NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

राष्ट्रिय सभाबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं । राष्ट्रिय सभाबाट नागरिकता विधेयक बहुमतले पारित भएको छ । राष्ट्रिय सभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित भएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको विधेयक बहुमतबाट पारित भएको हो । यस अघि विधेयक कतिपय विषयमा राष्ट्रपतिले पुनर्विचार गर्न माग गर्दै प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर प्रतिनिधिसभाले राष्ट्रपतिको कुनै पनि चासो पूरा नगरी बहुमतले पारित गरेको थियो । राष्ट्रिय सभाले पनि जस्ताेकाे तस्तै विधेयक पारित गर्याे ।

राष्ट्रिय सभामा उठेका प्रश्नमा गृहमन्त्री खाँणले अनागरिकलाई नागरिक बनाउने विधेयकको विरोध गर्नु उचित नभएको बताएका थिए ।
यो विधेयक २ भदौमा प्रतिनिधिसभाको बहुमतबाट पारित भएर राष्ट्रिय सभामा पुगेको थियो ।

राष्ट्रिय सभाले राष्ट्रपतिको चासोमा छलफल हुने आशयले विधायन समितिमा पठाएको थियो । तर पर्याप्त छलफल हुन पाएन । अब फेरि विधेयक प्रमाणिकरणको लागि राष्ट्रपतिकोमा पुग्नेछ ।

आफ्नो चासोमा बेवास्ता भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारी, कानुनविद्, दलका नेतासहितका सरोकारवालासँग एकपछि अर्को छलफल गरेकी थिइन् । उनले राजीनामा दिनेसम्मको चर्चा भएको थियो । तर अहिले राजीनामाको विषय सेलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तारुढ दलका नेताले विधेयक यस अघि केपी ओली नेतृत्वको सरकारले ल्याउभन्दा फरक नभएको भन्दै राष्ट्रपतिलाई आश्वस्त बनाउन खोजेका थिए ।