NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

वागमतीमा गठबन्धन गर्नेबारे जिल्ला सभापतिहरूले के सुझाव दिए देउवालाई ?

काठमाडौं । कांग्रेस जिल्ला सभापतिहरूले गठबन्धनको भावना अनुसार जित्ने गरी उम्मेदवार तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

वागमती प्रदेशका १३ जिल्लाका सभापतिले प्रधानमन्त्री एवं कांग्रेस सभापति  शेरबहादुर देउवालाई भेट गर्दै गठबन्धन गर्दा पनि कांग्रेस जित्ने गरी अघि बढ्न सुझाव दिएका हुन् ।

भेटमा सहभागी कांग्रेस काभ्रे सभापति तीर्थ लामाले प्रतिनिधिसभा र प्रदेशसभाका टिकट दिंदा गठबन्धनका दलबीच मिलाएर दिन आग्रह गरिएको जानकारी दिए ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र एउटै दलले लिंदा व्यवहारिक हुँदैन । यस्तो हुँदा अर्को दलको सहयोग नपाइन सक्छ । अर्को दललाई सहयोग नहुन सक्छ । स्थानीय तहको निर्वाचनको अनुभवले पनि गठबन्धन गरिसकेपछि प्रतिनिधिसभा एउटा दलले लिंदा प्रदेशसभामा अर्को दलले टिकट लिनुपर्छ भन्ने देखायो’ लामाले भने, ‘यस्तो हुँदा एक अर्कालाई सहयोग गरेर जाने वातावरण बन्छ । यसैले सभापतिलाई हामीले गठबन्ध दललाई मिलाएर टिकट वितरण गर्दा गठबन्धनका पार्टीलाई धेरै ठाउँमा जित हात पार्न सहज हुने सुझाव दिएका छौं ।’

प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसको धेरै ठाउँमा धेरै भोट भएको भन्दै उनीहरूले दुईमध्ये एक ठाउँमा कम्तिमा कांग्रेसको उम्मेदवार हुनैपर्ने सुझाव दिएका हुन् ।

जिल्ला सभापतिहरूले प्रतिनिधिसभा क्षेत्र नपाएका ठाउँमा अनिवार्य दुवै प्रदेशसभा क्षेत्र कांग्रेसले पाउने गरी सहमति गर्न पनि सुझाएका छन् ।
धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारीले पनि प्रत्येक प्रतिनिधिसभा वा प्रदेशसभा क्षेत्रमा कांग्रेसको चुनाव चिन्हमा भोट हाल्न पाउने गरी समझदारी कायम गर्न आग्रह गरे ।

बढी भोट भएको कांग्रेसले अरु दललाई मात्रै भोट हालेर जिताउने अवस्था नबनाउन देउवासँग आग्रह गरेका थिए ।

वागमतीमा कांग्रेसलाई अप्ठ्यारो

वागमतीका १३ जिल्ला अधिकांशमा कांग्रेसलाई प्रतिनिधिसभा टिकट मिलाउन अप्ठ्यारो पर्ने देखिएको छ । काठमाडौंका १० सिटमा कम्तिमा ३ र बढीमा चार सिटमा अन्य दलको दाबी छ ।

काठमाडौं बाहेक काभ्रेमा १, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, ललितपुरका कम्तिमा एकएक सिट अन्य दललाई छोड्नुपर्ने अवस्था छ ।

यसरी प्रतिनिधिसभा छोड्दा दुवै यी क्षेत्रका दुवै प्रदेशसभा कांग्रेसले लिनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । सत्ता गठबन्धनबीच १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा क्षेत्रको भागबण्डको अन्तिम प्रयास भइरहेका बेला वागमतीका सभापतिहरूले देउवालाई भेटेका हुन् ।

चुनाव ४ मंसिरमा हुँदैछ ।