NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

२२ र २५ गते काठमाडाैंको यी क्षेत्रमा नजानुस्, जाममा पर्नुहोला

काठमाडाैं । यस वर्षको इन्द्रजात्राको पहिलो दिन उपाकू पद यात्राको दिन हनुमानढोका क्षेत्र परिसरमा सवारी नचल्ने भएको छ । उपाकू यात्राको दिन सो क्षेत्रवरीपरी चल्ने सवारी साधन निषेध गरिएको काठमाडाैं महानगरपालिकाले जनाएको छ ।

त्यस्तै २५ गते इन्द्रजात्रा रथ यात्राको दोस्रो दिन थहने या: हुने भएको छ । त्यस दिन त्यस क्षेत्रमा जान वरपर चारैतर्फका मार्गहरूबाट प्रवेश हुने सबै प्रकारका सवारी साधन निषेध गरिएको छ ।

इन्द्रजात्राका लागि काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालाको जङ्गलबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा रुख काटी विधिअनुसार राजधानी ल्याउने गरिन्छ । राजधानी ल्याएर भाद्र शुक्ल अष्टमीका दिन लिंगोलाई हनुमानढोका भित्र्याउने परम्परा छ ।

भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने परम्परा छ । यस दिनदेखि आठ दिनसम्म राजधानीमा विभिन्न कार्यक्रम गरी इन्द्रजात्रा पर्व मनाइन्छ । भाद्र शुक्ल चतुर्दशीका दिन कुमारी यात्रा सुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइने परम्परा छ ।

पहिलो दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भाद्र शुक्ल पूर्णिमाका दन कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसपछिका दिनमा क्रमशः विभिन्न टोलमा यात्रा गराई नानीचा यात्रापछि इन्द्रजात्राको रथ घुमाउने विधि पूरा हुने प्राचीन परम्परा छ ।

आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिंगो ढालिन्छ । इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत देवी देवताको पूजा आराधना एवं यात्रा गराई यो जात्रा आठ दिनसम्म भव्यरूपमा मनाउने परम्परा छ । यस जात्राको मुख्य दिन हनुमानढोका दरबारमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहने गरेको छ ।

यस वर्ष भदौ २२ गते इन्द्रध्वजोत्थान, २४ गते इन्द्रजात्राको मुख्य दिन र २९ गते इन्द्रध्वजपातन गरिने संस्थानले जनाएको छ । इन्द्रध्वजोत्थान वसन्तपुर दरबार क्षेत्रको कालभैरवअघि गरिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष