NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

दक्षिण पश्चिम यमनमा अल–कायदा लडाकु र सेनाबीच भिडन्त, १६ जनाको मृत्यु

काठमाडौं (एजेन्सी) । दक्षिणपश्चिम यमनको अब्यान प्रान्तमा मङ्गलबार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र छ जना आतङ्कारीको मृत्यु भएको सैन्य स्रोतले सिन्ह्वालाई बताएको छ ।

अहवारको तटीय जिल्लामा थुप्रै सशस्त्र अल–कायदा बन्दुकधारीहरूले भर्खरै भर्ना गरिएका सुरक्षा बेल्ट बलहरूले नियन्त्रणमा राखेको सुरक्षा चौकीमा आक्रमण गरेपछि ठूलो झडप भएको स्थानीय सैन्य स्रोतले बताएको छ । उक्त घटनामा अन्य थुप्रै सैनिकहरू पनि घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

आक्रमणको करिब एक घण्टापछि स्थानीय सुरक्षा फौजले उक्त क्षेत्रमा आतङ्कारीहरूलाई नष्ट गर्न क्लियरेन्स अपरेशन सुरु गरेको बताइएको छ । नवगठित राष्ट्रपति नेतृत्व काउन्सिलले तेलको प्रचुरता रहेको प्रान्त शाब्वा र अन्य छिमेकी क्षेत्रहरूमा सेना तैनाथ गर्न थालेपछि यमनमा दक्षिणी सुरक्षा बलहरूमा आतङ्कवादी हमलाहरूको सङ्ख्या बढ्न थाल्यो ।

पीएलसीले आतङ्कवाद, हुथी विद्रोही र मुस्लिम ब्रदरहुड–सम्बद्ध इस्लाह पार्टी द्वारा हालैको विद्रोहको कारणले गर्दा कठिन राजनीतिक र सुरक्षा चुनौतीहरूको सामना गरिरहेको छ ।

गत महिना यमनमा भर्खरै भर्ना गरिएका दक्षिणी सेनाहरूले अशान्त प्रान्त अब्यानमा “एरोज अफ द ईस्ट“ नामक एउटा ठूलो आतङ्क विरोधी अभियान सुरु गरेका छन् ।