NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

देव गुरुङ लमजुङबाट उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ पुनः प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिस भएका छन् ।

जिल्ला समन्वय समिति लमजुङको आज बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो ।

उक्त बैठकले महासचिव गुरुङसँगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस गरेको छ । माओवादी केन्द्रका महासचिव गुरुङ २०७४ सालको निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सो निर्वाचनमा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार गुरुङले ३९ हजार चार सय ६८ मत प्राप्त गरेका थिए ।

मनाङको नासों गाउँपालिका–४, ओडारगाउँ घरभई पछिल्लो समय लमजुङ केन्द्रित राजनीति गर्दै आएका गुरुङ दोस्रो पटक प्रतिनिधिसभा उम्मेदावर बन्न लागेका हुन् ।

समानुपातिकमा पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिस भएको छ । प्रदेशसभा (क) को प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिस भएको छ । केन्द्रीय सदस्य एवं मन्त्री मधु प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतर्फ दुवैबाट सिफारिस भएकी छन् । प्रदेश (ख) मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।

बैठकले प्रदेशसभामा समानुपातिकमा जनजाति महिलामा सतिमाया तामाङ, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसङ्ख्यकमा नन्दबहादुर कुमाल, दलित महिलामा जुना विक, अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस गरेको छ ।