NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

निलम्बित प्रधानन्यायाधीश राणासँग दोस्रो दिन पनि बयान

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग महाअभियोग सिफारिस समितिले दोस्रो दिन पनि बयान लिन सुरु गरेको छ ।

पहिलो दिनको बयानमा उठेका सवालमाथि भन्दा राणाले प्रतिशोधपूर्ण प्रश्नको उठान गरेका थिए । महाअभियोग निष्क्रिय भइसकेको, सेटिङमा प्रधानन्यायाधीश बनाउन खोजेको, माधव नेपाल पक्षका सांसदका मुद्दा अगाडि बढ्ने भए पछि आफूलाई महाअभियोग लगाइएका जस्ता विषय राणाले बुधबार निकालेका थिए ।

उनले सहकर्मी न्यायाधीश, बारका पदाधिकारीमा मात्रै होइन दलका नेताविरुद्ध पनि उत्रिएका थिए । उनले बुधबार ४ घण्टा बयान दिएका थिए । तर उनीमाथिको बयान नसकिएपछि बिहीबार ११ बजेपछि पुनः बयान सुरु भएको हो ।

राणाले आफूले दिएको परमादेशपछि बनेको सरकारमा सहभागी हुने दलले लगाएको महाअभियोगमाथि नै प्रश्न गरेका थिए ।

‘मेरै इजलास नेतृत्वले दिएको परमादेशको आधारमा यो सरकार बन्यो तर आदेश गलत थियो भने यो सरकार ठीक छ त ? आदेश ठीक हो भने महाअभियोग किन लगाउनुपरेको हो ?’ राणाले भनेका थिए । आदेश गलत भएको भनिरहेको एमालेले महाअभियोग लगाउनुपर्ने तर सत्तारुढ दलबाट आएको भन्दै यो नमिल्दो भएको उनको भनाई थियो । आफूविरुद्ध अरु न्यायाधीशलाई सत्तारुढ दलले विभिन्न आश्वासन दिएर प्रयोग गरेको आरोप राणााले लगाएका थिए ।

राणविरुद्ध फागुन १ मा ९८ सांसदले महाअभियोग दर्ता गराएका थिए ।