेका मिश्र र कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहमाथि खनिएका थिए ।
मिश्रमाथि पाँच वर्षअघि ओलीको व्यंग्य
‘केही भाइबहिनी अहिले राजनीतिमा आएका छन् । राजनीतिप्रति यो आकर्षण देख्दा खुसी लाग्या छ । त्यसका लागि धन्यवाद भन्न चाहन्छु ।’ रवीन्द्रप्रति इंगित गर्दै ओलीले थपे, ‘खेलाडीहरु खेलिरहेका हुन्छन्, छेउपट्टी केटाकेटीहरु सिको गर्दै हुन्छन् । कोही सिक्दै हुनुहुन्छ राम्रो हो सिक्दै गर्नु उहाँहरुले सिकेकोमा मलाई धेरै केही भन्नु छैन । तर सिक्नु र खेल्नु बेग्लै हो ।’
तर राजनीतिमा असम्भव केही नभएको भनाइलाई वैकल्पिक शक्ति निर्माण गर्न हिँडेका मिश्रले पनि चरितार्थ पारेका छन् । ओलीसँगको भेटपछि मिश्रमा आएको परिवर्तनले त्यही छनक दिएको एमाले महासचिव पोखरेलकै भनाइले पुष्टि गरिदिएको छ ।
ओलीसँग भेटपछि मिश्रको प्रतिक्रिया यस्तो छ
‘तपाईं धर्म–संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ?’ मैले सोधें । उहाँले भन्नुभयो, ‘म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु ।’
उहाँका कयौँ सहकर्मीले मलाई बताए अनुसार ओलीजी राती १२÷०१ नबजि सुत्नु हुन्न, उहाँको उर्जा र लगन अनौठो छ ।
ओलीजीसँग उहाँकै निवास बालकोटमा हिजो साँझ ६ बजेको लागि तय भएको भेट अढाई घण्टा चल्यो । आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो ।
सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, ‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला ।’
अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो । भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ !
को हुन् मिश्र ?
नेपालमा सुसंस्कृत राजनीतिको जग निर्माण नगरी रूपान्तरण सम्भव नभएको भन्दै बिबिसीका चर्चित पत्रकार रवीन्द्र मिश्र १७ फागुन २०७३ मा प्रमुखबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए । मिडियामा रहँदा विकृति र विसंगतिको विषयमा विभिन्न राजनीतिक दलका नेताहरूमाथि खरो प्रश्न गरी उनी चर्चामा रहेका थिए ।
त्रिभुवन विश्वविद्यालबाट अंग्रेजीमा स्नाकोत्तर गरेका उनले पाकिस्तानको पञ्जाव युनिभर्सिटीबाट पत्रकारिता र लण्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका छन् । मिश्र राजनीतिमा आउँदा उनी सबैको आकर्षणको पात्र थिए । राजनीतिमा उनको आगमनसँगै युवाहरूसमेत राजनीतिमा आकर्षित भए । मिश्र २०७४ सालको संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भए । सिंहले १० हजार ९३६ मत ल्याइ विजयी हुँदा मिश्रले १० हजार ११८ मत पाएका थिए ।
तर पाँच वर्ष नपुग्दै वैकल्पिक शक्ति निर्माण गर्न आएका मिश्रले जेठ ११ गते विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा दिए । स्थानीय तहको दोस्रो निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै उनले पदबाट राजीनामा दिएको घोषणा गरे । निर्वाचन परिणामप्रति असन्तुष्ट रहेका मिश्रले राप्रपा प्रवेश गर्ने तयारी गरेको समाचार प्रकाशित भएपछि उनले खण्डन गरे । यद्यपि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल जारी राखे ।
राप्रपा प्रवेशबारे मिश्रले अस्वीकार गरेपनि राप्रपाका नेताले पार्टी एकताबारे दुई नेताबीच छलफल जारी रहेको स्वीकारेका छन् । राप्रपाका एक नेताका अनुसार मिश्रले राप्रपाकै अध्यक्ष समानको हैसियतको दाबी गरेपछि वार्ता सफल नभएको बताए ।
सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माणको खोजीमा उनले २०७४ मा साझा पार्टी खोले । उक्त पार्टीले कल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्दै तल्लो निकायदेखि जनसहभागितासहित संगठन निर्माण गर्ने नीति लियो ।
संगठन निर्माणकै क्रममा वि.सं. २०७४ कात्तिकमा साझा पार्टी र समान उद्देश्य बोकेको, विवेकशील नेपाली दलबीच एकीकरण भई विवेकशील साझा बनेको थियो । जसका संयोजकमध्ये एक रवीन्द्र मिश्र हुन् । तर एक वर्ष नपुग्दै पार्टीभित्र मिश्रले ६०–४० को खेल सुरू गरेको आरोप लगाउँदै संयोजक उज्ज्वल थापा समूह ०७५ पुसमा अलग भए । ३७ सदस्य केन्द्रीय समिति रहेको विवेकशील साझाबाट थापा समूहका १६ केन्द्रीय सदस्य अलग भएका थिए । वाग्मती प्रदेशका तीन प्रदेशसभा सदस्यमध्ये दुई जना नयाँ दलमा लागेका थिए ।
विभाजन भएको दुई वर्षपछि दुवै पार्टीले एकताको महसुस गरी २०७७ मंसिरमा पुनः पार्टी एकता गरे । जसको अध्यक्षमा मिश्र र संयोजकमा मिलन पाण्डे रहे । एकीकृत पार्टीमा ६५–६५ सदस्य रहने गरी १३० सदस्यीय केन्द्रीय कमिटी गठन भयो । दुवै पार्टीबाट १३–१३ सदस्य रहने गरी सचिवालय गठन गरेको थियो ।
तर विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर चर्को विवाद भएपछि ०७८ पुसमा पाण्डे समूहलाई मिश्रले कारबाही गरे । मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमतसंग्रह गर्ने प्रस्ताव ल्याएपछि पाण्डेले विरोध गरेका थिए । कारबाहीको विरोधमा पाण्डे समूह न्यायका लागि निर्वाचन आयोग गयो । यद्यपि आयोगले मिश्र समूहलाई नै पार्टीको मान्यता दियो । पार्टी विवादको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।
छिन्नभिन्न भएको विवेकशील साझाको नेता समीक्षा बास्कोटालाई मिश्रले अध्यक्ष बनाएका छन् । आगामी निर्वाचनमा काठमाडौं–१ बाटै निर्वाचनमा भाग लिने तयारी उनले गरका छन् । पार्टीको जनमत खस्किएकाले अघिल्लो जनमत जोगाउन पनि मिश्रका लागि भारी पर्ने देखिन्छ । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा मिश्रको पार्टीले तीन हजार मत पनि कटाउन सकेन । पाँच वर्षअघि साझाका उम्मेदवार रहेकी रञ्जु दर्शनाले २३ हजार बढी मत पाएकी थिइन् ।
अघिल्लो निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहसँग मिश्र झिनो मतले पराजित भएका थिए । सिंहले १० हजार ९३६ मत ल्याइ विजयी हुँदा मिश्रले १० हजार ११८ मत पाएका थिए । सिंहको मतान्तर जम्मा ८१८ रहेको छ ।
योपटक सिंह गठबन्धनसहित उम्मेदवार बन्ने तयारी गरेका छन् । एमालेले भदौ २२ भित्र उम्मेदवार चयन गर्ने तयारी गरेको छ । मिश्रले पनि सोही क्षेत्रबाट दोहोरिन चाहेका छन् । स्थानीय तहको मरिणाम अनुसार गठबन्धन यो क्षेत्रमा बलियो देखिन्छ । मिश्रले ओलीसँगको भेटमा काठमाडौं–१ मा आफूलाई सहयोग गरिदिन आग्रह गरेको स्रोतको दाबी छ । सो क्षेत्रमा एमालेले आफूलाई सहयोग गरे राप्रपाकोसमेत सहयोग पाउने उनको विश्वास छ ।
योपटक कांग्रेसबाट काठमाडौं १ मा प्रकाशमान सिंह निर्विवाद उम्मेदवार हुन् । तर गठबन्धनबाट उम्मेदवार बन्ने भएपछि सहजै सिंहलाई पराजित गर्न गाह्रो छ । यसैले मिश्रले एमालेसँग मिल्दा प्रकाशमानलाई हराउन सकिने प्रस्ताव ओलीसँग राखेको बुझिएको छ । एक्लै लड्दा एमाले उम्मेदवारले पनि जित्न सक्ने अवस्था कमजोर रहेकोले ओलीले मिश्रलाई समर्थन गरेर जान सक्ने सम्भावना अझै टरिसकेको छैन ।
मिश्रले एमालेबाट टिकट पाए कति सुरक्षित ?
काठमाडौं– १ एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले बहालवाल प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेको क्षेत्र हो । सो क्षेत्र मिश्रले पाउने सम्भावना देखिँदैन । अघिल्लो निर्वाचनमा पनि एमालेले अन्तिम समयमा आएर माओवादीलाई छोडेको थियो । अन्तिम समयमा एमालेले यो क्षेत्र मिश्रलाई छोडेपनि जित्ने सम्भावना निकै कमजोर देखिन्छ ।
स्थानीय तहमा पाएको मत अनुसार यो क्षेत्रमा कांग्रेसले ९८९५, एमालेले ९५४१, राप्रपाले १३७६ र माओवादी ११५९ मत पाएका छन् । गठबन्धनको जम्मा मत ११ हजार ५४ रहेको छ । एमालेसँगको मतान्तर १५१३ रहेको छ । राप्रपाले एमालेलाई साथ दिएको खण्डमा जम्मा मत १० हजार ९१७ रहेको छ । मिश्रले जित्नका लागि अघिल्लो निर्वाचनमा पाएको मत कायमै राखि एमाले–राप्रपाको विश्वास जित्नुपर्ने देखिन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया